ससुराले काशीबाट टीका जमरा चिठीमा पठाउँथे

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

रुपा जोशी
माइतको रमाइलो दशैं

हामी सानो छँदा दशैं कहिले आउँछ जस्तो लाग्थ्यो। रमाइलो मात्र हुन्थ्यो। त्यो बेला जे कुराले आनन्द भयो अहिले त्यो छैन बा !

ढोकाटोलमा दशैंकोठा, पूजाकोठाभन्दा अर्कै हुन्थ्यो। साना केटाकेटीहरू जान नपाउने। छोराहरूले मात्र पूजा गर्न पाउँथे। सब कुरा सटासट हुन्थ्यो। हामीहरूको नवमीमा कन्या पूजा गथ्र्यौं। मलाई त मैले थाहै नपाउने बेलामा पनि मेरो धाईले बोकेर कन्या पूजा गराउन हाम्रो नातेदार कहाँ लान्थिन् रे ! मलाई पूजा गर्ने त कति कति। 

छोरी म मात्र जन्म्या थिएँ। अरू सबतिर– डिल्लीबजारमा, रक्तकालीमा छोरैछोरा मात्र पाएका थिए। अनि त धाईले सब गुरुज्यूहरूको घरमा पु¥याउँथी। दिदीको बिहे भइसकेको थियो। ढोकाटोलमा सबले पूजा गर्थे, बडमुवा (शिवकुमारी पाण्डे) ले पनि। 

हुन त दुल्हा बितेदेखि बडमुवा अलग्गै लङमा बस्ने हो। तर, बोकेर ल्याउँथे। हिंड्नै नसक्ने। चार वटा सुसारेहरू राख्या थियो, बडमुवालाई बोक्ने। कहिले थपक्क अघिल्तिर बोक्ने, कहिले पछिल्तिर। कन्या पूजामा त लुगा, गहना, थुप्रो खानेकुराहरू पाइन्थ्यो। त्यो बेला त सामान राम्रो, असल हुन्थ्यो। फेरि हाम्रो खलक त सब गोरखाबाट आएका, अनि गोरखालीको चलन गजबको हुन्थ्यो। 

दशैंमा ढोकामा उभिन थप आर्मीहरु आउँथे। टीकाको दिन सब बनिबनाउ हुन्थ्यो। अनि धमाधम सब जर्नेलहरू (राणाजीहरू) त्यहीं आउँथे, गुरुमा (बडमुवा) को दर्शन गर्न र टीका लाउन। बडमुवाले टीका जमरा लगाइदिबक्सिन्थ्यो। अनि उनीहरूले दक्षिणा दिन्थे। राम्रै रुपियाँ पैसा दिन्थे। टीका लगाउन आउने सबलाई खुवाउनुपर्थ्यो। सब पकाएर राख्या हुन्थ्यो। खीर, सेल, बारा, अचार तयार हुन्थ्यो।

अष्टमीको दिन पूजाको लागि बारा बनाउथे, ठूलोठूलो अनि सानोसानो पनि। बारा पकाउने बेलामा बोल्न हुन्न, नैवेद्यमा थुक जान्छ भनेर। ओठ टप्प। मेरो हजुरआमाले पकाउने बेलामा सबै चुप।
 

प्रकाशित मिति: : 2020-10-24 07:17:00

प्रतिकृया दिनुहोस्