आकासमा चंगा न मन चंगा

आयोमेल

काठमाडौँ
तस्बिर : आयोमेल

अनिता श्रेष्ठ

दसैं भन्ने बित्तिकै चंगा र त्यो मिठो बतासको साह्रै याद आउँछ। 

सरर बगेको हावा, मनलाई छेडेर कता–कता खुल्दुली मच्चाएर जान्छ। अनि, महसुस हुन्छ दसैं। 

‘दसैं आयो खाउँला पिउँला’ भन्दै एक महिना अगावै संगीहरूसँग नयाँ लुगा, चंगा र मामाघरको कुरामा गफिन थाल्थ्यौंं। 
केटीहरूको कुरा न हो, गफैमा मस्त। तर, केटाहरू कति फर्वार्ड। 

धागो, लट्टाइ र चंगाको जोरजाम गरेर महिना दिनअघि नै प्रतिस्पर्धामा होमिइसकेका हुन्थे। 

चंगाको भिडन्त हेर्न नजिकैको चौरमा बेजोडले दौडिँदा पो, लौ दसैं सुरु भयो भन्ने भान हुन थाल्थ्यो। 

‘चंगा चेट’, हेर्दा हेर्दै बादल छुन आकासमा उडेको स्वतन्त्र चिज, जमिन छुन हतारिए झैं यताउता गर्दै झर्थे। त्यही चेट भएको चंगा लिन एक हुल केटाहरूको दौडमा हामी पनि मिसिन्थ्यौं। 

भाग्यले साथ दिए आफ्नो पोल्टोमा पो पर्छ कि भनेर आश लिएर, सकेको बलले यी साना खुट्टा घिस्रन्थे। 

ती पनि क्या दिन थिए। बालापनको याद। ठूला दाइ, दिदी, अंकल, बुबादेखि लिएर साना भाइबहिनी सबै आकासै ढाकिने गरी चंगा उडाउन मस्त। 

अब त ती रहर र जाँगर नभएको हो कि आकास नै शून्य भएर हो, कहीँ पनि चंगाको हुल देख्दिनँ। फाट्टफुट्ट साना भाइहरूले उडाएका रंगिन चंगाबाहेक कमैले उडाएको देख्छु। 

प्रकाशित मिति: : 2020-10-23 19:53:00

प्रतिकृया दिनुहोस्