नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किए ‘रअ’ का प्रमुख

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल स्वदेश फर्किएका छन्।

बुधबार करिब पौने एक बजे नेपाल आएका उनी बिहीबार बिहान सवा १० बजे फर्किएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले बताएकाे छ।

स्राेतका अनुसार उनीहरु आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानमार्फत दिल्ली फर्किएका हुन्। 

कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए थियाे। तर  केही सुरक्षा विश्लेषकहरूले त्यसलाई अस्वीकार गरेका छन्।

यता ‘रअ’का प्रमुख गोयलको आकस्मिक नेपाल भ्रमणबारे सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन्।

उनले क–कसलाई भेटे भन्नेबारे पनि सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ।

कहाँ बसे ‘रअ’ प्रमुख?

कुटनीतिक स्वीकृति लिएर बुधबार करिब पौने एक बजे ‘रअ’का प्रमुख गोयल विशेष विमानबाट आफ्नो नौ सदस्यीय टोलीसहित काठमाडौं ओर्लिएका थिए। आठ घन्टाका लागि मात्रै काठमाडौं आएको र राती ९ बजे दिल्ली फर्कने भनिएपनि उनी बुधबार काठमाडौंमै बसेका थिए।  

उच्च सुरक्षा स्रोतहरूका अनुसार लगत्तै ‘रअ’का प्रमुख गोयलकाे टाेली काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटलमा चेकइन गरेकाे थियाे। केही समय आराम गरेका उनी त्यसपछि लैनचौरस्थित भारतीय दूतावास गएका थिए।

‘रअ’का प्रमुख गोयलका लागि द्वारिका होटलमा कोठा बुक गरिएको स्राेतले जनाएकाे छ। तर होटल हायातका उच्च तहका कर्मचारीहरूले भने हायातमा उनको टोलीका लागि सुनिल गोयलको नाममा दुई वटा स्वीटसहित ८ वटा कोठा बुक भएको र उनीहरू दिउँसो २ बजे त्यहाँ पुगेको दाबी गरेका छन्। 

क–कससँग भेटे?

स्रोतका अनुसार ‘रअ’का प्रमुख गोयलको नेपाल भ्रमणको पहिलो उद्देश्य नेकपाभित्रको शक्ति संघर्षको अवस्थाबारे बुझ्नुसमेत रहेको छ। पार्टीभित्रको विवाद पुनः बल्झिरहेको समय पारेर उनी काठमाडौं आएका हुन्। पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच द्वन्द्व बढेको छ।

कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेकपामा नेताहरुले ‘रअ’का प्रमुख गोयलकाे नेपाल भ्रमण पत्रपत्रिका पढेर थाहा पाएकाे दावी गरेका छन्।

यद्यपी काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग गोप्य भेटवार्ता गरेकाे खुलेकाे छ।

दिउँसो करिब साढे ४ बजे गोयलले सोल्टी होटल पछाडिको एउटा घरमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र अर्का पूर्व प्रधानमन्त्री नेपालसँग गोप्य भेटवार्ता गरेको स्रोतहरूले पुष्टि गरेका हुन्।

प्रचण्ड करिब सवा ४ बजे नीजि सुरक्षाकर्मी मात्र लिएर खुमलटारबाट निस्केका थिए। सुरक्षा स्रोतहरूले माधव नेपालसँग पनि ‘रअ’का प्रमुख गोयलले सोल्टी पछाडिको त्यही घरमा भेटेको जनाएका छन्।

सोल्टी पछाडिको घरमा भेटपछि प्रचण्ड र नेपाल फेरि द्वारिका होटल पुगेको र त्यहाँ ‘रअ’का प्रमुख गोयलसँग थप कुराकानी भएको स्रोतहरूको दाबी छ। 

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले हायातमा नेपाली कांग्रेसका नेताहरू, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताएका छन्।

सुरक्षा स्रोतहरूका अनुसार ‘रअ’का प्रमुख गोयलको भेटघाटको सूचीमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र शशांक कोइराला र जसपाका नेता महन्थ ठाकुर लगायत थिए।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग २ घण्टा भेटवार्ता गरेको स्रोतले जनाएको छ। उनले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेकाे समेत खुलेकाे छ। भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन।

यता ‘रअ’का प्रमुख गोयलले नेपाली सेना र नेपाल प्रहरीका प्रमुख तथा अन्य उच्च सुरक्षा अधिकारीहरूसँग रात्रीभोजसहित भेटवार्ता गरेको पनि खुलेकाे छ।

यद्यपी ‘रअ’का प्रमुख गोयलको यो भ्रमणबारे परराष्ट्र मन्त्रालय केही बताएकाे छैन। केवल एयरफोर्समा आउने टोलीलाई अनुमति दिनमात्रै परराष्ट्रसँग अनुमति मागिएको तर, काठमाडौंमा हुने भेटघाटको अनुमति नमागिएको परराष्ट्र स्राेतले जनाएकाे छ।

यस अगाडि गोयलले सन् २०१९ को जुलाई महिनामा ‘रअ’ प्रमुख भएपछि नेपालको भ्रमण गरेका थिए। त्यसबेला उनी औपचारिक भ्रमणमा आएका थिए। राष्ट्रिय अनुसन्धान विभागको निम्तोमा नेपाल आएका उनले त्यसबेला प्रधानमन्त्री ओलीलाई समेत भेटेका थिए।

भारतीय गुप्तचरसँग भेट भएको छैन: प्रचण्डको सचिवालय

अध्यक्ष प्रचण्डको सचिवालयले भारतीय ‘रअ’का प्रमुख गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ।

युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनी आएकाे हुन् कि होइनन् भनेर अध्यक्ष प्रचण्ड भेरिफाई गरिरहेकाे बताए।

‘अध्यक्षले ‘रअ’का प्रमुख गोयललाई भेट्नु भएकाे छैन। पत्रपत्रिका हेरेर थाहा पाउनु भएकाे हाे। उहाँ अहिले याे कुराकाे भेरिफाई गरिरहनुभएको छ’, उनले भने।

यता प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि प्रेस नोट नै जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।’

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि ‘रअ’का प्रमुख गोयलसँग सभापति देउवासँग भेटघाट नगरेकाे जनाए। ‘रअ’का प्रमुख गोयल सुरक्षाको मामिलामा आएको हुन सक्ने भएकाले राजनीतिक भेटघाट नगरी प्रधानमन्त्री ‌ओलीलाई मात्र भेटेको हुन सक्ने शर्माको विश्लेषण छ।

प्रकाशित मिति: : 2020-10-22 11:11:00

प्रतिकृया दिनुहोस्