जनताको उपचारमा पैसा छैन, तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

कृष्ण रिजाल

महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउनसमेत नसक्ने घोषणा गरेको सरकारले साधारण खर्चमा भने ढुुकुटीमा बाढी लगाएको छ । आर्थिक रूपमा मितव्ययी हुने घोषणा गरेको सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको खर्चमध्ये ९० प्रतिशत रकम साधारण खर्च हो । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले सोमबार साँझसम्म कुल दुई खर्ब १३ अर्ब ९४ करोडको चेक काटिकसेको छ । सोमध्ये एक खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ साधारण खर्च हो । विकासतर्फ यो तीन महिनामा जम्मा १९ अर्ब ३६ करोड मात्र खर्च भएको छ । जब कि तीन अर्ब ४१ करोड रुपैयाँ वित्तीय व्यवस्थाको रूपमा ऋणको साँवा र ब्याज तिर्न खर्च गरिएको छ । 

सरकारले बजेट प्रस्तुत गर्दा भनेको थियो, ‘देश यसपालि महामारीको चपेटामा परेकोले मितव्ययी नीति अख्तियार गरिनेछ ।’ जनताको उपचारका लागि बजेट छैन भनेर सरकारी अधिकारीहरूले पटकपटक दोहो¥याए पनि सरकार सुविधा र भत्ता वितरणमा किञ्चित पनि मितव्ययी बनेको छैन । 

उता पुँजीगत खर्चतर्फ सरकारले पर्याप्त खर्च गर्न नसकेकाले गत वर्षबाटै एक खर्ब ४१ अर्ब बचतको रूपमा सरकारी ढुकुटीमा आएको छ । वैदेशिक ऋण तथा अनुदान, तल्लो तहमा खर्च हुन नसकेर फिर्ता आएको रकम र अन्य आम्दानीसमेत गर्दा सरकारको ढुकुटीमा अहिले पनि सवा दुई खर्ब रुपैयाँ रहेको देखिन्छ । 

चालू आर्थिक वर्षमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा भैपरि आउने चालू खर्चका लागि १० अर्ब ४१ करोड ७५ लाख रुपैयाँ छ । 

प्रकाशित मिति: : 2020-10-21 10:08:00

प्रतिकृया दिनुहोस्