राष्ट्रपति निर्वाचनमा अमेरिकी नेपालीको चासो!
हिन्दी भाषामा एउटा उखान छ, ‘बेगानी शादी मे अब्दुल्ला दिवाना’ अर्थात कसैले विशेष महत्व नदिएको स्थान र समारोहमा गएर खुशी हुनु। सयुंक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ३ तारीखको दिन हुने ४६ औं राष्ट्रपतिको चुनाव त्यस्तै ‘बेगानी शादी’ र नेपाली मुलका मतदाताहरू ‘अब्दुला दिवाना’ जस्तै भएका छन्।
करिब पचास हजार नेपाली मुलका अमेरिकी नागरिक भएको अनुमान गरिएकोमा मतदाता सूचिमा कतिले नाम दर्ता गरेका होलान् र मतदान गर्ने अधिकार भएका पनि कति जना मतदान केन्द्रसम्म जालान्? पंक्तिकारको अनुमानमा चुनावमा मत दिने अमेरिकी नेपालीको संख्या अत्यन्तै कम छ। अर्ली भोटिङ, एब्सेन्टी भोटिङ, मेल इन ब्यालेटलगायतका मतदान प्रक्रियाका बारेमा धेरैलाई जानकारी नभएको र मतदान केन्द्रमै गएर मतदान गर्ने कुरामा मात्र विश्वास गर्ने कारणले यहाँ मतदान केन्द्र भनेर भनिएको हो।
सामाजिक सन्जालमा पोस्ट गरिएका लेखौटलाई आधार मान्ने हो भने अमेरिकामा बस्ने नेपालीलाई डेमोक्रयाटिक पार्टीका उम्मेदवार जोसेफ आर. वाइडेनसँग अत्याधिक प्रेम र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्र्म्पसँग अत्याधिक घृणा किन उत्पन्न भएको हो र त्यसको कुनै ठोस कारण के होला त्यो बुझ्न नसकेर पंक्तिकार रनभुल्ल परेको छ। त्यस्तै नेपालबाट पत्रकारिताको खोरिया फाँडेर आएका यता अर्कै काम गर्ने तर ‘आइडेण्टिटी क्राइसीस' को कारण आफूलाई पत्रकार दाबी गर्ने महापुरुष हरु पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार वाइडेनलाई जिताउने अभियानमा छन्। अब उनीहरुको अभियानको महत्व के कत छ त्यो पंक्तिकारलाई ठ्याकै जानकारी भएन तर यो मुढ बुद्धीको अनुमानमा त्यस्ता अर्थहीन अभियानको कुनै महत्व छैन।
टेलिभिजनका प्रिमियम च्यानल महँगो शुल्कका कारण सब्स्क्राइब नगर्नू, भाषाको समस्याको कारण पत्रपत्रिका नपढ्नुको कारण देशको राजनीति कता गइरहेको छ भन्ने कुरामा धेरै नेपाली मुलका अमेरिकनलाई जानकारी छैन। उनीहरु आफ्नो कुनै मान्यजनले बनाएको धारणा र उसले सामाजिक सन्जालमा लेखेको कुरालाई मानेर यसैलाई बास्तविकता सम्झेर बसेका छन्। दैनिक एउटा मात्र भए पनि मुलधारका पत्रिका किनेर पढ्ने कति होलान्? छातिमा हात राखेर भनौं, अधिकांस को उत्तर "नो" मा हुन्छ।
अधिकांस नेपाली मुलका अमेरिकी नागरिक र विभिन्न "स्ट्याटस" मा बसिरहेका ब्यक्तिलाई डेमोक्र्याटिक पार्टीले जित्यो भने यता बस्न सहज हुने र रिपब्लिकन पार्टीले जित्यो भने अमेरिका छोडेर नेपाल फर्किनुपर्ने आधारहीन डर छ। कुनै पनि प्रक्रिया देशको संविधान र कानुन अनुसार हुने यो मुलुकमा केवल ट्र्म्पले मात्र इच्छा गरेर सबै नेपालीले घोक्रेठ्याक हुनुपर्छ भनेर कसैले सोच्नुपर्दैन। यदि संसदको बहुमतले पारित गरेर कानुन मै परिवर्तन गरेर सबैलाई देश निकाला गर्छ भने त्यसको लागि सबै तयार हुनुपर्छ र त्यसको कुनै बिकल्प पनि छैन।
पंक्तिकारको अनुभवमा कानुनी हैसियत नभएकाहरु डेमोक्र्याटिक पार्टीले जिते हुन्थ्यो भन्ने इच्छा राख्छन् भने कानुनी हैसियत भएका र अरू नेपालीहरु अब अमेरिका नआउन भन्ने आशय राख्नेहरु रिपब्लिकन पार्टीले जिते हुन्थ्यो भन्ने आशा गर्छन्। पंक्तिकारको विचारमा यो दुवै किसिमका इच्छाहरू हाँस्यास्पद छन्। हरेक घटना र परिस्थितिलाई आफ्नो स्वार्थ अनुसार व्याख्या गर्ने हामी यो चुनावको बारेमा पनि निजी सिद्वान्त प्रतिपादन गर्न पछि परेका छैनौं, भलै यसको कुनै अर्थ नहोस्। कानुनको परिधि भित्र बसेर गर्ने कार्य दुवै पार्टी मध्य जसले जिते पनि उस्तै हुन्छ होला भन्ने पंक्तिकारको विचार छ।
हरेक परिस्थितिलाई आफ्नो स्वार्थ अनुसार ब्याख्या गर्ने उदाहरणमा पंक्तिकारको एउटा परिचित, जो १२ वर्षसम्म बिना कागज (चलनचल्तीको भाषामा कानुनी हैसियतको कागजपत्र), अरू मान्छेको ‘सोशल सेक्युरिटी नम्बर' प्रयोग गरेर बस्यो (जो यँहाको कानुनमा जघन्य अपराध मानिन्छ) ऊ आफ्नो कानुनी हैसियत नभए सम्म डेमोक्र्याटिक पार्टीको समर्थक थियो तर केही बर्ष पहिले अमेरिकी नागरिक भएकी नेपाली महिलासँग विवाह गरेर आफ्नो कानुनी हैसियत बने पछि आजकाल रिपब्लिकन पार्टीको समर्थक भएको छ।
त्यस्तै अर्को एउटा परिचित, जसलाई नेपालमा बैदेशिक रोजगारी ठगी मुद्दामा सर्बोच्च अदालतले सजाय तोकेको तर प्रहरीले पक्राउ नगर्दै श्रीमतीलाई डिभी चिठ्ठा परेर यता आएको छ उ भने रिपब्लिकन पार्टीको कट्टर समर्थक हो। उसको विचारमा अब अमेरिकामा नेपालीहरू धेरै भएको र नेपालीलाई यता आउन प्रतिबन्ध लगाउनुपर्छ।
अमेरिकालाई आफ्नै पिताजीको विर्ता सम्झिने त्यी मान्यबरले पुरानो नागरिकताबाट पासपोर्ट बनाउँदा प्रहरी रिपोर्ट नबन्ने कारणले नक्कली नागरिकता बनाएर त्यसैको आधारमा पासपोर्ट बनाएर र प्रहरी रिपोर्ट बनाएर यता आएको कुरा यता र उता को प्रहरीलाई थाहा भयो भने उनको अमेरिकी नागरिकता र उनकै कस्तो कन्त बिजोग हुने हो त्यो महसुस छ कि छैन होला पंक्तिकारलाई खसखस लागेको छ।
केही गैर जिम्मेवार अनलाइन समाचार पोर्टलले अमेरिकी नेपालीद्वारा ट्र्म्प जिताऊ अभियान सुरू, ट्र्म्पले भने, ‘बिर गोर्खालीले मलाई मत दिन्छन्, सम्पूर्ण प्रजातान्त्रिक विचारका नेपालीहरुले बाइडनलाई मत दिने’ जस्ता बकम्फुसे शीर्षक राखेर मनचिन्ते समाचार प्रकाशित गर्ने र त्यो समाचारलाई सामाजिक सन्जालमा सेयर गर्ने गरिरहेका छन्। यस्ता समाचारहरु आधारहीन त छन नै पत्रकारिता को आचार संहिताको बिरुद्ध पनि छन्, यस्ता समाचार पोर्टललाई कुनै कारबाही हुन्छ वा हुँदैन त्यो जान्न पाए हुन्थ्यो।
अत अल्पसंख्यामा रहेका नेपाली मुलका अमेरिकी मतदाताको मतले कुनै निर्णायक परिणाम दिने होइन तर मत दिएपछि ‘आइ भोट’ लेखेको ब्याच छातिमा टाँसेर खिचेको तस्बिर सामाजिक सन्जालमा पोस्ट गर्दा नेपालतिर लौ फलानो पनि अमेरिकी नागरिक भएछ भन्ने निःशुल्क विज्ञापन हुने कुरा मा भने दुई मत छैन। यसको साथै पंक्तिकारको मतदान गर्ने हैसियत नभएको कारण मत दिने र फोटो खिचेर पोस्ट गर्ने कुरा भएन कतै त्यस्तो कार्य गर्न नपाएको इर्श्या हो कि अनुसन्धानकै बिषय छ।