जनतालाई आधारभूत स्वास्थ्य सेवासमेत दिन नसक्ने अवस्थाबाट मुलुक गुज्रिरहँदा त्यसको नेतृत्व गरिरहेका मुखियाहरु दैनिक छलफलमा जुटिरहेका छन् - भागबण्डा र पार्टीको गुट मिलानका लागि। सत्ता कति निर्दयी हुनसक्छ नेपालको राजनीतिको ठीक अहिलेको परिदृष्यहरुले अभिव्यक्त गरिरहेको छ। शब्दमा 'समाजवाद'को सुँगा रटाइ जारी छ, व्यवहारमा असफलताका श्रृङ्खलाहरु। आर्थिक धरातल नराम्ररी भत्किएको अहिलेको अवस्थामा सरकारको प्राथमिकता के हो? जवाफ छैन किनकि सरकार आफैँ कुहिरोको काग बनिरहेको छ। नेपालको सत्ता शासनमा यति दुरुहपूर्ण अवस्था यसअघि कहिल्यै देखिएको थिएन भलै यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली सरकार किन नहोस्।
जनताको सरोकारका विषयमा सरकार कति निर्दयी बन्दै गएको छ, विभिन्न घटनाक्रमहरुले देखाइरहेको छ। यतिखेर सरकारी अस्पतालमा सामान्य शय्या पाउन कुनै अर्को विरामीको मृत्यु हुनुपर्ने अवस्था छ। निजी अस्पतालमा शय्या त मिल्छ तर त्यसका लागि लाखौंको ब्यालेन्स अनिवार्य बनेको छ। ठीक त्यही अवस्थामा सरकारको बोली फुट्छ - आफ्नो सुरक्षा आफैँ गरौं, कोरोनाबाट बचौं। कुनै बेला नेकपा एमालेले जसरी आफ्नो गाउँ आफैँ बनाउँ भन्दै स्थानीय तहलाई जिम्मेवार बनाएको थियो। त्यो भब्य सफल भयो। तर, यतिखेर लाग्छ उसले त्यही शैली दोहर्याउँदैछ - आफ्नो ज्यान आफैँ जोगाउँ। किनकि सरकार आफैँ रोगी छ। आफैँ संक्रमित भएको छ, भ्रष्टाचारबाट, दुराचारबाट। यस्तो सरकारले जनताको रक्षा गर्न सक्दैन।