अमेरिकामा रहेको नेपाली डायस्पोराका सदस्यको सामाजिक सञ्जाल खासगरी फेसबुकका गतिविधिलाई हेर्यो भने लाग्छ, यसपटकको अमेरिकी राष्ट्रपति चुनावको नतिजा उनीहरूकै मतले निर्धारण गर्दैछ।आप्रवासीको मुलुक अमेरिकामा रहेको यो सानो डायस्पोराका विभिन्न तह र तप्काका मानिसको तर्क, वितर्क, वहस पैरवी हेर्दा धेरैलाई त्यस्तोे लागेको हुन सक्छ।
अमेरिकाको नेपाली डायस्पोरामा त्यस्तो भ्रम छ जस्तो लाग्दैन। भ्रम सम्प्रेषित वर्गलाई मात्र हैन, स्वयं भ्रम सम्प्रेषण गर्नेहरूलाई पनि त्यस्तो भ्रम नहुनुपर्ने हो। तर, नेपालमा भने खासगरी सामाजिक सञ्जाललाई नै विश्वास गर्ने एउटा तप्कामा भने केही भ्रम रहेजस्तो देखिन्छ।
सामाजिक सञ्जालकै संसारमा रमाउने एक मित्रले नेपालबाट सोधे, 'अमेरिकामा रहेका नेपालीको सामाजिक सञ्जालका गतिविधि हेर्दा अमेरिकी चुनावको नतिजा नै नेपाली मतदाताले प्रभाव पार्ने हुन् कि जस्तो देखिन्छ। वास्तवमा त्यस्तै हो त अवस्था? '
मैले भने, 'मलाई त त्यस्तो लाग्दैन । तथ्यले पनि त्यस्तो बताउँदैन।' आफूलाई त्यस्तो नलाग्नुको लामै फेहरिस्त उनलाई बताएँ। छुट्टिने बेलामा उनको आग्रह थियो, ' यसबारेमा केही लेखे राम्रो हुने थियो। कम्तिमा नेपाली पाठक सुसूचित त हुने थिए।'
लेख्छु नै भनेर वाचा नै नगरे पनि केही लेख्न प्रयाश गर्छु भनेर विदा भएको थिए। त्यसपछि दिन, साता हुँदै महिना नै बितेछ। तर, यस बीचमा त्यसमाथि केही लेख्न सकिएन। अमेरिकी चुनावको निर्णायक दिन नोभेम्बर ३ आउँन १६ दिन बाँकि रहेको यो बेला पनि लेखिएन भने मित्रको मप्रतिको विश्वास त चकनाचुर हुने नै छ, एउटा लेख्नुपर्ने विषय नलेखिएर सन्दर्भहिन हुने छ। त्यसैले पनि केही लेख्ने प्रयास गरेको छु।
लेख्नुअघि एउटा कुरा प्रष्ट पार्न चाहन्छु। मेरो नागरिकताको देश र जन्मदेश नेपाल हो। यसको अर्थ म अमेरिकी नागरिक हैन, नेपाली नागरिक हुँ। त्यसैले म अमेरिकी मतदाता हैन र मत हाल्ने प्राधिकार मसँग हुने कुरै भएन। तर, पनि विचारको कोणबाट म कुनै पार्टीको शुभ चिन्तक हुन सक्छु।
म विचारले रूढीवादी हैन, प्रगतिशील हुँ। त्यसैले म अमेरिकाको लिबरल प्रोग्रेसिभ पार्टी भनिने डेमोक्रेटिक पार्टीको शुभचिन्तक हुँ। र, यसैले जिते हुन्थ्यो भन्ने चाहना पनि राख्छु। यो मेरो प्रिय चाहना भरसक लेखनमा नल्याउने कोशिस गर्छु। यद्यपि, कतिपय अर्थमा मेरो कोशिसले रङ नल्याएको पनि छ। र, कतिपय अर्थमा मेरो पृष्ठभूमिलाई आधार बनाएर माइन्डसेट बनाएर हेर्ने पाठक पनि हुन सक्छन्।
अमेरिकामा अरू पनि पार्टी छन्। तर, डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीको दबदबाले अमेरिकामा दुई पार्टी मात्र रहेको भान बाँकि विश्वलाई भएको छ। यी दुई मध्ये जीओपी पनि भनिने रिपब्लिकन पार्टी मूलत: कन्जर्भेटिव पार्टी हो भने डेमोक्रेटिक पार्टी प्रोग्रेसिव पार्टी हो। यी दुई मूलधारका आधारमा नै अमेरिकामा कित्ताकाँट हुन्छ। अनि त्यो कित्ताकाँटमा रिपब्लिकन पार्टीमा कोही अति दक्षिणपन्थी, कोही मध्यपन्थी र कोही उदारवादी दक्षिणपन्थी हुन्छ। लगभग त्यस्तै उपविभाजन हुन्छ डेमोक्रेटिक पार्टीमा पनि। कोही अति प्रगतिशील हुन्छ, कोही मध्यपन्थी हुन्छ भने कोही कम उदारवादी हुन्छ। कम उदारवादी डेमोक्रेट र उदारवादी रिपब्लिकन भने एजेण्डामा झण्डै उस्तै उस्तै हुन्छन्।
अमेरिकामा आएका अधिकांश नेपाली पनि मूलत: यिनै दुई पार्टीमा बाँडिएका छन्। तर, अनुपातमा डेमोक्रेटको संख्या कम्तिमा पनि ४:३ हुनुपर्छ। जानकारहरू भन्छन्, सन् २०१६ को चुनाव अघि त अमेरिकामा नेपाली रिपब्लिकनको संख्या हातको औलामा गन्न सकिने अवस्थामा थियो। तर, २०१६ को चुनावमा ट्रम्प रिपब्लिकन उम्मेद्वार भएपछि उनको पक्षमा केही नेपाली देखिन थाले। अहिले त्यो संख्यामा थप बढोत्तरी भएको सामाजिक सञ्जालको गतिविधिले पुष्टी गर्छ।
किन नेपाली ट्रम्पका पक्षधर भए ? को र कस्ता पृष्ठभूमिका नेपाली उनको पक्षमा छन् ? उनीहरू रिपब्लिकन भएर ट्रम्पका पक्षधर भएका हुन् कि ट्रम्पका पक्षधर भएर रिपब्लिकन भएका हुन् ? या उनीहरू रिपब्लिकन चाँहि हैनन् ? यसका बारेमा सम्भवत: अर्को सातामा चर्चा गरौला। अहिलेलाई चाहिँ अमेरिकी नेपाली मतदाताले यसपटकको चुनावलाई कति प्रभाव पार्न सक्छन् ?, त्यस बारेमै केन्द्रित हुन चाहन्छु।
कति नेपाली भए अमेरिकी-नेपाली ?
अमेरिकामा पहिलो पाइलो टेक्ने नेपाली पद्म सुन्दर मल्ल थिए। उनी १९१९ मा अमेरिका आएको प्रमाणित तथ्यका आधारमा के भन्न सकिन्छ भने नेपाली अमेरिका आउन थालेको सन् २०१९ मा एकसय वर्ष भयो। त्यसयताको यो सय वर्षमा कति नेपाली अमेरिका आए ?, त्यसको एकिन तथ्यांक हामीसँग छैन। अनुमान गर्नेहरूको औसत निकाल्दा तीन लाखभन्दा माथि नै नेपाली अमेरिकामा रहेको जस्तो देखिन्छ।
यदि यो अनुमानलाई आधार मान्ने हो भने पनि यस बीचमा कति नेपालीले अमेरिकी नागरिकता लिए?, त्यसको तथ्यांक पनि छैन। यसका लागि पनि अर्को एक अनुमानकै भर पर्दा करिव ५० हजार नेपालीले अमेरिकी नागरिक लिए जस्तो देखिन्छ। यो तथ्यांकलाई आधार मान्ने हो भने पनि फेरि अर्को तथ्यांक हामीसँग छैन । त्यो भनेको कति अमेरिकी नेपालीले आफूलाई मतदाताका रूपमा दर्ता गरे भन्ने हो। हामीसँग त्यसको पनि तथ्यांक छैन। अझ अगाडि बढ्दा अर्को पनि प्रश्न उठ्छ, मतदाताका रूपमा दर्ता भएकामध्ये पनि कति मतदानका लागि उपलब्ध हुन्छन्? हामीसँग त्यसको पनि कुनै आधिकारिक संख्या छैन।
विगतको चुनावलाई आधार मान्दा जति नेपालीले अमेरिकी नागरिकता लिएको अनुमान गरिएको छ, त्यसको धेरै थोरै संख्याले मात्र मतदाताका रूपमा आफूलाई दर्ता गरेको पाइन्छ। अझ, मतदाताका रूपमा दर्ता गरेकामध्ये पनि मतदान गर्नेको संख्या पूरापूर छैन।
किन यस्तो हुन्छ ?
पहिलो त अमेरिकी नागरिकता लिनका निश्चित फाइदा छन्, त्यसको अर्थ र उपादेयता छ। त्यसैले पनि नेपाली अमेरिकी नागरिकता लिन्छन्। तर, मतदाताका रूपमा दर्ता गर्दा र मतदान गर्दा त व्यक्तिगत रूपमा त्यस्ता केही फाइदा छैनन्। जुन कुरामा व्यक्तिगत फाइदा हुदैन, अमेरिकामा त्यतातिर लाग्ने समय पनि हुदैन।
दोस्रो, धेरै नेपाली जो अमेरिकी भैसके उनीहरू सार्वजनिक रूपमा अमेरिकी भैसकेको बताउने चाहना पनि राख्दैनन्। यसको मूलकारण उनीहरू आफूलाई नेपाली राखिरहन र नेपालमा रहेको धनसम्पतिको चुपचाप सुरक्षा गर्न चाहन्छन्। धेरैलाई लाग्छ, मतदानलगायतका धेरै कुरामा सहभागी भैयो भने त्यो लुकाउन चाहेको कुरा सार्वजनिक हुन्छ।
तेस्रो, धेरैलाई के लागेको हुन्छ भने अमेरिकाको चुनावमा उनीहरूको थोरै मतले के फरक पार्छ र ? आखिर मतदान गरे पनि, नगरे पनि परिणाम आइहाल्ने हो ।
चौथो, धेरै नेपालीलाई अर्ली भोटिङ, एब्सेन्टी भोटिङ, मेल इल द्वयालेटलगायतका मतदान प्रक्रियाका बारेमा थाहा नै छैन। उनीहरू मतदान केन्द्रमै गएर मतदान गर्ने ठान्छन्। त्यसो गर्दा उनीहरूसँग मतदान गर्न जाने समय पनि हुदैन। यही भएर पनि अमेरिकी नेपाली मतदाता सहभागी हुदैन।
निर्णायक हुन्छ अमेरिकी नेपालीको मत ?
अमेरिकामा नीलो रङले डेमोक्रेटस् र रातो रङले रिपब्लिकन भन्ने बुझाउँछ। यही रङको आधारमा अमेरिका विभाजित छ।अमेरिका आज पनि धेरै गाढा नीला र गाढा राता राज्य छन्। अझ भनौ कलेज इलेक्ट्रोल मत गणना हुने काउन्टी छन्। ती काउन्टीमा केही सय संख्यामा नेपाली मत भए पनि त्यो संख्याले रातोलाई नीलो र नीलोलाई रातो बनाउन सक्दैन।
यो संख्याले असर गर्ने भनेको धेरैमा रङ फेरिरहने राज्य अर्थात् ब्याटल ग्राउण्ड स्टेटका केही काउन्टीमा हो। त्यो पनि निर्णायक नै छ भन्ने अवस्था छैन। बाँकि उनीहरूको झिनो संख्या न नीला राज्यलाई रातो बनाउन काम लाग्छ, न रातो राज्यलाई नीलो।
त्यसो भए किन बढी नै होहल्ला त ?
वास्तवमा नेपाली हिङ नभए पनि हिङ भएको टालो हो। गोर्खाली वीर भनेर उकास्दै लडाइमा मूर्ख बनाएर अर्काका लागि ज्यान फाल्ने जाति हो यो। नेपालमा जन्मेहुर्केको पुस्तामा त्यो रगतमै छ भने पनि हुन्छ।अमेरिकामा आएका नेपालीमा त्यो नहुने कुरै भएन।
अमेरिकामा बढ्दो मासिफिकेसनले हरेक मानिसले 'आइडेन्टिटी क्राइसिस' को समस्या भोग्नुपरेको छ। सानो देश नेपालमा रहदा आफ्नो परिचयका साथ बाँचेका नेपाली अमेरिकाको महासागरमा अस्तित्वविहिन भएपछि उनीहरूलाई हुनसम्म भएको छ। त्यसबाट त्राण दिन खासगरी सामाजिक सञ्जाल फेसबुक आएको छ। यही फेसबुकमार्फत् आफ्नो उपस्थित जनाएर ' म पनि छु है' भन्ने देखाउने मौकाका रूपमा धेरै नेपालीले यसलाई लिएका छन्। यो एक किसिमको बसिबियालो नै हो।
अमेरिकामा 'नेपाली-मत' कति छ ? पहिला त त्यो नै स्पष्ट छैन। तर, जति छ त्यसले ब्याटल ग्राउण्ड स्टेटको रङमा केही फरक पारे पनि रातोलाई नीलो र नीलोलाई रातो बनाउने हैसियत राख्दैन।
तर, यसको केही सकारात्मक पक्ष पनि छन्। पहिलो त यसबाट कम्तिमा सामाजिक सञ्जालमा एउटा समसामयिक विषयमा डिस्कोर्स सुरू भएको छ। अमेरिकी नेपालीमा अमेरिकी राजनीति र चुनावका बारेमा सचेतनाको सम्प्रेषण भएको छ। ठूलो देश अमेरिकाका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीका लागि विचार आदानप्रदान गर्ने प्लेटफर्म मिलेको छ। उनीहरूबीच एक किसिमको सहकार्य भएको छ।केही मानिस 'ब्राण्डेड' भएका छन् र केहीलाई 'ब्राण्डिङ' गर्ने प्रयास भएको छ। अरू केही नभए पनि गुगलिङ गर्दा नेपाली अनुहारको केही फ्रुटेज मिल्ने छ। यो आफैंमा चानचुने उपलब्धी हैन।
यसबाट के पाठ सिक्ने त ?
मूल कुरा अमेरिकामा रहेका नेपालीले आफ्नो जमिनी हैसियत जे हो, त्यसलाई स्विकार गर्नुपर्छ। र, त्यही भुईँमा टेकेर आफूलाई प्रस्तुत गर्नुपर्छ। तथ्यलाई तोडमोड गर्ने, विषयलाई अतिरञ्जना गर्ने, आफू नै प्राधिकार भएजस्तो गरेर बोल्ने, अरूको अस्तित्वलाई अस्विकार गर्ने, अमेरिकाको चुनावमा नेपालीले आनका तान नै फरक पार्ने जस्ता गलत प्रवृतिमा अंकुश लगाउनु पर्छ। त्यसो गर्न सकियो भने विश्वसनियता निर्माण हुन्छ र नेपाली ओरिजिनका अमेरिकी नेपालीको एउटा सकारात्कक छवि बन्छ। अन्यथा, अमेरिकी नेपाली हिङ नभए पनि हिङ बाँधेको टालोको रूपमा अभिषप्त भैरहेने छ।