नेपालको उत्तरतर्फ प्राकृतिक सीमा भएका कारण दक्षिणको तुलनामा सीमासम्बन्धी विवाद कमै हुने गथ्र्यो। तर छिमेकी देश चीनले डोल्पा जिल्लामा पर्ने लिमीको लाप्चाक्षेत्रमा भौतिक संरचना निर्माण गरेर सीमा सुरक्षा बललगायत चिनियाँ सेनासमेत स्थायी रूपमा रहने व्यवस्था गरेको सूचना प्राप्त भएको छ। यो क्षेत्र नेपालको भएकोमा सन्देह रहँदैन। तर यसरी अर्को देशको क्षेत्रमा सैन्य प्रयोजनका लागि चीनले ११ वटा संरचना तयार पार्नु, लामो समयसम्म सीमा क्षेत्रको अनुगमन नहुनु, अतिक्रमण भएको सूचना सम्प्रेषण हुनेबित्तिकै परराष्ट्रमन्त्रीले नेपालको सिमाना नमिचिएको र चीनसँग नेपालको सीमासम्बन्धी समस्या नभएको अभिव्यक्ति दिए। सीमा मिचिएको विषयमा जाहेर गर्ने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घन्टे पुर्जी जारी गर्नु, प्राविधिक टोली नफर्कंदै नेपाली भूभाग मिचिएकोमा कुनै चासो नदिई अतिक्रमित पक्षकै समर्थनमा सरकारी प्रवक्ताको अभिव्यक्ति आउनु, समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रयास गर्नु सबै घटनाक्रमलाई संयोगकै रूपमा ग्रहण गर्न सक्ने स्थिति छैन। यी घटनाबाट सरकारको नियतमाथि प्रश्न खडा भएको छ।
नेपाल र चीनका बीचको सीमा सम्बन्धमा संक्षेपमा प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ। यी दुई देशका बीच सन् २००७ मै सयवटा सीमा स्तम्भ राखिसकिएको हो, चीनसँग नेपालको सिमाना १३८९ किमी क्षेत्रमा विस्तार भएको छ। विशेषगरी सिमानाका १०, ११ र १२ नम्बरका स्तम्भका बारेमा समयसमयमा विवाद देखिएको हो। सन् २०१५ मा हराएको ११ नम्बर स्तम्भ खोजी पत्ता लगाउने दुईपक्षीय समझदारी भएको थियो। यही समयमा १२ नम्बर स्तम्भका बारेमा भएको विवाद समाधान भएको थियो। नेपालले आफ्नो सीमा निश्चित गर्न सफल भएको थियो। दुई देशहरूका बीच बोर्डर प्रोटोकलमा हस्ताक्षर भइसकेको छ। भारतसँग जस्तो हस्ताक्षर नै हुन नसकी सिमानाको समस्या समाधान नभएको स्थिति चीनसँग छैन। जंगेपिलर, मध्यमपिलर र सहायक पिलरहरू राखिएका छन्, एक स्तम्भबाट अर्को स्तम्भको दूरी ५० किमिसम्म छ। बेलाबखत सीमा समस्या उत्पन्न भइराखेका छन्।