सेलेना, मृगौंला प्रत्यारोपण र दाग

विश्व चर्चित सेलिब्रिटीहरू प्रायः आफ्नो नराम्रो पक्ष लुकाउन खोज्छन्। अझ, मनोरञ्जनको दुनियामा लागेका सेलिब्रिटीको कुरा नगरे हुन्छ। 

उनीहरू आफ्नो शरीरमा भएको एउटा सामान्य दाग पनि लुकाउने प्रयास गरिरहेका हुन्छन्। 

तर, विश्व चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजको हकमा भने यो कुरा लागु हुदैन। उनी आफू जे छिन्, त्यही रूपमा प्रस्तुत हुन चाहन्छिन्। उनीसँग जोडिएको यस्तै एउटा कुराको रहस्योद्घाटन हालै भएको छ।
 
सेलेना गोमेजले केही वर्षअघि मृगौंला प्रत्यारोपण गरेको सबैलाई थाहा भएकै विषय हो। उनी मृगौंला प्रत्यारोपणपछि फेरि सामान्य जीवनतर्फ फर्किदैछिन्। यसै अनुरुप हालै उनले एउटा ब्रान्डका लागि बिकनीको विज्ञापन गरिन्। 

यसका लागि थुप्रै फोटो खिचियो। तर, सेलेनालाई सबैभन्दा मन परेको थियो, मृगौंला प्रत्यारोपण गर्दा उनको जाँघमा बसेको अपरेसनको दाग भएको फोटो। सेलेनालाई फोटो सुटका लागि उनको पूर्व सहायक तथा साथी थेरेसा मिनगुसले तयार पारेकी थिइन्। 

सेलेनाले अपरेसन गर्दा बसेको दागको फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेपछि त्यो अहिले भाइरल भएको छ। उनी ‘वान पिस’ मा देखिएकी छिन् र अपरेसन गर्दाको दाग फोटोमा मज्जाले देखिन्छ। 

सेलेनाले क्यारोलिन बिक्नीका लागि मोडलिङ गरेकी थिइन। उनले यो फोटो सेप्टेम्बर ४ मा सेयर गरेकी हुन्। इन्स्टाग्राममा सेयर गरिएको यो फोटोलाई अहिलेसम्म १ करोड ३२ लाख भन्दा बढी मानिसले मन पराइसकेका छन्। 

उनले इन्स्टामा लेखेकी छिन्–‘जुन बेला मैले किड्नी ट्रान्सप्लान्ट गरेकी थिए, म सम्झन्छु धेरै गाह्रो भएको थियो मलाई पहिलो दाग देखाउन। म फोटोमा यो नआओस् भन्ने चाहन्थे। त्यसैले म यसलाई छोप्ने वस्त्र मात्र लगाउँथे। तर, अब ममा आत्मविश्वास जागेको छ, म को हुँ र मैले के भोगेर आए भन्ने कुरामा। मलाई गर्व छ यी सब कुरामा।’ 

सेलेनाको सन् २०१७ मा मृगौंला प्रत्यारोपण भएको थियो। फोटो सुटमा बसेकी मिनगुसले भनेकी छिन्, ‘उनले सुरुमै मलाई आफ्नो शरीरमा भएको दागको विषयमा कुरा गर्नुछ भनेकी थिइन्। उनले आफ्नो शरीर जस्तो छ, त्यस्तै देखिने चाहना भएको बताएकी थिइन्। हामीले दिनभरि लगाएर फोटो खिच्यौं। उनले दाग देखिएको फोटोलाई रोजिन्।’

सेलेनाको यो फोटोको थुप्रै सेलिब्रिटीले तारिफ गरेका छन्। बेलायती राजपरिवारकी राजकुमारी युजेनीले सेलेनाको कामको तारिफ गरेकी छिन्। 

उनले सेलेनाले आफूलाई प्रमाणित गरेको भन्दै आफ्नो शरीरमा भएको भित्री दागलाई सार्वजनिक गर्न हिम्मत चाहिने बताएकी छिन्।

प्रकाशित मिति: : 2020-10-15 18:38:00

प्रतिकृया दिनुहोस्