छोरो मान्छे भएर रून्छन्?

सुरज सुवेदी

काठमाडौं
सुरज सुवेदी
सुरज सुवेदी

एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्। उनलाई बेथा लाग्न थालिसकेको थियो। आमाले भन्नुभयो, 'डेलिभरी यहीँ गराउनुपर्छ।'

उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो। उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ।

महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो। लाइटको प्रकाश यताउता हुन्थ्यो।

त्यसको केही घन्टामा बच्चा जन्मियो। घन्टौंको उनको पीडादायी रुवाइ रोकियो। शान्त हुँदै गर्दा उनले कोही रोएको आवाज पर्खिइन्।

बच्चा रोएन।

मलाई जन्मिएको बच्चा रूनुपर्छ भन्ने थाहा थिएन।

आमाले आत्तिँदै भर्खरै जन्मिएको बच्चालाई हातमा लिएर यताउता हल्लाउनुभयो। बच्चा रोएन। सबैतिर चकमन्न भयो।

आमाले उसलाई रूवाउने चेष्टा गर्दै एक हातले उसका दुवै खुट्टा समाएर मुन्टो उँधो पारेर झुन्ड्याउनुभयो। र, तिघ्रामा दुई-तीन पल्ट ग्लोब्स् लगाएका हातले प्याट-प्याट हिर्काउनुभयो।

मैले त्यतिन्जेल उहाँको हातमा लाइट बालेँ।

सबैलाई बच्चा रोएको सुन्ने पर्खाइ थियो। अर्धबेहोस सुत्केरी, मुन्टो उठाएर आमाको हातमा हेर्दै थिइन्। उनलाई त्यस बेला अरू कुनै खबर चाहिएको थिएन। केवल आफ्नो बच्चा रोएको सुन्न मन थियो।

सबैलाई बच्चा रोएको सुन्न मन थियो।

एकछिनको शून्यतापछि आमाले तिघ्रामा हानेको प्याट-प्याट आवाज सुनेर ब्युँझिए जसरी बच्चा ब्युँझियो। रोयो पनि। तिखो स्वरमा ऊ रोएको सुनेपछि वरपर भएका सबैको अनुहार फेरियो। सबै खुसीले हाँसे।

बच्चाको आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल हाँसोलाई बोलायो।

त्यतिन्जेलसम्म कसैले पनि के जन्मियो भनेर सोधेन। सबैले बच्चा रोएपछि मात्र के जन्मिएछ भनेर हेरे। त्यसपछि मात्र थाहा भयो, छोरी। 

आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल जन्मिनेको लिंग छुट्यायो। अर्थात्, आँसु लिंगभन्दा पहिला जन्मियो।

प्रकाशित मिति: : 2020-10-12 10:25:00

प्रतिकृया दिनुहोस्