‘बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्, बलात्कृतलाई न्याय दे !’ (भिडियाेसहित)

प्रदेश नम्बर २ का युवाले प्रादेशिक राजधानी जनकपुरमा एक भेलाको आयोजना गरी माग गरेका छन्, ‘बलात्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे !’ 

अधिकारकर्मी तथा बलात्कारविरुद्ध युवा संगठनकी संयोजक गुञ्जा रायले दबाबमूलक कार्यक्रम गर्नुपर्नेको कारणबारे भनिन्, ‘बलात्कारजस्तो जघंन्य अपराधका घटनामा प्रदेश सरकार र प्रहरी प्रशासन मौन बसेको छ। कसैले पीडितको न्यायका लागि चासो देखाएको छैन। त्यसैले दबाब दिनुपरेको छ।’

जिल्ला प्रहरी कार्यालय, धनुषाको अगाडि गरिएको दबाबमूलक कार्यक्रममा प्रदेश–२ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा रौतहट लगायतका जिल्लाका युवा प्रतिनिधिहरुको सहभागिता थियो। 

अहिले बलात्कारका घटना देशव्यापी रुपमा छ तर अन्य प्रदेशको तुलनामा  प्रदेश २ को अवस्था निकै भयावह रहेको भन्दै संगठनकी अर्की अभियन्ता काजल झाले भनिन्, ‘सरोकारवाला निकायलाई दबाब दिन प्रत्येक जिल्लाबाट युवा संगठन एकजुट भएर कार्यक्रमा सहभागी भएका हौँ। बलत्कार जस्तो अपराधलाई पनि प्रहरी र राजनीतिकर्मी मिलेर लुकाउने प्रयास गरिरहेको बताउँदै पीडितको मुद्दा दर्ता नगर्ने र अपराधीलाई खुल्ला रुपमा घुम्न दिने प्रवृत्ति बढेको छ। संविधान संशोधन गरी अब बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था नगरेसम्म छोरीचेली सुरक्षित हुँदैनन्। कडा कानुन बनाउनुपर्छ। प्रहरी र राजनीतिक दलको हस्तक्षेप बन्द गर्नुपर्छ।’

संगठनकी संयोजक गुञ्जा रायले अहिले महिलाको मर्यादा नै जोखिममा रहेको बताउँदै यसको रक्षाका लागि आफूहरुले सरकारसमक्ष माग गरेको बताइन्। उनले भनिन्, ‘जनकपुरको धनुषाधाम नगरपालिकाको सरसा गाउँमा दुई दाजुभाई मिलेर एक १७ वर्षीया युवतीलाई ललाईफकाई बारम्बार बलात्कार गरे। पीडित स्वयम्ले प्रहरीसमक्ष न्यायका लागि गुहार मागिन् तर राजनितिक संरक्षणका कारण दोषिलाई पक्राउ गर्न सकिएको छैन। अभियुक्त भरतमान श्रेष्ठ र उनका दाजु राममान श्रेष्ठ खुलेयाम रुपमा घुमिरहेका छन्। प्रहरीले उनीहरुमाथि कारवाही गर्न नसक्नु लज्जास्पद कुरा हो।’ 

ती युवतीलाई छिमेकी श्रेष्ठ दाजुभाई मिलेर घरमा कोही नभएको मौका छोपी विभिन्न प्रलोभनमा तीन वर्षदेखि यौनदूराचार गरीरहे। यसैका कारण अहिले पीडितको मानसिक अवस्थासमेत खल्बलिएको छ। 

‘पीडित किशोरी उजुरीका लागि जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालयमा धाइरहेकी रहिन्। १५ दिनपछि बल्ल प्रहरीले जाहेरी दर्ता ग¥यो तर पनि दोषिलाई कारवाही गर्न कुनै चासो देखाएको छैन’, संयोजक रायको भनाइ छ।

पीडित किशोरीले यसअघि न्यायका लागि गाउँ–समाजमै जानकारी दिएपछि गाउँमै पञ्चायतीको माध्यमबाट मिलापत्र गराउने कुरा भएको अधिकारकर्मी रायले बताइन्। 

उनले भनिन्, ‘घटना सार्वजनिक भएको एक महिना बितिसक्दासमेत पीडित न्यायका लागि दिनहुँ जिल्ला प्रहरी कार्यालय धनुषामा धाइरहेकी छिन्। दर्ता भएको उजुरीमा पनि प्रहरीले घटनाको ढाकछोप गर्नतर्फ प्रयास गरेको छ।’ 

संगठनकी अभियन्ता रुवी झाले बालिका १४ वर्षको उमेर हुँदादेखि नै बलात्कार भइरहेको अहिले उनको मानसिक अवस्था बिग्रिएको बताइन्। 

‘परिवारजन उपचार गराउन लागिपरेका छन्। न्यायमा राजनीतिक चलखेल अधिक भएकाले यस्तो अवस्थामा सरकारको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ’, उनले भनिन्, ‘हाम्रो मुख्य माग नै बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था गर्नका लागि हो।’ 

अहिले यस्ता घटना देशव्यापी रुपमा बढ्दै जाँदा महिला अब कतै सुरक्षित छैनन्। संगठनमा आवद्ध प्रदेश २ का युवा मिलेर अब प्रत्येक जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने योजना रहेको उनले बताइन्।

प्रकाशित मिति: : 2020-10-05 18:08:00

प्रतिकृया दिनुहोस्