सप्तरीको अग्निसाइर कृष्णसवरण–१ घोंघीदाहाका ४९ वर्षीय उमाकान्त चौधरी १२ वर्षसम्म गोठमा गाईबस्तुजस्तै बाँधिएका थिए।गाईबस्तुको दाम्लो चराउन लैजाँदा खोलिन्थ्यो। तर, मानसिक रोगबाट पीडित चौधरीलाई बाँधिएको साङ्लो खोलिएन। बेला–बेला खोलिदिऊँ झैं लागे पनि ‘अप्रिय घटना’ हुने डरले २०६३ सालदेखि उनलाई बाँधेर राख्नु परिवारको बाध्यता थियो।
तर, उनै चौधरी गाउँ छाडेको २० महिनापछि बुधबार साँझ फरक पहिरन र पहिचानका साथ झुल्किए। विगतमा वर्षौंसम्म छिछि दूरदूर गर्ने छिमेकीले उनलाई स्वागत गरे।स्थानीय वृद्धवृद्धाले ‘मलाई चिन्यौ’ भनेर सोध्दा उनी मुस्कुराए। तब नामै किटेरजवाफ फर्काए। साना नानीहरूको टाउकोमा हात राखेर मायाले सुम्सुम्याए। वृद्धवृद्धासामु झुके। ‘आफ्नो घर देखाऊ’ भन्दा उनले चारैतिर नियाले अनि सरासर घरमा प्रवेश गरे।
मानव सेवा आश्रमका अभियन्ताले दिएको माया र सम्मानले उनमा यस्तो सकारात्मक परिवर्तन आएको हो। ‘उमाकान्तमा आएको परिवर्तनको खास कारण नै माया र सम्मान हो’, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले उमाकान्तलाई परिवारको जिम्मा लगाउँदै भने, ‘उमाकान्त औषधोपचारले शारीरिक रूपमा स्वस्थ्य भए। प्रेमले आशा र विश्वासलाई शक्ति प्रदान गर्दा मानसिक रूपले ठीक भए। मानिस भोकले मर्न धेरै समय लाग्छ। तर, माया र सम्मानबिना एकै क्षण पनि बाँच्न कठिन छ।’
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले माया र सम्मान नपाउने व्यक्तिमा डिप्रेसन देखिनेबताए। ‘जीवनप्रति नैराश्य तथा एक्लोपन हुन्छ। बेलैमा सही व्यवस्थापन गर्न सकिएन भने मानसिक समस्या आउँछ। माया र सम्मान नपाउनेले नै आत्महत्यासमेत गर्ने गर्छन्’, डा. झाले उमाकान्तको परिवारसँग पुनर्मिलनका क्रममा भने।