डलर देखाई लुटपाट गर्ने दुईजना पक्राउ

प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ।

मंगलबार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सिसिको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एकजनालाई डलर साट्ने बहानामा बाँकी लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुईजनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गएको साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा न–५ मा साउन १९ गते चार लाख, वडा–२ मा गत भदौ ३१ गते पाँच लाख, वडा–९ बोडेमा यही असोज ६ गते नौ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-30 08:20:13

प्रतिकृया दिनुहोस्