चित्रकार रञ्जु यादवले मिथिला चित्रकला मार्फत तराईको समाजका विसंगति औंल्याउँदै परिवर्तनका लागि सन्देश दिंदै आएकी छिन्।
मिथिला क्षेत्रका घरहरूको विशेषता हो, भित्तामा परम्परागत चित्रकला। ढोका दायाँ–बायाँ बनाइने मोख चित्रका साथै भित्ता नै ढाक्ने गरी बनाइएको चित्रले विशेष आकर्षण थप्छ।
संस्कृति र साहित्यमा धनी मानिने मैथिली समाज चित्रकलामा झनै समृद्ध छ। मैथिल महिलाहरुले धार्मिक तथा सांस्कृतिक अवसरहरूमा आफ्नो कला भित्ता र आँगनमा बनाइने यस्ता चित्रमा खन्याउँछन्। चाडबाडमा मात्र होइन, विवाह जस्ता शुभ कार्यमा पनि यस्ता भुइँचित्र र भित्तेचित्र बनाउने परम्परा छ।
मिथिलाको यही परम्परागत चित्रकलालाई चित्रकार रञ्जु यादवले क्यानभासमा उतारिरहेकी छिन्। २०६८ सालबाट व्यावसायिक रुपमा चित्र बनाउन थालेकी उनले चित्र मार्फत महिला सशक्तिकरण, तराईमा हुने बालविवाह, दाइजो प्रथा, भु्रणहत्या जस्ता सामाजिक कुरीतिको विषय उठाउने र सामाजिक सन्देश दिने गरेकी छिन्।
मैथिली चित्रकलामा विभिन्न सांस्कृतिक तथा धार्मिक कथा भनिएको हुन्छ। रञ्जुका अनुसार, ती चित्रकला मार्फत कृष्ण लीला, राम–सीताको कहानी भनिन्छ।
रञ्जुको चित्रकारिता यात्राको पृष्ठभूमिमा भित्ते चित्रकला नै जोडिएको छ। सप्तरी पटेरवाको थलाहामा जन्मेकी उनको घरमा हजुरआमा, आमा, काकीहरु चित्रले घर सजाउँथे। त्यसैले उनी पनि सानैदेखि त्यो काममा सहभागी भइन्।
बुवा बितेपछि काका–काकीसँग राजविराजमा बसेकी उनले त्यहाँ आफ्नो चित्रकला निखार्ने मौका पाइन्। किनभने चाडबाडमा चित्रकला बनाउने जिम्मा उनैले पाउँथिन्।
मैथिली समाजमा हरेक महिलाले झैं रञ्जुले पनि परम्परा धान्न चित्रकला सिकेकी थिइन्। परम्परागत चित्रकलालाई व्यावसायिक बनाउन सकिनेबारे उनले मेसो नै पाएकी थिइनन्। उनी जागिरको खोजीमा थिइन्।
स्नातक उत्तीर्ण गरेपछि लोकसेवा आयोगको परीक्षाको लागि तयारी थालिन्। २०६७ सालमा विवाह भयो। विवाहपछि एक पटक लोकसेवाको परीक्षा पनि दिइन्। तर, नाम निस्किएन।
विवाहपछि काठमाडौं आएकी उनको जीवनको बाटो मोडियो।
उनले घरको भित्ता, आँगनमा बाहेक कपडामा पनि विभिन्न बुट्टा भर्न सिकेकी थिइन्। उनले कपडामा थरीथरी बुट्टा भरेर कोठाका टेबल र पलङ सजाउँथिन्। कोठाका भित्ताहरु पनि मिथिला चित्रकलाले सजिएका हुन्थे।