पूर्वीय समयअनुसार आज साँंझ ९ बजे अमेरिकामा पहिलो प्रेसिडेन्सियल डिबेट हुँदैछ। यसपालिका लागि निर्धारित तीन बहसमध्ये यो पहिलो वहस हो। बहस ओहायो राज्यको क्लिभल्याण्डस्थित शिला एण्ड एरिक स्याम्सन पेभिलियनमा हुनेछ। यो आयोजनास्थल क्लिभल्याण्डकै ब्राण्ड मानिने क्लिभल्याण्ड क्लिनिकको एक हिस्सा हो।
कोरोना कहरले बिना दर्शक आयोजना हुन लागेको ९० मिनेटको यो बहसको मोडरेटर फक्स न्युजका एंकर क्रिस वालस हुन्। उनी पुरातनवादी टीभी च्यानल फक्सका प्रगतिशील अनुहार हुन्।
आजको वहस अमेरिकाका लागि चीर प्रतिक्षित छ। प्रतिक्षाका अनेक आयाम छन्। त्यसमध्ये पहिलो आयाम, कस्ले जित्छ भनेर ठ्याक्कै भन्न नसकिने अवस्था नै हो। राष्ट्रिय जमत सर्भेक्षणमा बाइडन अगाडि देखिए पनि ब्याटलग्राउण्ड स्टेटको माइक्रो लेवलको चित्र बाहिर आइसकेको छैन। त्यसमा पनि ब्याटलग्राउण्ड स्टेटका मतदाताको मन पल पलमा फेरिरहेको हुन्छ, त्यसले राज्यको रङ नै परिवर्तन गरिदिन्छ। त्यसमा पनि राष्ट्रपति ट्रम्प यस्तो अनिश्चितताको नाम हो कि उनले उनले कुन बेला के बोलेर मतदातालाई कता फर्काउँछन् भन्नै सकिन्न।
दोस्रो आयाम भनेको यो आयोजना भैरहेको बेला उठेका समसामयिक मुद्दा हुन्। केही समय अगाडिसम्म कोभिड १९ नै पहिलो मुद्दा थियो। तर, सर्वाोच्च अदालतकी उदारवादी न्यायाधीश रूथ बाडर ग्रिन्सवर्गको मृत्युपछि उनको स्थान पूर्ति गरिने विषय केन्द्रमा आयो। राष्ट्रपति ट्रम्पले उनको स्थानमा पुरातनवादी एमी कोने ब्यारटलाई मनोनयन गरेपछि उनको नियुक्तिले पार्ने प्रभाव मूलमुद्दा बनेको छ। त्यसलगतै राष्ट्रपति ट्रम्पको करको कुरा चर्चाको शिखरमा छ। यी सबै मुद्दाको केन्द्रमा रहेका ट्रम्प यो वहसमा सहभागी हुने भएकाले पनि यो वहस प्रतिक्षाको विषय बनेको हो।
तेस्रो आयाम भनेको यो बहसमा उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने हो।ट्रम्प बाइडनलाई हाकाहाकी स्लिपी बाइडन भन्थे, केही समययता स्लो जो भन्न थालेका छन्। बाइडनले फुर्ति देखाउने औषधी खाएको भनेर उनको स्वास्थ्य परिक्षण गर्नुपर्ने चुनौति पनि दिएका थिए ट्रम्पले। तर, बाइडनले त्यो चुनौति स्वीकार गरेपछि उनी रक्षात्मक बन्न पुगे।
चौथो आयाम भनेको यो बहसमा ट्रम्पले कति झुट बोल्छन् भन्ने पनि हो। उनले झुटो बोल्नमा महारथ नै हासिल गरेका छन्। उनकै कारणले अमेरिकाका मूलधारे मिडियाले फ्याक्ट चेक कै अविष्कार गरे। तर, पनि उनी मिडियातिरै चोरऔला ठड्याउँदै भनिरहेका हुन्छन्, फेक न्युज, फेक मिडिया।
पाँचौ आयाम, ट्रम्पको अनिश्चितता हो। उनी कुन बेला के बोल्छन् भन्नै सकिन्न। ट्रम्पले के बोल्छन् भन्दा पनि के बोल्दैनन् भन्ने नै नजीर बसिसक्यो। त्यसैले पनि आजको बहस प्रतिक्षाको विषय बनेको छ।
यो बहसको प्रस्तुतिले केही प्रश्नहरूको उत्तर खाोज्छ; जस्तो कि- समसामयिक मुद्दा कसरी अगाडि बढ्छन् ? यी मुद्दालाई आम मतदाताले कसरी लिन्छन् ? ती मुद्दामा राष्ट्रपतिका उम्मेद्वारको धारणालाई खासगरी तटस्थ मतदाताले कसरी लिन्छन् ? त्यसमा पनि ब्याट्टल ग्राउण्ड स्टेटसका मतदाताको मुड परिवर्तन हुन्छ कि हुन्न ?
अमेरिकामा रहेका अधिकांश नेपालीका लागि प्रेसिडेन्सियल डिबेट अझै पनि खासै रूचि र पहुँचको विषय बनिसकेको छैन। यसका केही आधारभूत कारण छन् । पहिलो त धेरैसँग नेपालीले अमेरिकी मूलधारका च्यानल नै सब्स्क्राइब गरेका हुदैनन्। इन्टरनेट राखेर युट्युवमै उनीहरूको टीभीको संसार चलाइएको हुन्छ। दोस्रो, धेरैको त हेर्ने समय र परिवेश पनि मिल्दैन। तेस्रो, भाषाको तगारो छ। चौथो, उनीहरूका लागि यो प्राथमिकताको विषय नै पर्दैन। तर, पनि यो यथार्थ स्विकार गर्न गाह्रो छ नेपालीलाई।
अमेरिकी मिडियाले संसारभर एउटा छाप छोडेका छन्, त्यो के भने अमेरिकामा राजनीति शुद्ध छ, यहाँका मानिस राजनीतिक चेतनाले भरिपूर्ण छन्, यहाँ अभ्यास गरिने राजनीति नै मानक हो। तर, यथार्थमा त्यस्तो केही हैन। यहाँ राजनीति सङ्लो छैन, यहाँका अधिकांश मान्छेमा राजनीतिक चेतना नै छैन। यहाँ पैसामुखी राजनीति हुन्छ र त्यो गएर कर्पोरेटमा जोडिन्छ। अझै पनि यहाँको राजनीतिमा काला र गोराको विभेद छ, महिला र पुरूषको विभेद छ, धनी र गरीवको विभेद छ। अझ गजबको कुरा त यहाँ बहुमत ल्याउनेले हैन इलेक्ट्रोल कलेज मत २७० प्लस ल्याउनेले जित्ने अजब गजबको परिपाटी छ।
यो पंक्तिकार अमेरिकी नागरिक हैन, नेपाली नागरिक हो। त्यसैले उसलाई यहाँ मतदान गर्ने अधिकार छैन। तर, अमेरिकामा नेपालीमूलका हजारौ अमेरिकी नेपाली छन् र उनीहरू मतदानका लागि योग्य छन्। तर, पनि जति नागरिक छन्, त्यति मतदाता छैनन्। किनकि, उनीहरूको नागरिकताको प्रयोजन नै फरक छ। र, कतिपयलाई 'स्युडो नेपाली' देखिन अमेरिकी नागरिक भएको कुरा नै लुकाउनु छ।
अमेरिकामा रहेका अधिकांश नेपालीका लागि प्रेसिडेन्सियल डिबेट अझै पनि खासै रूचि र पहुँचको विषय बनिसकेको छैन। यसका केही आधारभूत कारण छन् । पहिलो त धेरैसँग नेपालीले अमेरिकी मूलधारका च्यानल नै सब्स्क्राइब गरेका हुदैनन्। इन्टरनेट राखेर युट्युवमै उनीहरूको टीभीको संसार चलाइएको हुन्छ। दोस्रो, धेरैको त हेर्ने समय र परिवेश पनि मिल्दैन। तेस्रो, भाषाको तगारो छ। चौथो, उनीहरूका लागि यो प्राथमिकताको विषय नै पर्दैन। तर, पनि यो यथार्थ स्विकार गर्न गाह्रो छ नेपालीलाई। सामाजिक सञ्जाल र जुमको पहुँचले हिजोआज जो पनि पत्रकार र विज्ञ हुने जमाना आएकाले हिङ नभए पनि हिङ बाँधेको टालो बढी नै चल्न थालेको छ। यो बेग्लै कुरा हो।
यो पंक्तिकार पनि अमेरिकामा रहेको एक आम नेपाली नै हो। फरक यति हो, ऊ 'म्याग्निफाइड ट्रुथ'मा विश्वास गर्दैन। यथार्थको धरातलमा बसेर ऊ अहिले यति मात्र भन्न सक्छ, आज राति हुने पहिलो प्रेसिडेन्सियल डिबेटको अमेरिकामा व्यग्र प्रतीक्षा छ । कारण अनेक होलान् तर पनि मूल कारण ट्रम्पले के बोल्लान् भन्ने नै हो। किनकि उनी जे पायो त्यही बोल्नमा महारथि नै हुन्। शायद यतिबेला आम अमेरिकीको मनमा एउटै कुरा खेलिरहेको होला, ट्रम्पले 'स्लो जो' भन्लान् कि नभन्लान् ?