रहेनन् चर्चित गायक एसपी बालासुब्रमण्यम, कोरोनाका कारण ५४ दिनपछि निधन

भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको शुक्रबार निधन भएको छ। उनी ५४ दिनदेखि कोरोना संक्रमणसँग लडिरहेका थिए। 

७४ वर्षीय गायकको दक्षिण भारतको चेन्नईस्थ्ति एमजीएम अस्पतालमा बिहान निधन भएको उनका छोरा चरण एसपीले जानकारी दिए। 

कोरोना संक्रमणका कारण उनलाई ५ अगस्ट अस्पताल भर्ना गरिएको थियो। साथीभाई माझ बालुको उपनामले परिचित उनले पछिल्लो ४८ घण्टा निकै कस्ट खेपेको परिवारले बताएको छ। उनी आईसीयूमा भर्ना थिए। 

भारतको चर्चित सम्मान पद्मश्री र पद्मभूषणबाट सम्मानित बालुले ६ भाषामा ४० हजारभन्दा बढी गीत गाएका थिए। 

बलिउडमा उनको आवाजले कमल हसन, सञ्जय दत्त र सलमान खान स्थापित हुन सफल भएका थिए। सागर, एक दुजे के लिए, साजन, मैने प्यार किया र हम आपके हैं कौन जस्ता सुपरहिट फिल्ममा उनले गजबको गीत गाएका थिए। 

उनले ५ अगस्टमा इन्स्टाग्राममा आफ्ना शुभचिन्तकलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। 

४ जुन १९४६ मा आन्ध्र प्रदेशको नेल्लौरमा जन्मिएका बालुको पुरा नाम श्रीपति पण्डितराध्युला बालासुब्रमण्यम हो। उनले फिल्ममा डेब्यु १५ डिसेम्बर १९६६ मा तेलुगु फिल्म श्री श्री श्री मर्यादा रामन्नाबाट गरेका थिए। 

सन् १९८० मा रिलिज फिल्म संकराभारनामबाट उनले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेका थिए। यो फिल्मको गीतका लागि उनलाई पहिलो राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। 

१९६९ मा बालाले पहिलो तमिल गीत एयर्कई एन्नुम इलाया कन्नी रेकर्ड गरेका थिए। यो फिल्ममा तलिमका सुपरस्टार जैमिनी गणेशन समावेश थिए।

येसुदासपछि बालु राष्ट्रिय पुरस्कार जित्ने दोस्रो पुरुष गायक हुन्। येसुदासले ८ पल्ट राष्ट्रिय पुरस्कार जितेका थिए भने बालुले ४ भिन्न भाषामा ६ वटा राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। 

५० वर्ष लामो गायन जीवनमा उनले तेलुगु, तमिल, कन्नड, हिन्दी र मलयालम भाषामा गीत गाएका थिए। उनलाई भारत सरकारले सन् २००१ मा पद्मश्री र २०११ मा पद्मभूषणबाट सम्मानित गरेको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनले भारतीय संस्कृतिमा ठूलो धक्का लागेको बताएका छन्।

प्रकाशित मिति: : 2020-09-25 17:42:59

प्रतिकृया दिनुहोस्