डेढ दशकअघि वरिष्ठ पत्रकार भैरव रिसाल एक अभियानका लागि निकै चर्चित थिए। त्यो अभियान थियो –हुम्लामा उज्यालो।
रिसाल २०२८ सालमा हुम्ला गएका थिए। त्यहाँको गरिबी, विपन्नता र अँध्यारो देखेर उनलाई दिक्क लाग्यो। ‘के गर्न सकिएला त’, उनी सोच्दै थिए। पञ्चायती व्यवस्थामा काम गर्न सजिलो थिएन। फेरि एक्लै गरेर पनि नहुने।
मनको एक कुनामा रहेको उनको इच्छाले मूर्तरुप लियो– जब उनको भेट जीवनबहादुर शाहीसँग भयो।
यो वि.सं. २०६० माघको कुरा हो। शाही त्यो बेला हुम्ला जिल्ला विकास समितिको सभापति थिए। उनी पनि त्यस्तै केही काम गर्न चाहन्थे। दुवैको मन मिल्यो र सुरु भयो– हुम्लामा उज्यालो अभियान।
रिसालले काठमाडौंमा पैसा जुटाउन सुरु गरे– प्रतिव्यक्ति चार हजार। शाही हुम्लाका स्थानीयलाई उज्यालोको निम्ति तयार गर्न थाले।
‘त्यो उज्यालोमा बस्नेले अँध्यारोमा बस्नेको घरमा उज्यालो पु¥याउने अभियान थियो’, डेढ दशकअघिको उज्यालो हुम्लाबारे रिसाल भन्छन्।
तीनवटा बत्ती बल्ने एउटा सोलार जडान गर्न २० हजार रुपैयाँ लाग्थ्यो। रिसालले उज्यालोमा बसेका व्यक्तिहरुसँग ४ हजार उठाउन सुरु गरे। नेपाल सरकारले १० हजार रुपैयाँ अनुदान दियो। सोलार खरिद गरेको कम्पनीले नाफा खाएन। बरु थप छुट दियो।
यो अभियान पाँच वर्ष चल्यो। कतिले दुई लाखसम्म दिए। यस अवधिमा रिसालले २२ लाख उठाए। जसबाट हुम्लाका ५५० घरमा उज्यालो पुग्न सम्भव भयो।
चाख लाग्दो विषय त के थियो भने रिसाललाई काठमाडौंमा पैसा खोज्नेभन्दा शाहीलाई हुम्लामा बत्ती बाल्ने मान्छे तयार गर्न गाह्रो थियो। ‘उनीहरु उज्यालो बत्ती बाल्न तयार हुँदैनथे’, रिसालले भने, ‘नागरिकता चाहिने, तालिम लिनुपर्ने जस्ता झन्झट थिए।’
जब गाउँका घरघरमा उज्यालो पुग्यो, सबैभन्दा खुसी ती नानीबाबुहरु भए जसले सल्लाको खोटो प्रयोग गरेर बत्ती बाल्थे र त्यसैको उज्यालोमा पढ्थे।