गाडीमा यात्रारत रहँदा एउटा यात्रुले प्रश्न गरे –‘भोलि सम्बिधान दिवश हैन ?’ मैलै हो भन्न नपाउँदै एक्कासी ब्रेक लाग्यो गाडीको । एक जना प्रहरी जवान देखिए गाडी छेवैमा । चालकलाई झपार्दै भने पचास प्रतिशत भाडा बढी लेऊ यात्रु कम राख भनेको हैन । चालक हात जोड्दै भन्न थाले – ‘भोलिदेखि गल्ति दोहरिन्न सर ।’ यस्तै प्रकारले एक छिन तिनका झपार्ने र अनुनयविनय गर्ने काम चलिरहे । सत्र अठार जना बोकेको भ्यानमा जम्मा चारजना यात्रु मात्र थियौं माक्स लगाएका । देखेनन् ती जवानले माक्स नलगाएका यात्रुहरु ।
गाडी अलि अगाडी पुगेपछि चालकले सुनाए – दशैं आउँदैछ पैसा खानलाई हुन् । बेलुकी दिनु पर्ला सय पचास रुपैया । गाडीबाट झरेर भाडा तिर्दा एक सय पचास लिनु पर्नेमा दुई सय लिए । किन दुई सय भाइ –जिज्ञाषापूर्वक सोधेँ । ‘अघि पुलिसले भनेको सुन्नु भएन’–झोक्किदै उत्तर दिए तिनले । त्यसको लागि त तिमीले पनि थोरै यात्रु बोक्नु पर्दैन र ? सानो भ्यानमा बीस पच्चिस जना यात्रु भेडा बाख्रा कोचेझैं कोचिदिन्छौ अनि भाडा पनि बढी ? बोल्दै नबोली गाडी दौडाए तिनले । हेरिरहेँ तिनले गाडी दौडाएको । सोचिरहे यही हो गणतन्त्रमा गएको देशको अवस्था । मसँगै आएका एकजना यात्रु भनिरहेका थिए – ‘यहाँ यस्तै छ । पुलिससँग गुनासो गरुँ के के मिलाउछन् एकछिनमै छोडिदिन्छ । चालकलाई झपारुँ गाउँमा जाने गाडी कम छन् भालिदेखि सजिलैसँग भनिदिन्छन् ठाउँ छैन ।’
हिजो आज सक्नेले रबैया चलाएकै छन । समाजको थिचोमिचो र छुवाछुतका डरलाग्दा पर्खालहरू अग्लिएकै छन् । बलियकि खानी डोटी अर्थात बलियाले भोग गर्न सक्ने डोटी राज्य भन्ने लोकोक्ति सम्झिएँ । बाइसे चौबिसे राज्य अन्तर्गतको डोटी राज्य भौगोकि हिसाबले र शक्तिकेन्द्रका हिसाबले ठूलो थियो । जहाँ बलियाहरुको हैकम चल्दथ्यो । त्यस्तै टाठाबाठा र बलियाहरुकै हैकम चलिरहेको छ अहिले देशमा । गरिब गुरुवा कतै पहुँच नपुग्नेहरुका लागि कुन चरीको नाम हो सम्बिधान स्वतन्त्रता, सार्वभौम सत्ता अनि गणतन्त्र भनेको ।
पुस्तौनि हलिया बनेका शिखर नगरपालिका ९ डोटीका मनुवा भुल सुनाउछन्–१० वर्षको उमेरमा गोसाइका जिम्मा लगाएको हो मलाई हली बन्न । पछि मेरो बिहे भयो । ससुराले मेरी श्रीमतीलाई गोसाइका घरमा लगेर भनेका हुन्– ‘गोसाई मैले मेरी चेली तमरा जिम्मा दिएको हुँ । यै नानी मलाई(केटी) सम्हाल्ने हौ कि नाई ?’ म दश वर्षको नपुग्दै बुवा बिते । बाजे चेलो मरेको शोकमा चिन्ताले उसाइ सुस्ताए । केही वर्ष पछि मात्र मैले सुरु गरेको हँु हलेटी लगाउन । राणाकाल देखे । पञ्चायत देखे । यो के के तन्त्र भन्नु पनि देखे । अहिले पनि उसाइ दिन छन् हाम्रा लागि त । खानलाउन उसोइ समस्या । अर्काकै काम गर्नु पन्र्या या देश जानु पन्र्या । हामी गरिब तल्लो जातकालाई को हेरन्छ र ? दुई वर्ष अघि लडेर खुट्टो भाँचिएका मनुवा अरुको अधिया बनाउछन् । हलो जोत्छन् । खुट्टा दुख्दा हलो जोत्न छोडेर एक छिन खेत पाखामै आराम गर्छन् । पाएका छैनन् उनले कुनै व्यवस्थामा केही तात्विक भिन्नता ।
शिखर नगरपालिका ११ डोटीकी पशुपति दमाई भन्छिन् – विधवा हँु । एक्ली छु । अर्काको जमिनमा नानो(सानो) झुपडी छ । अरु केइ छैन । बाख्रा पालन गरेर गुजारा चलाउथे नानु (सानो) सहयोग पाए हुन्थ्यो भनिबर धेरै भने नगरपालिकामा गएर । हुन्छ गरौंला भन्दा जतिपल्ट गयो । तर दिनानइ । कसैले केही दिएइन हलिया मुक्तिको पैसा पनि पाएइन ।
मनुवा र पशुपति प्रतिनिधि पात्र मात्र हुन् । कैयौ छन दुखको भारी बोकिरहेका अभाबको च्यादर ओढीरहेकाहरु । स्थानीय तहदेखि केन्द्रसम्मका नब सम्राटहरु लाखौ करौडौका गाडीमा हुइकेका छन् । आआफ्ना मानछेलाई छानी छानी ठेकापट्टा दिइरहेकै छन् कमिसन खाएकै छन् । सिंहदरबारमा स्याल र मुसाको बिगबिगी छदै छ । शिरानीको गीतले भनेझैं गतिला मानदार मान्छे लुकेर बसेका छन् । तथापि न्याय मरेको मुलुकमा बसेर सुन्नु परेको छ देशमा लोकतन्त्र छ गणतन्त्र छ भनेर छोराछोरीले पढेको ।
जब गयो वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा तब सिंहदरबारदेखि गाउँसम्मै मौलायो मलजल पाएको बिरुवाझैं भ्रष्टाचार । अख्तियार अनुशन्धान आयोगमा पछिल्लो समयमा भ्रष्टाचार सम्बन्धी स्थानीय तहमै २६ प्रतिशत उजुरी परेका छन् । यसरी उजुरी पर्नेमा स्थानीय तह सबैभन्दा अग्र पंक्तिमा छन् भने भ्रष्टाचारको उजुरी पर्नेमा शिक्षा क्षेत्र दोश्रोमा छ । देशको दक्ष इमान्दार, सक्षम र देशभक्त जनशक्ति तयार पार्ने निकायमै भ्रष्टाचारका घटना चुलिन थाले पछि के अर्थ रहन्छ कुनै दिवश मनाउनुको ।
हरेक व्यक्तिले आफ्नो अतित र वर्तमानको समय सीमालाई मनन् गरिरहेकै हुन्छ । विगतदेखि वर्तमानसम्मका दृश्य परिदृश्यहरुको परिवेक्षण गरिरहन्छ मान्छे । जिन्दगीका कतिपय मोडमा ऊ कतै उमङ्ग समेट्छ, कतै भावुक बनिदिन्छ, कतै आँसु चुहाउछ । संवेदनशिलता भएका मनहरुको कुरा गर्दै छु म । ढुंगाहरुको त मन नै कहाँ हुन्छ र । तिनको न विगत दुख्छ न त वर्तमान नै । तिनको जिन्दगी त चाकडी गर्न नपाउदा, दलाली गर्न नपाउदा, घुष खान नपाउदा दुख्छ होला । तिनको जिन्दगी त मात्र पैसामा, सम्पत्तिमा त्यही सम्पत्तिका लागि झुण्डिरहेको हुन्छ । पितापुर्खाको गौरव, स्वाभिमान र इमानदारिताको पकडी उतारेर बेइमानी, आडम्बर र पाखण्डताको श्रीपेच भिर्दै जीवन्तताहीन जिन्दगी बिताइरहेका सम्राटहरुको सहरमा नजान सल्लाह दिन्छिन् देउसरा । म उत्तर फर्काउछु – ‘अब त गाउँ समाज पनि ती सहर जस्तै दुषित भैसके । यहाँ जाँड रक्सी चुरोट गन्हाउछ बिहानैदेखि । सबैभन्दा बढी गनआउन थालेका छन् भ्रष्टाचारीहरु । कतै छैन जीउधनको सुरक्षा, छोरीबेटीको सुरक्षा । न्याय मरेको देश बन्यो देउसरा बिकासको त कुरै छोडौं ।’
कला संस्कृतिदेखि हरेक दृष्टिले महत्व बोकेको उपत्यका लगायतका ठाउँहरु अप्रिय छैनन् उनको दृष्टिमा पनि । पवित्र ठाउँलाई दूषित तुल्याउँदै आए विगतदेखिका कतिपय सम्राटहरुले । यतिखेर सम्राटै सम्राटले भरिएको छ काठमाडौं । मुकुण्डो पहिरेर नवसम्राट बन्न तम्सेका देखि कालोबजारी गर्ने, भित्र चाकडी चाप्लुसीमा चुर्लुम्म डुबेर बाहिर फाइफुट्टि गर्ने र सडकमा हैकम मचाउने सम्मका कयौं छन् सम्राटहरु । सबैभन्दा ठुला सम्राट उनै छन जो चुनावका बेला गाउँघरमा निर्लज्ज भएर ठुलाठुला सपना बाँड्छन् । साम, दाम, दण्ड, भेद सबै बिधि अपनाएर चुनाव जित्छन् अनि वर्षौसम्म फिर्दैनन् गाउँमा । घुष खान्छन् । जनता ढाँट्छन् । मात्र आश्वासनको इन्द्रेणी फिजाउछन् ।
एउटा चाइनिज उखान छ – ‘माछा नदेऊ माछा मार्न सिकाइ देऊ ।’ यो देशमा ठिक उल्टो छ काम सिकाइदैन । इमानदारिता र स्वाभिमानको पाठ पढाइदैन सिकाइन्छ त केवल घुष खान । पैसा कमाउन । भौतिकवादमा रमाएर कुकृत्यमा सरिक हुन ।
कुराकानीकै सिलसिलामा छुट्टिदा सोधेकी थिइन देउसराले – तमी तिनी गोसाइहरुका सहरमी और के के काम गद्दा छौं ? वर्षमा पाँच छ महिना बिद्यार्थीलाई पढाउने काम पनि गरन्छु – मैले उनको प्रश्नको उत्तर दिएर बाटो लाग्न खोज्दा ठट्टा गर्दै मसुक्क मुस्कुराउँदै भनिन् अरु जेजे पढाउदा छौं जेजे सिकाउदा छौं विद्यार्थीलाई घुष खान जन्सिकाया(नसिकाउनु) है ।
हाँसो ठट्टा गर्ने हिसावले भनिएको उनको त्यो वाक्य निकै नै गम्भीर थियो । पछिल्लो समय पढालेखाहरुबाटै बिग्रिरहेको छ गाउँ समाज र देश । समाज र राष्ट्रका अगुवा भनाउदाहरु तिनीसँग पहँुच पुग्नेहरु नै गरिरहेका छन् बदमासी । छैन कसैको केही डर तिनलाई । न्यायालय समेत खल्तिमा बोकेर हिँड्ने दलाल माफियाहरुको बिगबिगी छ चारैतिर । कानुनि राज्यको आभास हुन सकेको छैन जनतामा ।
केही दिन अघि गाउँको कच्चीबाटोमा सार्वजनिक गाडीमा यात्रारतरहँदा सुनिएको थियो एउटा बाक्य – ‘हामी न दोश्रो पटक टिकट पाउने हौं न त जित्ने नै । पाँच वर्षको पिरियडमा कैलाली घडेरी किनेर घर बनाउन पाए पुग्यो । धेरै आश गर्नु पर्ने केही छैन ।’ त्यसरी हाकाहाकी निर्लज्ज पाराले भनिदिन्छन् स्थानीय सरकार चलाउनेहरु ।
अधुरो र उधारो भविष्य बाँच्न बाध्य तुल्याउँदै छन् सम्राटहरु जसले वर्तमानलाई समेत बेचैन बनाइरहेका छन् । तिनले मिल्दैनथ्यो आफुलाई बिर्सिन । हुँदैनथ्यो आफ्नो विगत बिर्सिन । राज्यमा गरिब जनता कोही मजबुर छन् कोही मजदुर छन् । तिनका दर्दनाक कहानी छापिएकै छन् पत्रपत्रिकाहरुमा । तिनका निद सुस्ताए भोक छटपटाए । सधै अभावमै बित्न थाले दिनहरु । यो देशका सम्राटले स्वार्थ,अतङ्क र भ्रष्टाचार बाहेक जन्माउन सक्थे धेरै कुरा । चाहेनन् केही गर्न । सम्बिधानका अक्षरहरु निरिह बनिरहे कागजका पानाहरुमै टासिएर । हामी वर्षैपिच्छे भनिरहयै असोज तीन गते सम्बिधान दिवश भनेर ।