सुशान्त आत्महत्या प्रकरणमा संगीतकार रोमलका भनाई– उनी गरिबका लागि एप बनाउँदै थिए

अभिनेता सुशान्त सिंह राजपूत आर्टिफिसियल इन्टेलिजेन्ट (एआईं) मा आधारित एउटा एप निर्माणमा सक्रिय भएको जानकारी डेनमार्कको संगीत क्षेत्रमा कार्यरत एरियन रोमलले दिएका छन्। 

उनले भारतको एउटा न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा गत वर्ष आफ्नो भेट सुशान्तसँग भएको र उनी गरिबहरूको शिक्षा तथा स्वास्थ्यका लागि एउटा एप तयार गर्ने अभियानमा रहेको बताएका छन्। उनले सुशान्त ‘डिप्रेसन’ तथा बाइपोलार भएको आरोपको खण्डन गरेका छन्। उनले सुशान्तलाई आफूले भेट्दा ड्रग्स त टाढाको कुरा, रक्सीलाई पनि हात नलगाएको बताए। 

रोमलले आईएएनएस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, ‘गत मार्च–अप्रिलमा मुम्बईको एउटा पार्टीमा उनीसँग भेट भएको थियो। हामीले टेक्नोलोजीको विषयमा लामो कुराकानी गर्यौं। उनले भारतको गरिबहरूका लागि एउटा एप बनाइरहेको बताएका थिए। मलाई लाग्छ, त्यो उनले बनाएको हुनुपर्छ।’ 

सुशान्तको १४ जुनमा शंकास्पद अवस्थामा निधन हुनुअघि ८ जुनमा उनको कम्प्युटरबाट आठ वटा हार्डडिस्कमा डेटा सारिएको थियो। यसको बयान घरमा काम गर्ने सिद्धार्थ पिठानीले केन्द्रीय जाँच एजेन्सी (सीबीआई) लाई दिएका थिए। 

‘उनले आफ्नो योजना मलाई सुनाएका थिए। मलाई लाग्छ, त्यो चोरी भयो होला,’ रोमलले भनेका छन्–‘एउटा फिल्मी कलाकारमा एआईलाई लिएर यति धेरै ज्ञान वास्तवमै अचम्म लाग्ने थियो।’

उनले सुशान्तलाई औसतभन्दा धेरै माथिल्लो सोच भएको मानिसको संज्ञा दिए। उनले पार्टीमा सुशान्त आफ्नो टिफिनको डब्बा लिएर आएको जानकारी पनि दिए। ‘मैले रक्सी पिउन उनलाई धेरै कर गरे। तर, उनले आफू एउटा अभिनयको तयारीमा रहेको र यसले आफ्नो अभिनय प्रभावित पार्ने भन्दै पिउन अस्विकार गरेका थिए। उनले टिफिनमा उसिनेको कुखुराको मासु लिएर आएका थिए,’ उनले भने, ‘उनी एकदममै अनुशाषित मानिस थिए।’

सुशान्तले आत्महत्या गरेको भनाई प्रति आफूलाई विश्वास नभएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-13 11:32:50

प्रतिकृया दिनुहोस्