विश्व स्वास्थ्य संगठनले पेन्डामिक घोषणा गर्दासमेत कोरोना बेसार पानीले निको हुने भन्दै सदनको रोष्टमबाट प्रधानमन्त्रीले अभिव्यक्ति दिए।
चैत ११ गतेदेखि देशमा बन्दाबन्दी घोषणा गरे पश्चात् भयावह स्थिति निम्तिनुमा दुई तिहाइको दम्भ र कार्य कुशलताको कमी प्रष्ट हुन्छ। सरकारले लकडाउन नै पहिलो र अन्तिम हतियार बनाइरहेको छ। पूर्व तयारी गर्न प्रशस्तै समय हुँदा पनि प्रधानमन्त्रीका हाच्छिउँ साच्छिउँले कोरोना हटाउन सकिने अभिव्यक्तिले जनजीवन माथी खेलबाड भएको बुझिन्छ।
उसो त चुनौतीको सामनाले सरकारको कार्यकुशलता प्रदर्शन गर्न सुवर्ण अवसर पनि हो। तर यस्तो पेन्डामिकमा पनि अनियमिताका कुराहरु बेला बेला आइ नै रहेका छन्। विश्व स्वास्थ संगठनको मापदण्डलाई बेवास्ता गरि महंगोमा मेडिकल सामान खरिद गर्नु त्यसमा अनियमिताको गन्ध आउनु सरकार माथि कालो दाग लाग्नु हो।
'समृद्ध नेपाल, सुखी नेपाली' नारा सरकारको असक्षमताले 'समृद्ध नेता, भोका जनता' मा परिणत भयो। २०७६ कात्तिक ४ मा प्रधानमन्त्रीले नागढुंगा- नैबिसे सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै सडक पेटिमा 'सडक मानिस' देख्न नपर्ने भनेको याद ताजै छ। उनले 'अब सडकमा मान्छे हुनै सक्दैन। हरेकको व्यवस्था गरिन्छ। आवास दिइन्छ।' अब ‘नो स्ट्रीट पिपुल’ भनेको केही महिनामै जनता कोरोना कहरले भन्दा भोकले मर्न सक्ने उदाहरण किर्तिपुरमा भारी बोकेर गुजारा गर्ने एकजना मजदुरको मृत्युले दियो। अछाम जिल्ला अस्पतालका कर्मचारीले रोजगारी गुमाउँदा आत्मदाह गरि देहत्याग गर्नु परेको पीडा त सरकारले थाहा नपाएर झैँ गर्यो। काठमाडौंमा मजदुरी गरिरहेका कयौँ मजदुरहरु भोकले मरिने डरले कयौँ माइलको यात्रा खुट्टाले तय गर्न बाध्य भएको घटना पनि सरकार मुकदर्शक बन्यो।
गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब गरिबीका कारणले कोहि भोकै नमर्ने बताएकी थिइन्।
सरकारको निर्णय सुनाउँन सबै हतार गर्नेहरुले त्यसको तयारीमा कहिले हतार नगरेको देखिन्छ। कोहि भोकै बस्न नपर्ने, भोकै मर्न नपर्ने जस्ता अभिव्यक्तिको जवाफ अहिले 'महानगरमा बढ्दै भोकाहरु' शीर्षकको कान्तिपुर पत्रिकाको समाचार र 'परिवर्तनको साक्षी खुलामञ्च: गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै छन्' शीर्षकको नयाँ पत्रिकाको समाचारले नराम्रो गरि दिइरहेका छन्।
बिहानदेखि साँझसम्म भोका पेटहरु काठमाडौंको टुँडिखेल, चितवनको नारायणी नदि किनार, लगायतका देशभरिका स्थानहरुमा प्रहरीको आँखा छल्दै आइपुग्छन्। त्यहाँ सामाजिक क्षेत्रमा सक्रीय केही मनकारी मान्छेहरुले उनीहरुको भोको पेट भरिरहेका छन्। यो दृश्य त्यहीँ नजिकैको बाटोमा झण्डावाल कालो सिसा वाला गाडीमा हुँइकिने जनताका सेवक कहलिएकाहरु उक्त दृश्यलाई देखे पनि नदेखे झैँ गरिरहेछन्। कोरोना कहरमा भोका जनताको पेट भर्ने कुरा भन्दा बढी सरकार कुर्सी बाँडफाँडमा व्यस्त छ।
विश्वमा कोरोनाले प्रभाव पारेपछि नेपालमा भित्रिने रेमिटान्समा पनि प्रभाव पर्यो। उद्योग व्यवसायमा परिरहेको असर अनुमान गर्न गाह्रो छ। कृषकहरु झन् उत्पादन गरेको कृषी जन्य बस्तु नबिक्दा तनाबमा छन्। नेपालको अर्थतन्त्र धेरै मात्रामा परनिर्भर छ।
यस्तो अवस्थामा विश्व अर्थतन्त्रको मारमा नेपालको अर्थतन्त्र पर्नु स्वभाविक हो। भारतमा कोरोनाको प्रभावले पर्ने आर्थिक असर प्रत्यक्ष रुपमा नेपालमा पनि परेको छ। भारत गएर श्रम गर्नेहरुको रोजगारी गुम्नुले नेपालमा निम्न वर्गीय नेपाली समुदायमा प्रत्यक्ष असर पर्यो। खाडीमा काम गर्न जानेहरुको संख्या केही महिना देखि ठप्प छ।
उनीहरुको आयस्रोत पनि निम्न हुन्छ। त्यसको प्रभाव उनीहरुको परिवारमा परिरहेको छ। काठमाडौंलगायत देशै भर सडक मानवमात्रै खानाका लागि लकडाउन प्रभावकारी बनाउन खटिएका प्रहरीका आँखा छल्न बाध्य छैनन्। रोजगारी गुमाएकाहरु पनि त्यसो गर्न बाध्य छन्। यो दृश्य विभिन्न माध्यमबाट सरकारको नजरमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले पुगेकै छ। तर पनि सरकार यो स्थितिको मुल्यांकन गरि रणनीति तयार पार्न तत्पर छैन। यस्तो अवस्था शृजना हुनुले भविष्यमा झन् खतरा आउन सक्ने सम्भावना उत्तिकै छ।
हाम्रो भन्दा बढी आयस्रोत भएको युरोपेली मुलुक इटालीमा मानिसहरु खानका लागि डिपार्टमेन्ट स्टोरबाट जबर्जस्ति सामान उठाउन लागेको, साना पसलहरु लुटिन थालेका दृष्य सामाजिक संजालमा प्रशस्तै हेर्न र पढ्न पाइन्छ। न्यून आयस्रोत भएका, दैनिक ज्याला मजदुरी गर्ने र सहयोगापक्षी सडक मानवहरु कतिन्जेल लकडाउनको पालना गर्लान्? यो प्रश्न गम्भीर रुपले मनन गरिएन र नयाँ रणनीति अपनाइएन भने स्थिति भयावह आउने निश्चित छ।
विश्व स्वास्थ संगठनका केही दिन यताका बिरोधाभाष अभिव्यक्तिहरुले संगठन माथिको विश्वास पनि गुमेको छ। विश्वका केही मुलुकहरुले एकाएक आफ्नो मुलुकमा हुने विश्व स्वास्थ संगठनका गतिविधिहरु रोकेको र उक्त संस्थालाई निषेध गरेको समाचार पनि पढ्न पाइयो। नेपालमा समेत राजनीतिक विश्लेषक भरत दाहाल लगायतले विश्व स्वास्थ संगठनले कोरोना योजनाबद्द तरिकाले चिनबाट सुरुगरेको भनिरहेका छन्। केही देशहरुले लकडाउन खोलेर आफ्ना नियमित गतिविधिहरु सुरु गरेका छन्। नेपाल सरकारले भने लकडाउन गर्न हतार गर्यो तर खतरनाक अल्प तयारीले आज देशका विभिन्न सहरहरुमा बिहान देखि साँझसम्म खानका लागि तड्पिरहेका भोका पेटहरुले सरापीरहेका छन्।
रोगको दृष्टिकोणले लकडाउनलाई विश्वका बहुसंख्यक देशहरुले प्रभावकारी मानिरहेको बेला भोकले त्यसो मानेन। सरकारले आवश्यक रणनीति तयार पार्नु पर्छ भनेर शारीरिक दुरिकायम गरेर सरकार विरुद्ध उत्रिएका नागरिकहरुलाई पानीका फोहोरा र लठ्ठी बजारेर आवाज दवाउन खोजेको उदाहरण विश्वले देख्यो। यी लठ्ठीहरुले त जनताको समर्थन केहि हदसम्म पायो तर उक्त जनस्वीकृति भित्रको भोकले सरकार विरुद्ध जनआक्रोश बढ्दै जाने निश्चित छ। यस्तो आक्रोश दबाउन फेरि सरकारले लठ्ठी नै बजारे भविष्यमा भोकले मर्नेहरुका लागि केही गर्न नसकिने कुराको समर्थन भएको मानिनेछ।
नोट: जसरी अरु रोग लागेर सन्चो भइ सामान्य स्थितिमा पुगिन्छ त्यसैगरी यो रोग लाग्दा समेत सामान्य जीवन जिउन सकिन्छ। तसर्थ संक्रमण भएर निको भएकाहरुको मनोवल उच्च राख्न सामाजिक विभेद नगरौँ। आफू सुरक्षित रहौँ अरुलाई पनि सुरक्षित राखौँ।