याराना पुँजीवादी शैली, राणाकालीन रजगज अभ्यास र मठाधीश पारा देखेर दाह्रा किट्दै चिच्याउने जमात उधुम बढिरहेको छ, सरकारलाई सुइँको छ कि छैन ?
अहिंसावादी नेता महात्मा गान्धीले भनेका थिए, ‘संसारमा सबैको भोक मेट्न सकिन्छ बरु लालच कसैको सकिन्न।’
हाम्रो सत्ता नेतृत्व ठीक उल्टो विपत्तिमा विपन्नको चुलो कसरी बल्दै छ होला भनेर एक निमेष पनि सोच्दैन, बरु भोकाहरू मरिरहून् तर सात पुस्ता पुग्ने अकूत सम्पत्ति कसरी कुम्ल्याउन सकिन्छ भन्ने लालचको गिद्दे नजरमै चुर्लुम्म डुबेको छ।
जब ठूलाठूला सपना चकनाचुर बनाइन्छ, अझ सपनाको हत्या गरिन्छ तब ससाना पहलको पनि ठूलो मूल्य पाइने अवस्थाको नियती अहिले हामीले भोगिरहेका छौं। कोरोना भाइरस नियन्त्रणको निहुँमा लामो लकडाउनले लखतरान परेकाहरूको कारुणिक अवस्था वर्णन गरेर साध्य नै छैन। ‘बिहान खाए बेलुका के खाऊँ’ भन्ने विडम्बनाबाट गुज्रिरहेका लाखौंको संख्यामा रहेका सर्वहाराहरू सत्तारूढ ‘सर्वआहारा’ को तमासामा कसरी निरीह पात्र बनाइएका छन् भनेर हेर्न एकपटक खुलामञ्च, गौशाला, बानेश्वर, लगनखेल, सूर्यविनायकजस्ता उपत्यकाका केही क्षेत्रमा पुगे पुगिहाल्छ। मनकारीहरूले कतिबेला एक छाक खाना देलान् र रात बिताउँला भनेर कुरिरहेका भोकाहरूको मुहार पढ्न एक मिनेट पनि लाग्दैन। त्यसो त सामाजिक सञ्जालमा पापी पेट काटेर देखाउन खोज्नेहरूको ‘भोक सत्य’ को भोजन वर्णनले कसको मन कटक्क पोलेको छैन होला शासकहरूबाहेक ?
खाना वितरणका अभियन्ता कपिलदेव कर्माचार्य भन्दै थिए, ‘भोका र निमुखालाई सेवा गर्न पाउँदा आनन्द आउँछ, तर सरकारको बेवास्ता देख्दा विद्रोही बनाउँछ।’
तिनै अति विपन्न, दैनिक ज्याला मजदुरी, अनौपचारिक क्षेत्रका श्रमिक गत चैतदेखिको लकडाउनसँग लड्न नसकेर श्रमजीवीको गौरव होइन पेटजीवीको सरम स्विकारेर झीनो राहतको लाइन बस्न बाध्य बनाइएका छन्।
अति विपन्नलक्षित राहत कार्यक्रम घोषणाका लागि सरकारलाई रचनात्मक खबरदारी गर्न साझा पार्टीले जारी गरेको खाना वितरण अभियानले थोरै समयमा यति धेरै प्रतिक्रिया, प्रशंसा र सहयोगी हातहरूको साथ पाउनु पनि विपत्मा अभिभावक हुनुपर्ने सरकारको तमासे पारा र निकम्मापनकै कारण हो भन्न सकिन्छ।