भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय

भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। 

 नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं १, रुट नं ७ र रुट नं ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे। 


उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोरबिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेका थिए। तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकाेले यातायात केहि दिन ठप्प पार्ने निर्णय गरिएकाे नगरप्रमुख सुनिल प्रजापतिले बताए।

उनकाे अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ।

 व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगरप्रमुख प्रजापतिको भनाई छ।

कोरोना भाइरस रोग काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ।

भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको नगरपालिकाले जानकारी दिएको छ  ।

प्रकाशित मिति: : 2020-09-11 07:50:19

प्रतिकृया दिनुहोस्