भदौं ११ गते मेरो जन्मदिनको उपलक्ष्यमा चन्दननाथ मन्दिर दर्शनको लागि गइरहेको थिएँ। बाटो सुनसान थियो। एक प्रकारले सन्नाटा छाइरहेको थियो।
कसैका घरका ढोका पनि खुलेका थिएनन्। घरका ढोका बन्द गरेर मानिसहरू घर भित्र बसिरहेका थिएँ। बाटोमा कोही पनि थिएन। म एक्लै गइरहेको थिएँ।
म जुम्ला जिल्लास्थित टुँडिखेल नजिक पुग्दा प्रहरीको बाक्लो उपस्थिति थियो। नेपाल प्रहरी र एपीएफका हातमा लट्ठी र बन्दुक थिए।
साँचिकै युद्वको झल्को दिइरहेको थियो। युद्वमा केवल माओवादीलाई मात्र रोकिन्थ्यो, पिटिन्थ्यो, मारिन्थ्यो। यसले सबको मनमा डर थियो। त्यसबेला बाहिर निस्कँदा प्रहरीले कुट्छ भन्ने डर भए पनि कोरोना लाग्छ भन्ने डर थिएन।
अहिले कोरोनाको डर छ। लामो समय भएकाले होला मान्छे सचेत भइसकेका छन्। कोरनाबाट बच्न साबुन पानीले हात धुनुपर्छ, माक्स लाउनुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ।
म हिँडिरहेको थिएँ उताबाट एउटा प्रहरीको आवाज आयो, ‘ए भाइ कता हिँडेको?’
मैले भने, 'आज मेरो जन्मदिन हो। म चन्दननाथ मन्दिर दर्शन गर्न हिँडेको।’
आवाज एकदमै रूखो तरिकाले आयो, ‘समाचार सुन्दैनस् निषेधाज्ञा छ। बजार प्रवेशमा रोक लागाइएको छ।’
मैले नम्र तरिकाले भने, ‘सर मैले मास्क लगाएको छु। (सानो बोतल सेनीटाइजर देखाउँदै) सेनिटाइजर बोकेको छु। बेला बेलामा प्रयोग गर्छु मलाई जान दिनुस्।’
अर्को एक जना प्रहरीले भने, 'सर जानुहोस्।' मैले धन्यवाद भनेर त्यहाँबाट हिँडे।
म पुग्दा बजार सुनसान थियो। सबै पसल बन्द थिए। बाग्लो उपस्थितिमा प्रहरी झुन्ड झुन्ड बनाएर बसेका थिए।
मलाई मनदेखि नै प्रश्न गर्न मन लायो, प्रहरी, प्रशासनलाई। आफैं सामाजिक दुरी कायम गर भनेर भन्ने अनि आफैं त्यसको उल्लंघन गर्ने किन? कि प्रहरीलाई कोरोना नै लाग्दैन?
कोरोना रोकथामको एउटा मात्रै उपाय लकडाउन हो कि अरू पनि उपाय छन्?
चन्दननाथ मन्दिर पुग्दा मलाई मन्दिर प्रवेशमा रोक लगाइयो। प्रश्न गर्दा माथिको आदेश भनेर टारियो। मलाई कानुनको पालना गर्न भनेर फर्काइयो। म फर्किएँ।
फर्किएपछि बाटोमा एक जना बासँग भेट भयो। उनी आँखाभरी आसु गर्दै प्रहरीसँग बिन्ति गरिरहेका थिए। 'मलाई भारी बोक्न जान दिनुहोस्। भारी बोक्न पाइनँ भने साँझ मेरा परिवार भोकै बस्छन्।’
तर माथिको आदेश मान्नेहरुले विचरा बा का कुरा सुनेनन्। बा रूँदै फर्किए।
यो त एउटा प्रतिनिधि घटना मात्र थियो। विगत ६ महिनादेखि लकडाउन गरिएको छ। तर खै त कोरोना रोकथाम भएको? दिनहुँ एक हजार मान्छेमा कोरोना पुष्टि भइरहेको छ।
कोरोनाले मर्नेहरुको संख्या पनि बढिरहेको छ।
त्यो भन्दा मानसिक तनाव भोक र शोकले मान्छे मरेका छन्। यसको लेखाजोखा खै?
सरकारले दिन दिनै लकडाउन, सिल, निषेधाज्ञा जस्ता अस्त्र प्रयोग गरिरहेको छ।
साञ्चै भन्नुपर्दा नेपाली नेताका र उनका आसेपासेले लगानी गरेका होटल, व्यवसाय खुलेकै छन्। उनीहरुले क्वारेन्टाइनमा खाना, लत्ताकपडा पुगाएर लुटेकै छन्। तर खै गरिबहरूको खाना? खै उनीहरूले काम पाएको?
बुढा बा दिनभरी थाप्लो मासेर आफ्नो र परिवारको पेट पाल्थे। उनको पेटमा सरकारले लकडाउनको लात हानेको छ।
सत्तालाई थाहा छ कि छैन, पशुपतिको गेटमा बसेर आफ्नो पेट भर्ने मान्छे, रत्नपार्कमा नाङ्लोमा सामान राखेर आफ्नो गुजरा चलाउने मान्छेहरू आजकाल कता छन्? मरे कि जिउँदै छन्? केही जानकारी छ?
आफ्नै ओटालो वरिपरिका मान्छेको संरक्षण गर्न नसक्ने मोतिविन्दु लागेको सत्ताको दृष्टि जुम्लासम्म पुग्ने कुरा पनि भएन र आस पनि भएन।
जो बाहिर निस्कँदै प्रहरीको लाठी खान्छन्। डराएर घरभित्रै बसेकाहरू कहिल्यै बाहिर ननिस्कने पो भए कि?
सरकारले भनिदिनुपर्यो आम नागरिक रोगसँग लड्ने कि भोगसँग?
एक जनालाई कोरोना देखियो भने सिल। अर्कोलाई देखियो भने लकडाउनको ढाँचा परिवर्तन। के यी बाहेक अरू उपाय छैनन्?
जुम्लामा डा. केसीले आन्दोलन गर्छु भन्दा निषेधाज्ञा कडाई अरू दिन फितलो। यो कस्तो खालको मनमौजी हो? केसीलाई आग्रह गर्दा कोरोना तिब्र गतिमा फैलियो रे? अनि अरू दिन चाहिँ के भयो नि?
सिडियोलाई कोरोना लागे जनताको सेवा गर्दा गर्दा लाग्यो भनिने, अनि सर्वसाधारणलाई लाग्दा हेलचेक्र्याई? कस्तो विडम्बना?
खासमा सत्ता हामी आम मान्छेलाई निषेधाज्ञाको गोली हानिरहेको छ। जसले हामीलाई मार्नेबाहेक अरू गर्दैन।
(लेखक सामान्य चिकित्साका विद्यार्थी हुन्।)