नरेन्द्रजंग पिटर
मनवीरे सुनार (कालिकोट), सेते दमाईं (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत), श्रेया सुनार (कास्की), रूपमती दास (मोरङ), रेश्मा रसाइली (धनुषा), माया विक (कैलाली), अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक (ताप्लेजुङ) ले ज्यान गुमाए।
अन्तरजातीय प्रेमका सिकार काभ्रेका अजित मिजारको शव दाहसंस्कार लागि न्यायिक संघर्ष ४ वर्षदेखि शिक्षण अस्पतालमा जारी छ। नवराज विकहरूका चीत्कार भेरीका सुसेली बने। हिरासत नै बधशाला बनेको शम्भु सदा र विजयरामको न्यायिक चिच्याहट सभ्य समाजको कानमा परेन। कालिकोटका पखं विकलाई मन्दिरमा धार्मिक गुन्डाबाट भगवान्ले रक्षा गरेनन्। रोशन माझीको चीत्कार होस् या रौतहटका निरञ्जन रामको; कैलालीका विकास विकहरू गम्भीर आक्रमणमा पर्नु दलित कोखमा जन्म हुनु थियो। अहिले प्रदेश २ का मुख्यमन्त्री मुसलमान र प्रदेश प्रमुख दलित छन् तर दलितको हत्या र उत्पीडन तथा प्रतिरोधी आन्दोलनको केन्द्र पनि जनकपुर नै। उत्पीडनका रूप फरक–फरक छन्। अन्तरनिहित मूल पक्ष धार्मिक र जातीय अहंकार हो।
इतिहासका पानामा
मनुवादी वर्ण व्यवस्था हिन्दु समाजको महाकलंक हो। ती कलंक अपराध बन्दै आए। वर्चश्वशली समूह त्यसलाई तोड्नुको साटो अहंकारग्रसित बन्दै गयो। धर्मनिरपेक्ष, कम्युनिस्ट वा उदारवादी पनि आधुनिकतासँगै जातीय अहंकारमा फस्दै अपराध कर्मलाई नैसर्गिक अधिकार मान्न थल्दा एकतर्फ धर्म परिवर्तन बढ्न थाल्यो भने अर्कातर्फ अपराधले वर्चश्वशाली तप्काको संरक्षण पनि पाउँदै गयो।