आश्विन कृष्ण पक्षको पन्ध्र दिनलाई हिन्दूहरूले पितृश्राद्ध अर्थात सोह्रश्राद्धको रूपमा मनाउने गरेका छन्। पक्ष पन्ध्र दिनको भए पनि यसलाई किन सोह्र श्राद्ध भनिएको होला त? विचार गर्दै जाँदा मृतक आत्माको मुक्तिका लागि गरूड़ पुराणमा सोह्र वेदीको श्राद्ध परिकल्पना गरिएको पाइन्छ–मरेको दिनदेखि तीन वेदी अन्तिम संस्कारको लागि, दश वेदी यमलोकमा पुग्ने अवधिको लागि तथा बाँकी तीन वेदी स्वर्ग वा नर्कमा स्थान पाउनको लागि। यसरी पितृ आत्मालाई मर्त्यलोकबाट उन्मुक्ति पाएर उभोलोक पाउन सोह्र दिन समय लाग्ने उक्त पुराणमा उल्लेख रहेको पाइन्छ। सोही सोह्र दिनसम्म मृतकका पुत्रले उनको बाटो सुगम पार्न तथा सो बाटोको कठीनतालाई परिहार गर्न आफ्नो गच्छे अनुसारको पूजा पाठ तथा व्रत उपवास गर्ने गरेको परम्परा हिन्दू धर्मावलम्बिहरुमा चलि आएको छ।
आश्विन कृष्ण पक्षको पन्ध्रौं दिनसम्म मृतकका पुत्रले दैनिक पवित्र अवस्थामा सुद्ध सात्विक भोजनको आहार गरेर यम–नियमपूर्वक मृतकलाई शास्त्रोक्त विधिले जलापर्ण गर्दै औसीमा पितृ विसर्जन गरेर मात्र जीवनको दैनिन्दन कर्ममा लागि पर्छन्।
यसैले होला सो पक्षलाई पितृपक्ष भनिएको। नेपालको तराई प्रदेशका हिन्दूहरूले भने पितृ मरेको तिथिको दिनसम्म पितृलाई जलापर्ण गरेर सोही तिथिमा पितृ विसर्जन गर्छन्।
यसै पक्षमा तराइमा पुत्रको आरोग्य, सुस्वास्थ्य, समृद्धि, बुद्धि, बल र तेज प्राप्ति कोलागि आइमाइहरूले जिउतिया नामक व्रत बस्ने गर्छन्। सन्तानवति महिलाका लागि अनिवार्य जिउतिया व्रत अत्यन्त कठीन व्रत हो। यस व्रतको शुरूवात आश्विन कृष्णपक्षको सप्तमी तिथिबाट हुन्छ। सप्तमी तिथिको दिनलाई ‘नहाए–खाए के दिन’ भन्छन्।
त्यस दिन नदि, पोखरीजस्ता पवित्र जलाशयमा गइ नुहाउने तथा चोखो भएर सुद्ध सात्विक भोजन गर्ने गर्छन्। नुहाउन जानु भन्दा अगावै पूजा कोठाको ढोकामा दुबै तर्फ माटोको बेदी बनाएर मृतक मातृआत्माको आह्वान गर्छन्।
तीन पुस्ते मृतक मातृ (सासू तर्फका) आत्माको आह्वान हुन्छ, साथै बुहारीले आफ्नी आमाको आत्माको पनि त्यसै बेदीमा आह्वान गर्छिन्। त्यसै बेला झिगुनीको पातमाथि, सर्स्यूँको पीना र खाने तेल मातृ आत्मा तथा चिल्हो–सियारिनलाई अर्पण गर्छन्। अनि पीना र तेल आङमा लगाएर नुहाउँछन्।
सप्तमीको राति नै बिहान रौं नदेखिने प्रहरमा सरगही (नेपाली भाषामा सरगहीलाई ‘दर’ भन्ने गरिन्छ) खान्छन्, किन भने अष्टमीको दिन अहोरात्र निर्जला उपवास बस्नुपर्ने हुन्छ। यस प्रकार बस्ने व्रतलाई जिउतिया भनिन्छ। व्रत बसेको दिनमा आइमाईहरूले सिन्कोसम्म भाच्ने काम गर्नु हुँदैन। किनकि, भूलबस भए पनि सिन्को भाच्दा पुत्रको आयु क्षीण हुन्छ भन्ने जनविश्वास छ। त्यसैले यस व्रतलाई ‘खरजिउतिया’ पनि भनिन्छ। कोही केटा मान्छे कुनै विकट परस्थितिबाट जोगिएर आउँदा भोजपुरी भाषामा ‘जो तोर मातारी खरजिउतिया कइले रहलिह’ भन्ने गरिन्छ।
आश्विन कृष्ण नवमीको दिन जिउतिया व्रतको पारण हुन्छ तथा पारण गर्नुभन्दा पहिले बिहानै मृत मातृ आत्माहरूलाई आह्वान गरिएको वेदीमा तेल वा घिउ, सिन्दूर, बेलपत्र अर्पण गरिन्छ। साथै पाँच वटा गेडाँगुड़ी (मास, केराउ, तील, अक्षता तथा सक्खर) को भोग लगाएर व्रतालूले पनि ती गेडागुड़ी पानीका साथ निलेर मृत मातृ आत्माको स्मरण, पूजन गरी व्रतको पारण गर्ने गर्छन्। यसलाई भोजपुरी भाषामा ‘जावा अङकुरी घोंटल’ भन्दछन्।
यस प्रकार जिउतियाको कठीन व्रत समाप्त हुन्छ।
झट्ट हेर्दा यो व्रत छोराहरूको लागि गरिने व्रत देखिए पनि वास्तवमा यस व्रतसँगै मातृ पूजा पनि परोक्ष रूपमा भएको हुन्छ। हाम्रो पुरूषप्रधान समाजमा पितृपक्षमा पुरूषहरुले पितृलाई पिण्ड, पानी, स्मरण, पूजन गर्ने परम्परा रहे पनि आइमाईहरूले पनि आफ्ना तीन पुस्ते सासु तथा आफ्नी आमालाईसमेत मातृ नवमीको दिन स्मरण गर्नुको साथै विधिवत (लोकाचार अनुसार) ठूलो आस्था र भक्तिपूर्वक पूजन, प्रार्थना तथा कृतज्ञता पनि अर्पण गर्ने गर्छन्।
एक किसिमले भन्ने हो भने जिउतिया व्रतको ओटमा मातृ शक्तिको स्मरण गरिने मातृनवमी व्रत ओझेल मै परेको जस्तो देखिन्छ।
अन्य वर्षहरूमा सम्पूर्ण तराई भेगमा जिउतिया र मातृनवमी व्रतको निकै चहल पहल तथा उत्साह, उमङ्ग हुने गर्थ्यो। सरगही खाएपछि बिहानको समयमा केटी तथा आइमाईहरूले तराईको प्रसिद्ध लोक नाटक–जाठ–जाटिन तथा किशोर वय तथा नवजवानहरुले कब्बडी खेल बडो उत्साह उमङ्गका साथ खेल्ने गर्थे।
सरगहीको रूपमा दही–चिउरा–चिनी प्रायः घरका प्रत्येक मानिसले खाने गर्थे किनकि, अष्टमीको दिन कसैको पनि घरमा चूल्हो बल्दैन्थ्यो। खाना पकाउने आइमाईहरू जिउतिया व्रत निर्जला उपवासमा बसेका हुन्थे।
यस वर्ष विश्वव्यापी कोरोना महामारीको आतङ्कले प्रायः प्रत्येक पर्व–त्योहार खल्लो रूपमा मनाउने विवशता रहे पनि चलिआएको परम्परा र व्यवहारलाई निरन्तरता दिनैपर्ने हुन्छ।
अतः यस वर्ष पूर्ण सावधानी, इच्छाशक्ति तथा हिम्मतका साथ जिउतिया र मातृ नवमी व्रत शालीनतापूर्वक मनाउनुपर्ने समयको माग हो, यसै अनुसार कर्म गर्दा वेश हुन्छ कि...!