बलिउडमा ड्रग्स काण्डको पर्दाफास भएपछि दक्षिण भारतमा पनि अर्की अभिनेत्री सञ्जना गलरानी पक्राउ परेकी छिन्।
गत मंगलबार केन्द्रीय जाँच ब्यूरो (सीसीबी) ले उनलाई ड्रग्स कारोबारको आरोपमा पक्राउ गरेको हो। सञ्जनालाई अदालतले ५ दिनको प्रहरी हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको छ।
यसअघि कन्नड अभिनेत्री रागिनी द्धवेदी पक्राउ परेकी थिइन। बलिउडमा ड्रग्स कारोबारमा दिंवगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीसँग सोधपुछ गर्ने क्रममा भारतीय फिल्म उधोगमा सञ्चालन भइरहेको ड्रग्स र्याकेटको पर्दाफास भएको थियो।
सीसीबीले सञ्जनाको घरमा छापा मार्दा केही महत्वपूर्ण दस्तावेज पनि फेला परेका छन्। गत साता उनीसँग भाईटिका लगाउने राहुल नामका एक व्यक्तिलाई पनि सीसीबीले समातेको थियो।
बलिउड बाहिर ड्रग्स कारोबारमा १२ जनाको नाम बाहिरिएकोमा प्रहरीले ७ जनालाई पक्राउ गरिसकेको छ। जसमा रागिनी र सञ्जना बाहेक विवेक ओबरायका साला आदित्य अल्वा, नियाज, वीरेन खन्ना, क्लर्क रविशंकर, राहुल जस्ता नाम समावेश छन्। एकजना अफ्रिकी ड्रग्स कारोबारी पनि पक्राउ परेका छन्।
सुशान्तको निधनपछि सञ्जना एउटा टेलिभिजन कार्यक्रमको लाइभ बहसमा मेक–अप गर्दै गरेको देखिएकी थिइन्। यो घटनाका कारण उनी ट्रोल पनि भएकी थिइन्।