बलिउड अभिनेता सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डा र अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीलाई रकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ।
सुशान्तको मृत्युको अनुसन्धान सीबीआईले गरिरहेको छ तर यो गिरफ्तारी एनसीबीले ड्रग्सको लेनदेनका विषयमा गरेको हो। यद्यपी सुशान्तको मृत्यु मामलामा यो पहिलो गिरफ्तारी हो।
रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शुक्रबार बिहान साढे ६ बजे छापा हानेको छ।
सुशान्तको आत्महत्या प्रकरणको छानवीन गरिरहेको सीबीआईले रिया र उनको भाई सौविकको ड्रग्स सप्लाई गर्ने व्यक्तिसँग कनेक्सन भेटेको थियो। सीबीआईले उनीहरूको ड्रग्स कनेक्सनको रिपोर्ट बिहीबार एनसीबीलाई सुम्पिएपछि बिहान घरमा छापा मारिएको थियाे।
सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो।
एनसीबीले छानबिनका क्रममा ड्रग्सको कारोबारमा जोडिएका केही व्यक्तिहरुसँग सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा समेत लिएको थियो। एनसीबीले शौविक चक्रवर्तीको ल्यापटप र अन्य दस्तावेज सीज गरेको छ।
शुक्रबार मध्यराति एनसीबीले शौविक र सैमुएललाई गिरफ्तार गर्ने आदेश जारी गरेको खबर बाहिर आएको थियो। त्यसको केही घण्टापछि उनीहरु पक्राउ परेका हुन्।