अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने, अर्थमन्त्रीको कार्यभार केही दिन प्रधानमन्त्री स्वयम‍्ले सम्हाल्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा गर्ने तयारी गरेका छन् । 

प्रधानमन्त्रीका एक सल्लाहकारले दिएको जानकारीअनुसार, अर्थमन्त्री खतिवडाले पदावधि सकिनुभन्दा एक दिन अघि राजीनामा दिन लागेका हुन् । मन्त्रिपरिषद् बैठकमा खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्ने छन् । 

राजीनामापछि अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने तयारी छ । आजकै मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने छ । 

प्रधानमन्त्री ओलीले तत्काल अर्थमन्त्री मात्र नियुक्त नगरी अन्य मन्त्रीहरुसहित मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसैले नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्री हुन केही दिन अझै कुर्नुपर्ने छ ।

विवाद समाधान कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरी ‘गुट–समावेशी’ बनाउने तयारी गरेका छन् । अझै केही दिन गृहकार्य गरी संभवत आगामी साता  प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

उपाध्यक्ष वामदेव गौतम चाहिँ संविधानले मन्त्री बन्नका लागि निषेध गरेकाले राष्ट्रियसभा सदस्य मात्र रहने छन् । उनी केही दिनपछि हुने मन्त्रिमण्डल हेरफेरमा मन्त्री बन्ने छैनन् । नयाँ संविधानले प्रतिनिधिसभा निर्वाचन पराजित व्यक्तिलाई उक्त प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री बन्न निषेध गरेको छ ।

प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई अर्थमन्त्री नियुक्त गर्न चाहेका छन् । केही मन्त्रीले दुई मन्त्रालय सम्हालिरहेको अवस्थामा अर्थमन्त्री मात्र नियुक्त गर्नु उचित नदेखिने भएकाले पौडेलले केही दिन कुर्नुपर्ने भएको छ । 

राष्ट्रिय सभा सदस्यको दुई वर्षे पदावधि सकिएपछि अर्थमन्त्री खतिवडा फागुन २१ गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए, जसको छ महिने कार्यकाल भोलि समाप्त हुँदैछ । उनले एक दिनअघि आजै राजीनामा दिन लागेका हुन् ।

नेकपा सचिवालयको बिहीबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेपछि खतिवडाको राष्ट्रियसभा सदस्य हुने संभावना समाप्त भएको थियो ।

संघीय संसद् सदस्य नरहेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभित्र एक पटक मात्र छ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रियसभामा लैजान नसकेका कारण ओलीले चाहेर पनि खतिवडालाई मन्त्रीमा निरन्तरता दिन नसकेका हुन् । 
 

प्रकाशित मिति: : 2020-09-04 10:10:52

प्रतिकृया दिनुहोस्