एउटा यस्तो गाउः मधेशको देहात। सम्झनुस् देहातको कुनै घना गाउँदेखि पर पुच्छारको एउटा छुटै सानो बस्ति। देखिन्छन् खरले छाएका र माटोका भित भएका एकछत्रका झुपडीहरु। यो बस्ति, सयभन्दा बढी घरपरिवार मुसहर समुदायको थातथलो हो। रोग, भोक र गरिबी यो वस्तिको साझा रोग हो।
मधेशका कृषि श्रमिक भनेर चिनिने मुसहर समुदायले खेतवारीको माटो काटेर सम्याउने, खेतवारीको आली लगाउने, खेतवारी खन्नेजोत्ने र गोडमेल गर्ने सम्मको काम गर्दै आएका छन्। साधारणतया माटोको काम गर्ने समुदायलाई मुसहर समुदाय भनेर चिनिने गरिएको छ।
मानौं, बिहानको ११ बजेको छ। यही समयमा केही सहयोगीहरू सहित जनप्रतिनिधिको मुसहर समुदायको वस्तिमा प्रवेश। कोरोना आतंकले त्रसित मनोदशामा टोलाईरहेका आँखाहरु छिचोल्दै जनप्रतिनिधिको त्यो टोली मोटरसाईकलमा हुँईकिरहेको छ, भर्खरै ग्राभेल गरिएको दलित बस्तिको डगरमा धुलो उडाउँदै। शहरीयाजस्ता देखिने जनप्रतिनिधिको त्यो टोलीमा कालो चश्मा नलगाउने कमै छन्। छिर्यो, बस्तिको पुच्छरमा रहेको सतौना सदाको घरमा छिर्यो जनप्रतिनिधिको त्यो टोली।
हो, अब देखिन्छ रोचक दृष्य। सतौना सदाको परिवारलाई आँगनमा लहरै उभ्याएर जनप्रतिनिधिद्वारा एकएक वटा माक्स अनि सपरिवारलाई एउटा लाईफवायँ सावुन वितरण। वितरणका क्रममा विभिन्न पोजमा जनप्रतिनिधिको फोटो सुट। फोटो खिचिसकेपछि मोवाईलमा आफूले दिएको पोजहरु हेर्दै सतौना सदाको घरबाट जनप्रतिनिधिको टोली बाहिरिन्छन्।
यता माक्स र एउटा लाईफव्याई सावुन पाएको सतौना सदाको परिवार ट्वाँ परेर उनीहरु बाहिरिदै गरेको दृष्य हेरिरहन्छ, एक तमासले। यस्तैमा सतौनाकी कान्छी छोरी आमाचाहीँको दाहिने हात तान्दै रून थाल्छे, गै माई हमरा भुख लाईगगेल, भात दे न...(आमा मलाई भोक लाग्यो, भात दिनु...)।
आधा पेट खोले खाएर हप्ता दिन गुजारीसकेको छ सतौना सदाको यो परिवारले। गए साता स्थानीय सरकारका मालिक भनाउँदाले राहतस्वरुप फोटो शुटसहित दिएको पाँच किलो चामल सकिईसकेको छ। हलि बसेर बाउले चलाएको ऋण सघाईरहेका छन् शतौना।
अब फेरि अर्को दृष्य। केहीबेर अघि सतौना सदाको परिवारलाई जनप्रतिनिधिले माक्स र सावुन वितरण गर्दै गरेको त्यो तस्विर र भिडियो सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्याममा भाईरल बन्छ। आफन्त र शुभ चिन्तकबाट सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई बधाईको ओईरो लाग्छ।
बधाईको वर्षाले जनप्रतिनिधि दंग पर्छ। पुनः भाईरल बन्न भोलिको राहत वितरणको नयाँ अवधारणा बनाउँदै ऊ आफैं लकडाउन उल्लघंन गर्दै आफ्ना सहयोगीलाई पाटी दिन्छ। पाटीमा फेरि सतौना सदाहरूकै जस्तो बाक्लो जनघनत्व भएको रोग भोक र गरिवीले ग्रस्त कुनै अर्को नयाँबस्ती खोज्ने निष्कर्षमा उनीहरू पुग्छन्। अनि उही राहत वितरणको नाममा फोटो शुट अनि सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यमहरूको आफ्नो बढाँईचढाईँ गरेको प्रचारप्रसार।
यी दृष्यहरू थिए कोरोनाकाल सुरुवातीका दिनहरुका।
कोरोना भाईरस संक्रमणको त्रासले देहातका गाउँहरु विक्षिप्त बनिरहँदा धेरैजसो स्थानिय तहका जनप्रतिनिधी स्वंसेवाको नाममा आफ्नो प्रचारप्रशार गर्नमै बढि केन्द्रित देखिएका थिए। राहत सामाग्रि वितरणको नाममा देहातका जनप्रतिनिधीबिच प्रचार गर्ने होड चलिरहँदा कतिपय नेता र उच्च ओहोदाका ब्यक्तिहरुलाई पनि राहत वितरण र उद्धारका बहानामा फोटो खिचेर सामाजिक सञ्जाल र सञ्चारमा आफ्नो प्रचारप्रशार गर्ने गराउने शैलीको विकास भएको थियो।
यसरी सेवाको वहानामा जनप्रतिनिधि आफ्नो प्रचार गर्न किन मरिहत गरेका थिए होलान्? यसको जवाफ एउटै छः एउटा वडासदस्यले वडाध्यक्ष बन्ने लक्ष्य राख्छ भने वडाध्यक्षले गाउँपालिका वा नगरपालिकाको प्रमुख उपप्रमुख।
प्रमुख उपप्रमुखहरु चाहीँ प्रदेश र संघीय सांसद बन्ने भित्रि ईच्छा राख्छन्। संकटका बेला सेवाको नाममा गरिएको प्रचार आफ्ना भोटर र पार्टीका नेतासम्म आफ्नो सकारात्मक सन्देश प्रवाह गर्ने उपर्युक्त हतियार ठानेका थिए सायद। जुन आफैंमा लज्जास्पद थियो।
कोरोनाले विश्व आतंकि छ। कोरोना भाईरस संक्रमितको संख्या नेपालमा पनि बढिरहेको छ। संभावित संक्रमण रोक्न नेपालले लकडाउनको समयावधि बढाएको छ। लकडाउनसँगै आफ्नै घरमा क्वारान्टाईनमा बसेका नेपाली अहिले त्रसित त छन् नै विपन्न घरपरिवार अहिले समस्यामा छन्। कतिपयको चुल्हो बल्न छाडेको अवस्था छ। मधेशी दलितहरु त झनै ठूलो मारमा परेकाछन्।
सुरूवाती दिनमा राहत सामाग्री बोकेर स्थानीय जनप्रतिनिधि र केही स्थानीय समाजसेवीहरूको लर्को मधेशका गाउँतिर देखिए पनि अहिले भने कोही पनि दाता झुल्किएका छैनन्। खाद्य सामाग्री सकिदै जाँदा दैनिक जीविका कसरी निर्वाह गर्ने भनेर चिन्तित गरिव वस्तिहरूमा केही थान माक्स, सावुन र सरकारले उपलब्ध गराएको केही खाद्य सामाग्री लिएर घरहरु चहारिरहेका धेरैले यो अभियानलाई त्यतिबेला प्रचार गर्ने गतिलो माध्याम बनाएकै सही। कृपया फेरि राहत वितरण अभियान चलाउनुस्, फोटो खिच्नुस्, प्रचार गर्नुस्, तर राहत वितरणमा जुट्नुस्।
एउटा खट्किएको कुरा चाहीँ के भने अन्यले त यस विषयमा चासो नदेखाए पनि स्थानीय सरकारले चासो लिनु पर्ने हो। चिसो चुल्हो अघि बसेर घोत्लिरहेका मधेशका शतौना सदाहरु स्थानीय सरकार हराएकोमा चिन्तित छन्।