जनतामा राजनीतिक चेतना भएन भने निरङ्कुशताले जरो गाड्छ। त्यसैले प्रत्येक मानिसमा राजनीतिक चेतना हुनु आवश्यक छ। तर नेपाली नागरिकलाई अहिले राजनीति भन्ने शब्द सुन्ने वित्तिकै घृणा हुनेगर्छ। पहिले हजुरबा हजुरआमा र आमा बाबु, परिवारका जेष्ठ सदस्यले टीका लगाएर आफ्ना छोरा–छोरीलाई आशिर्वाद दिँदा ठूलो भएपछि मन्त्री, प्रधानमन्त्री बनोस् भनेर आशिर्वाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नू, डाक्टर र ईन्जीनियर र असल मान्छे बन्नू भनेर आशिर्वाद दिन थालेका छन्।
समाजमा पहिला राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा धेरै थियो। तर अहिले राजनीतिज्ञको मान र प्रतिष्ठा घट्दो क्रममा छ। यसको एउटा कारण युवावर्ग राजनीति क्षेत्रमा होमिन नपाउनु पनि हुनसक्छ।
युवा हरेक परिर्वतनका संवाहक हुन्, परिवर्तनका नाममा भएका क्रान्तिमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले प्रष्ट्याउँछ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाको भूमिका अतुलनीय छ। नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तन र उपलब्धि प्राप्त भए पनि ती उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधैं असफल भएको पाईन्छ। यसका पछाडि पनि थुप्रै कारणहरू हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको नेपाली राजनीतिमा युवाहरूको भूमिका र संलग्नता कम भएर हो।
उदाहरणका लागि केही पार्टीमा कुनै एक युवाले राजनीतिमा काम गर्न अवसर पाए भने पनि काम राम्रो गरेको प्रोत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रूपमा लिएर दवाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ।
नेपालमा सरकार परिवर्तनको औसत हेर्ने हो भने साँढे एक वर्षमा सरकार परिवर्तन हुनेगर्छ। तीन चार वर्ष यता हेर्ने हो भने त नौ महिनामा सिमित छ हाम्रो सरकार। सरकार परिवर्तनको खेल र राजनीतिक अस्थीरताले देश विकास र समृद्ध हुन सकिरहेको छैन ।
त्यहीँ माथि यो देशको विडम्बना दाँत फुक्लेका र दाह्री फुलेका नेताहरूलाई युवा नेताका रुपमा लिइन्छ। हिसाबै गर्ने हो भने हामी जस्ता पच्चीस वर्षिय युवाले तिनैलाई हजुर बा भन्दा हुन्छ। सरकारमा पुगेपछि देश निमार्णमा कम र राज्यको सेवा सुविधा बढी लिई भ्रमण र उपचारको नाममा देश विदेश बढी घुम्ने र राज्यको ढुकुटी दोहन गर्ने गर्छन् हाम्रा नेताज्यूहरू।
दिनहुँजसो वाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनका आश्रित परिवारका आँशुको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ। अनि क्षमतावान युवाहरू आफ्नै देशमा राम्रो काम गर्ने अवसरहरू नपाए पछि भविष्य निर्माण गर्न युरोप र अमेरिकासँगै भारत र खाडी मुलुक पलायन हुन्छन्।
युवाहरू विदेश पलायन हुनुमा राजनीतिक अस्थिरता हो। यस्ता क्षमतावान युवाहरू विदेश पलायन भएपछि देशको विकास कसरी सम्भव छ? अनि हामीले अहिलेको संक्रमणकालीन अवस्थाबाट कहिले मुक्ति पाउने? यस्तै अवस्था रहिरहने हो भने हाम्रा सन्ततिहरूले पनि नेपाललाई संक्रमणकालीन अवस्थाको देशकै रूपमा देख्नेछन्!
लेखक रिमाल अखिल भारत नेपाली विद्यार्थी मञ्च प्रवास राज्य समितिका अध्यक्ष हुन्।