विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट कुनै पनि देश अछुतो रहेन। गत वर्षको अन्तिममा चीनको वुवानबाट फैलिएको कोरोना भाईरस पछिल्लो समय नेपालमा तिब्र रूपमा फैलिएको छ।
सरकारले सम्भावित क्षति रोक्न भन्दै चैत ११ गतेदेखि मुलुक लकडाउन गर्यो। मैले पनि एक सभ्य र इमान्दार नागरिकको हैसियतले घरमै बसेर लकडाउनको पूर्ण पालना गरेँ। लकडाउन अवधिभर अतिआवश्यक काम बाहेक बाहिर ननिस्किएको म साउन १० गते काम विशेषले ४ जना साथीसहित काठमाडौं जानुपर्ने भयो।
पूर्ण सतर्कताका साथ काठमाडौं पुगेर काम सकायौं। ५ दिनपछि अर्थात साउन १५ गते बाठमाडौंबाट फर्किने बेला २१ घण्टाको लामो जाम र पानी छिचोल्दै १६ गते वीरगन्ज आइपुगियो।
लामो जाम र सवारी यात्राका कारण शरीरमा केही थकान र जिउ दुख्ने भए पनि केही दिनमा ठीक भयो।
पार्टीका एक जिम्मेवार नेतालाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखा पर्नसाथ अस्थायी गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए। उनको पीसीआरको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि उनलाई वीरगन्जकै एउटा अस्पतालमा सिफ्ट गरिएको थियो। उनलाई कोरोना नभएको थाहा पाएपछि हामी साउन २१ गते उनलाई भेट्न अस्पताल पुग्यौं। उनलाई खोकी लागातार लागिरहेको थियो। उनलाई राखेकै कोठामा गएर केही बेर गफियौं। त्यही बेला मैले उनको मोबाइल पनि केही बेर चलाएको थिएँ। त्यसपछि तल गएर पानी खाएँ। उनको अवस्था थप बिग्रदै गएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठायौं। त्यसपछि सरासर घर आएँ। तातो पानी पिएँ। साबुन पानीले राम्ररी हातमुख धोएँ र सेनीटाईज पनि भए। त्यो रात छोरीसँगै सुतेँ।
काठमाडौं पुर्याइएका उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटीभ आएको खबर सुने। त्यसपछि आफूबाट परिवार र टोल छिमेकमा कसैलाई संक्रमण नफैलियोस् भनेर हामी सात जना क्वारेन्टाइनमा बस्यौं।
हामी सबै सातै जना सँगै बसेका थियौं। सँगै लुडो खेलेर दिन बिताउँदै थियौं। पाँचौ दिनमा साउन २६ गते हामीले पीसीआरका लागि स्वाव दियौं। साउन २९ गते नारायणी अस्पतालका मे.सु.डा. मदन उपाध्यायले प्रभाकरजी तपाईँसहित तीन जना साथीको रिपोर्ट पोजेटीभ आएको भनेर रातको ११ बजे सूचना दिनुभयो।
त्यसपछि सँगै बसेका साथीहरु तनावमा भए। त्यही रातदेखि हामी छुट्टा-छुट्टै भयौं।
कोरोना लागेपछि मेरो पहिलो दिन
मलाई कोरोना पोजेटिभ भएको थाहा पाएपछि मेरा आफन्त साथीभाइ तथा सुभचिन्तकलगाएत पार्टीका नेता र मेरो संगठनका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सबैजनाले फोन र फेसबुकका माध्यमबाट स्वास्थ्य स्थिति बुझ्नुका साथै स्वास्थ्य लाभको कामना गर्नुभयो।
सात दिनको सेल्फ क्वारेन्टाईनको पछि घरमै आईसोलेसन बस्ने निर्णय गरेँ। आफन्त र छिमेकीले घरमै आएर मलाई सहानुभूतिका साथ चाडै निको हुन भने। त्यसपछि मेरो स्वास्थ्य लाभको कामनाका लागि दैनिक जसो २०० देखि २५० सम्म फोन कल आउन थाले। साथी भाइको म प्रति यति ठूलो माया प्रेम र सद्भाव देखेर मेरो मनमा थप ऊर्जा पैदा भयो। हुन पनि मलाई त्यस्तो कुनै लक्षण पनि देखिएको थिएन। आफू ठीकै थिएँ।
मेरो लागि परिवारका अरू सदस्य भन्दा ५०-६० मिटरको दुरीमा बस्ने बन्दोबस्त गरिएको थियो। मेरो लागि गेटमै खाना आइपुग्थ्यो। मेरी श्रीमतीले बाध्यताले मेरा लागि खानेकुरा गेटमै राख्दै मलिलो अनुहार बनाएर भनिन्, ‘केही हुँदैन बाबा चाडै निको हुनुहुन्छ,’ उनको यस्तो प्रिय बचनले मलाई थप ऊर्जा प्राप्त भयो।
शोषक वर्गले दलित समुदायमाथि कति ठूलो अत्याचार गरेका हुँदा रहेछन् भन्ने आफू परिवारबाट अलग भएपछि बल्ल बुझेँ। कति पीडा होला त्यो दलित समुदायलाई जब उसले छोएको पानी हामी खाँदैनौं। अरूले छिछि र दुर दुर गर्दा कस्तो पीडा होला उनीहरूको?
हाम्रो रूढीवादी चिन्तन र सोच भएको समाजमा अहिले पनि महिला राजश्वला हुँदा छाउगोठमा बस्न बाध्य हुन्छन्। महिलामा हुने प्राकृतिक परिवर्तन भए पनि हामी हिन्दु धर्म र संस्कृति मान्नेले महिलामाथि कति ठूलो विभेद गरेको छ।
खानपिन र व्यायाम
साथीभाइको सल्लाह अनुसार मैले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन हर सम्भव प्रयास गरेँ। दैनिक टाईम टेबल बनाए त्यसै अनुसार मैलै आफ्नो दैनिकी चलाए। स्वास्थ्यकर्मीको सल्लाहमा खानपिन र औषधिमा विशेष ध्यान दिएँ।
दैनिक जीवनमा परिवर्तन
प्रायः ७–८ बजे उठ्ने मान्छे म बिहानै ५ बजे उठ्न थाले। नित्यकर्म गरी आफ्नो कोठामा कुचो लगाउँने देखि सरसफाई गर्ने बानी बसाले। ६:०० बजे हल्का व्यायाम गरेर बेसार र तातो पानी खाने, त्यसपछि हल्का खाजा खाने र भिटामिन ट्याबलेट खाने अनि नुहाएर आफूले लगाएका कपडा धोई कोठामै सुकाउने जस्ता कामलाई निरन्तरता दिएँ।
खाना खाईसकेपछि खाएको पातलाई कोठामै जलाई दिने गरेँ। त्यसपछि फेरि औषधि खानु र हल्का आराम गरी केही पढ्ने र लेख्ने बानी बसालेँ।
दिउँसोको खाजा खाईसकेपछि हल्का फेरि आराम गर्ने र रातिको खाना खाएर १०:०० बजेसम्म सुत्ने प्रयास गरी १४ दिनसम्म यसरी नै आईसोलेसनमा बस्ने प्रयास गर्नेछु।
संक्रमितलाई हौसला प्रदान
म कोरोना संक्रमित भईसकेपछि विभिन्न संक्रमित साथीभाइसँग निरन्तर सम्पर्कमा रहेँ। आफ्नो पीडा र भोगाई सेयर गरेँ।
आफू संक्रमित भएपनि म जस्ता युवाले हार मान्नु हुँदैन भन्दै आफूजस्तै कोरोना संक्रमित भएका ती तमाम युवाका आमाबुवा छोराछोरी अर्थात ती तमाम छोराछोरीका आमाबुवा जो कोरोना संक्रमित भई रोगको डरले आधा गल्ने किसिमको त्रासलाई सान्तवना दिने प्रयास गरेँ।
संक्रमितमा उत्पन्न हुने डरलाई मन मस्तिकबाट हटाउन मैले विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको सहयोगमा सचेतनाको कामसमेत आइसोलेसन बाटै गरेँ।
सामाजिक क्षेत्रमा परेका प्रभाव
नोवेल कोरोना भाइरसको हाउगुजीले समाजमा निकै नराम्रो प्रभाव पारेको छ। यसबाट ब्यक्ति ब्यक्तिसँगको दूरी मात्र नभएर सामाजिक दुरी अथार्त टोलमा यदि कसैलाई संक्रमण भएको छ भन्ने हेला गर्ने, छिछि दुरदुर गर्ने र समाजबाटै निकाल्ने जस्ता गतिविधिकोसमेत विकास भएको छ।
कोरोना भाईरसको हल्ला चलेसँगै हाम्रा कला, संकृति धर्म र परम्परामाथि पनि ठूलो आघात पुगेको छ। मठ मन्दिर गुम्बा चैत्य तथा मस्जितहरू बन्द छन्। चाड पर्व पनि आफ्नो परिवारसँग मनाउन नपाउने स्थिति बनेको छ।
आर्थिक क्षेत्रमा परेका प्रभाव
कोरोनाले जसरी विश्वब्यापी रूपमा आफ्नो पकड जमाउन सफल भयो। ठिक त्यस विपरित अर्थतन्त्रमा ठूलो गिरावट तथा मन्दी छायो। सवै उद्योग कलकारखाना बन्द छन्। उत्पादन ठप्प छ। आयात-निर्यात बन्द छ। त्यसकारण अर्थतन्त्रको ठूलो समस्या उत्पन्न भएको छ।
यद्यपी कोरोनाले ब्यापार ब्यवसायमा एउटा सकारात्मक पाठसमेत सिकाएको छ। उधारोमा चल्ने व्यापार व्यवसायलाई बन्द गरी नगद ब्यापार गर्न सिकाएको छ।
अन्त्यमा, म संक्रमणबाट मुक्त भइसकेपछि समाजमा यसले पारेको नकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट होस् या स्थानीय प्रहरी प्रशासन र वडासँग सहकार्य गरी ती तमाम संक्रमित आमाबुवा, दाजु भाइ दिदी बहिनीको घाउमा मल्हम लगाउने अभियानमा जुट्ने प्रण गर्दछु।
यो पनि हेर्नुहोस्