गाउँघर र जिल्ला
सबैतिर तिम्रै नाउँले
धर्ती कम्पन हुने गरी
थरथर थर्कायौं अरे
दुधे आन्ध्रो नसुकेकालाई
कलियुगको अमृत बेचेर
आफ्नो आलिशान बङ्गला
डाँडापारी चम्कायौ अरे।
सलाम टक्र्याउँछन् तिमीलाई
ठूलो साहेब भनेर
सेतो धुलो र धुवाँमा उड्नेहरू
छटपटाउँदै गरेका तल्लो घर
माथ्लो घरका सपनाहरू
दुध र साग बेचेर भविष्य किन्ने
ती लाचार विपनाहरू।
टाई सुट, टेबलमा मिठो खाद्यान्न
नौकर चाकर र गाडी छ अरे
लुकी-लुकी अबोध बालकलाई पनि
अाफ्नाे पञ्जामा लिन छाडेनौ अरे
हिरोइन, चार नम्बर त तिम्रै कुवामा उम्रिन्छ अरे
त्यही गाउँका कति छोरा
त्यही पानीले तिर्खा मेट्न
नर्क पनि जान डराउँदैनन् अरे।
त्यो पानी बेचेर तिमीले -
अकाउन्ट बेलेन्स बढायौ अरे।
कहिले लागेन तिमीलाई
तिमीपनि यो गाउँको
एउटा छोरो हुँ भनेर
तिमीले त घरमा अागो
लगाएर अाफू जल्छु भनी
कुम्लो कसी गयौ
सबै खरानी खरानी छोडेर।
त्यो खरानी देखेर विरक्त लाग्छ
त्यो खरानी थिएन,
त्यो हाम्रो भविष्य थियो
हाम्रो चिनारी थियो।
अब के गर्नु, यी खटमिरा
लागेका चन्दनको हामी
छैनन् कुनै अब
घोटेर तिलक सजाउने ज्ञानी।
ठूलो तिम्रो देनको कसरी गरूँ बखान।