केआई सिंह गाउँपालिकाका मुर्रा भैंसी

आसारको अन्तिम साता झमझम बर्सिरहेको थियो आकाश। डा. के आई सिंहको गाउँ डुम्राकोट घुमेर फर्किरहेका थिएँ कवि लोकराज भट्टसँगै। नौलौ ठाउँ, नौलो परिवेश, कोरोना सन्त्रासले लगभग सुनसान देखिएका बस्ती। घुम्टीभित्र लुकेको दुलहीको मुहारझैं बेलाबखत  बादलुको घुम्टीमा लुक्न पुग्थ्यो डोटीको वायल क्षेत्र।

वायल बजार पुग्नै लाग्दा एकाएक देखा पर्छन् सूर्यका किरणहरू। सडक छेउको सानो पसल। कलकल बगिरहेको पानीको धारा। वर्षौ अघिदेखिका परिचित मित्रकोझैं मुस्कुराइरहेको थियो विश्वनाथ पाठकको मुहार।

विगतमा पहाडी जिल्लातिर गाईभैंसी नपाल्ने बिरलै हुन्थे। गर्मी याममा लेक र हिउँदमा घरमा हुन्थे गाईभैसीहरू। लेकमा थुप्रै खर्क अर्थात गोठहरू हुन्थे। चराचुरुङ्गिहरुको आवाजसँगै सुनिन्थ्यो ड्याङड्याङ बजिरहने भैंसी घाडो। त्यहिँ लेकको बाटो जान्थे ब्रह्मदेव, टनकपुर नुन गुड किन्न जानेहरू। खर्कमा दूध दही प्रशस्त मात्रामा पाइन्थ्यो। घिउले टिनका डिब्बा भर्ने गर्थे गोठालाहरू। त्यहिँ घिउ बेचेर किन्ने गर्थे लुगा कपडा, नुन गुड। समय वित्दै गयो। गाउँघरतिर विद्यालय खुल्न थाले। मान्छेमा जनचेतना बढ्दै गयो। सुविधाभोगी मान्छेका पाइला लम्किन थाले सहरतिर।

विगत दश बाह्र वर्ष यतादेखि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा भैंसीपालन निकै कम भइसकेको देखिन्छ। भारतमा गएर दरवानी गर्नेदेखि खाडी मुलुक पुग्नेको संख्या दिन प्रतिदिन बढ्दै गयो। दुई चार पैसा हुनेहरु तराइमा घडेरी जोड्ने र उतैतिर घर बनाउने ध्याउन्नमा लागिपरे। गाउँमा ऐचोपैंचो सरसहयोग र एकता खलबलिदै गयो। भैसीको मूल्य बढेर एक लाखसम्म पुगेपछि गरिब किसानहरुले चाहना हुँदाहुँदै पनि भैंसी पाल्न सकेनन्। व्यवसायिक भैंसी पालनको त कुरै छोडौं पुर्खाका पालादेखि नितान्त आफ्नो लागि भनेर पाल्ने गरेको एउटा भैंसीसमेत देखिन छोड्यो गोठमा। समाप्त हुँदै गयो लेक बेसी गर्ने परम्परा। लेकमा देखिन छाडे भैंसी खर्कहरु। सुनिन कम हुँदै गए ड्याङड्याङ बजिरहने भैंसी घाडा र लेकमा गोठालाले मनमुटु तरलित तुल्याउने गरी बजाउने बाँसुरीको धुन।

देशमा राजनीतिक परिवर्तन आयो। प्रदेश सरकार र स्थानीय सरकारका संरचना तय भए। वायल बजारकै छेउमा तयार भयो के आई सिंह गाउँपालिकाको कार्यालय। गाउँपालिकामा आउने अतिथिलाई दूधको चिया पिलाउन नसकेपछि गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले घोषणा गरे व्यवसायिक हिसाबले भैसी पालन गर्ने किसानहरुको समूहलाई प्रोत्साहन स्वरुप ६ लाख रूपैया अनुदान दिने। गाउँघरतिर गाई भैंसी पाल्नेहरुले अझैं पनि दूध किन्न खोज्दा भैंसीले थोरै दिन्छ आफूलाई नै पुग्दैन भनिदिन्छन्। वास्तविकता त्यो नभएर अर्कै हुन्छ।

दूध बेच्दा भैंसी बिग्रीन्छ भन्ने मान्यता छ। होटेलतिर बेच्न झनै मान्दैनन्। छुइ (महिनावारी) भएकी महिला र तल्लो जातका भनिएकाले खाएमा देवता बिग्रिन्छन् भन्ने भनाइ अझै सुनिएकै हुन्छ। कुलदेवतालाई दूध चढाइएको गाईभैंसीको गोरस त झन सबैलाई दिनै हुन्न भन्ने मान्यता यदाकदा रहेकै छ। यस्तै रुढिवादी परम्परा र गाउँमा परम्परागत हिसावले गाई भैंसी पाल्नेहरु पनि थोरै मात्र भएपछि डोटीको वायल बजारस्थित होटलहरुमा कालो चिया मात्र पाइन थाल्यो। गाउँपालिकाले अनुदान दिने  खबर सुनेपछि गाउँमा ६ जनाको समूह निर्माण भयो। गाउँपालिकाले नियम बनायो अनुदान लिनु अघि साढे चार लाख रूपैया धरौटी राख्नुपर्ने।

तर धरौटी राख्न रकम उठेन। ४ जना सदस्यहरू पछि हटे। समूहमा रहे केवल दुई जना। तिनै दुई जनाले आँट गरेर भैसी किन्न तय गरे भारत सम्मको यात्रा। कैलाली पुगेपछि थाहा पाए पशु आवतजावत बन्द गरिएको कुरा। भैसी मगाउन फर्म मार्फत जानुपर्ने देखियो। तब उनले सम्पर्क गरे धनगढीको केसी दूध डेरीसँग। केसी दूध डेरीले उनले भनेबमोजिम एक वटा राँगो र आठ वटा भैंसी धनगढी मगाइदियो। जसमा ६ वटा भैंसी दूध दिने थिए भने दुई वटा ब्याउने थिए। धनगढी पुग्दासम्म भैसीले आठ लिटरका दरले दूध दिइरहेका थिए। भैंसीलाई ट्रकमा राखेर जब सुरू भयो डोटीको लागि यात्रा, भैसीको दूध पनि कम हुँदै जान थाल्यो।

भैंसी दिपायल पुर्‍याएपछि सुरु भयो तनाब। दिपायलबाट २० किमी हिँडाएर पुर्‍याउनु पर्ने थियो वायल। ती दिन सम्झेर सुनाउँछन् विश्वनाथ पाठक, ‘असारको महिना पानी बर्सिरहेको थियो। कच्ची बाटो। पाडा गाडीमा राखेर ल्यायौं। हिँड्न सक्ने दूरी अनुमान गरेर बास बस्ने ठाउँको तय गरिन्थ्यो। जहाँ बास बस्ने योजना बन्यो त्यहाँसम्म गाडीले पाडा छोड्यो। बिस्तार बिस्तारै भैंसीलाई हिँडाउँदै ल्याइयो। एवम् प्रकारले दोस्रो दिन पनि यात्रा सुरू हुन्थ्यो। दिपायलबाट भैंसीलाई वायल पुर्‍याउन चार दिन लाग्यो। आसारको २७ गते जब घरमा भैसी पुर्‍याउन सकियो लाग्यो ठूलै युद्व जिते जस्तो।’

घरसम्म पुर्‍याउन्जेल गाडी भाडासहित प्रति भैंसीको मूल्य १ लाख ९६ हजार पुग्यो। घरमा पुर्‍याइसकेपछि र्दुइ वटा ब्याउने भैसी मरे। पानी परिरहने लेकाली चिसो ठाउँ हो वायल। तराईमा हुर्केका भैंसीको स्याहार सुसार गर्न सुरूसुरूमा निकै गाह्रो भयो उनलाई। सुरूसुरूमा भैसीले ढुटो र डाले घाँस मात्रै खाए। अरू घाँस मन पराएनन्। पर्याप्त मात्रामा पाइँदैनथ्यो ढुटो र डाले घाँस। उसो त ती भैसीले मन पराउने घाँसको बिउ समेत भारतबाटै मगाएका थिए। तर त्यो पनि हिउँदमा खासै फस्टाएन। कैलालीको चटकपुरमा गाईभैसीको लागि भनेर पिना, गुड, बनौला आदि मिसाएर बनाइएको आहारा पाइन्थ्यो तर एक महिनाभन्दा बढी हुँदैन थियो त्यसको म्याद।

धनगढीबाट वायल पुर्‍याउँदासम्म त्यसको लागत प्रति कुइन्टल ८ हजार रूपैया पुगिसक्थ्यो। सम्भव थिएन त्यो पनि ल्याउन। मन परेको आहारा पेटभरी खान नपाएपछि भैंसीले दूध घटाउने नै भयो। यसरी डेढ वर्ष निकै नै समस्या झेले विष्ट र पाठकले। गाउँलेसामु नमूना बनेर अरुलाई समेत यो व्यवसायमा लाग्न प्रेरित गर्ने सोच बोकेका पाठक हैरान भइसकेका थिए। उता गाउँपालिकाका अध्यक्ष शाही सोधिरहन्थे भैंसीको हालखबर।

डेढ वर्षपछि बल्ल स्थानीय तहमा पाइने घाँस खान थाले भैसीले। आशाको त्यान्द्रो पलाउँदै गयो। तीन वटा भैसीसँगै राँगो पालेका नारायण विष्टले पनि लामो सास फेर्न थाले। अहिलेसम्म ११० स्थानीय भैसी ब्याउने भइसके त्यहिँ राँगोबाट। एउटा भैंसीसँग प्रजनन क्रिया भएवापत १ हजार रुपैया लिने गरेका छन् जुन पैसाले राँगोको लागि आहारा जुटाउन पुगिरहेको छ। समुदायमा उन्नत जातको राँगो र स्थानीय जातका भैंसीबाट जन्मिने पाडाको संख्या पनि बढिरहेकै छ।

४२ वर्षीया पाठक एसएलसी उत्तीर्ण गरेपछि कहिँ कतै गएनन्। गाउँमै खेतीपाती गरे। घरजम गरेर बसे। दुई छोरा र एक छोरीका पिता पाठकले जेठो छोरो प्रख्यात पाठकलाई भेटेरनरी पढाइरहेका छन्। तिनै छोराले उनलाई सिकाइरहेका हुन्छन् जुकाको औषधि कति टाइम खुवाउने, दाना के खुवाउने, के हुँदा कुन भ्याक्सिन दिने जस्ता कुराहरू। छोरा प्रख्यातकै सल्लाह अनुसार अहिले लोकल कुखुरासमेत पालेका छन् उनले।

अहिले दुईवटा भैसीले एकपटकमा ६-७ लिटरका दरले दूध दिइरहेका छन्। ७० रूपैया लिटर दूध र १०० रुपैया किलो दही किन्न ग्राहकहरु घरमै पुग्छन्। अचेल वायल बजारमा सजिलैसँग दूधको चिया पाउन सकिन्छ। दहीदूध राख्न फ्रिजको आवश्यकता परेपछि उनले सानो पसल पनि सञ्चालन गरेका छन् जहाँ दही दूधका साथै चिनी, साबुन, बिस्कुट, चाउचाउ, अगरबत्ती जस्ता सामग्रीहरु पनि पाइन्छन्।

दुई वर्षपछि बल्ल नाफा कमाउन थालेका विष्ट र पाठक निकै नै उत्साही र खुसी देखिएका छन्।  उनीहरुको मुहारको मुस्कान र कमाइ देखेपछि व्यवसायिक भैंसी पालनतिर आकर्षित भएका छन् गाउँलेहरु पनि। गाउँपालिकाले पनि कोरोना कहरले देश विदेशबाट घर फर्किएकालाई मध्यनजर गरी कृषि र पशुपालनलाई विशेष प्राथमिकतामा राखेर यो वर्षको बजेट ल्याएको छ।

गाउँपालिकाबाट अनुदान पाएर सुरु गरिएको व्यवसायिक भैंसी पालन के आई सिंह गाउँपालिकाको लागि नमूना बनेको छ। चिल्ला देखिने सुन्दर आकृतिका मुर्रा भैंसी पालिरहेका विश्वनाथ पाठकको धैर्यता र लगावले सफलताको फूल फुलाइरहेकै छ।

 छुट्टिदा फ्रिजबाट निकालेर भैसीको मिठो दही खुवाएका थिए पाठकले। प्रत्येक भैसीलाई अलग अलग बनाइएका ससाना गोठहरू निरिक्षण गरेर बाटो लाग्न खोज्दा एकोहोरो हेरिरहेको थियो भरखर व्याएको भैंसी। आफ्ना आवश्यकता दर्साउन खोजे जस्तो, केही मागहरू राख्न खोजेजस्तो भैंसीको एकोहोरो हेराइ आत्मीय,अविष्मरणीय अनि मनन्योग्य थियो।

***

कृषि र पशुपालनमा पालिकाबाट अनुदान राखेका छौंः पालिका अध्यक्ष शाही

लोकेन्द्र बहादुर शाही, अध्यक्ष, के.आई.सिंह गाउँपालिका, वायल, डोटी


कृषि र पशुपालनमा अनुदान राखेका छौं। सुरूवातपछि खासै केही गर्न सकेका छैनौं। जुनसोच थियो त्यो अनुसारको प्रगति हुनुपर्ने हो भएको त छैन। तर,  पनि निराश बनाएको छैन। एक वर्ष ग्याप भयो अहिले निरन्तरता दिएका छौं। कमसेकम किसानको रोजगारको सुरुवात भएको छ। हामी आउनु अघि र आइसके पछि पनि केही समयसम्म दूधवाला चिया पिउन पाएका थिएनौं। अहिले बजारमा दैनिक दश पन्ध्र लिटर दूध आइरहेको छ।

अरू किसानमा पनि यो व्यवसाय गर्नुपर्नेरहेछ भन्ने चेतनाको दायरा बढेको छ। विदेशबाट आएकालाई पनि स्वरोजगार यतै स्थापना गर्ने सोच बनाएका छौं। कृषि र पशु नै गाउँपालिकाको महत्त्वपूर्ण क्षेत्र हो यसलाई व्यवसायिक र प्रभावकारी बनाउनका लागि नयाँ किसिमका कार्यक्रम ल्याएका छौं।

संघीय सरकारको एउटा किसिमको बजेट छ। गाउँपालिकाको एउटा बजेट छ। जुन बजेटले म्याचिङको हिसावमा कुखुरा, बाख्रा, भैसी, गाई पालनलाई अझ सपोर्ट गर्ने सोच बनाएर यो वर्षको बजेटमा समावेश गरेका छौं।

 

प्रकाशित मिति: : 2020-08-29 07:10:00

प्रतिकृया दिनुहोस्