नेपाल–भारतबीच बिग्रिएको सम्बन्धका कारण तनावमा रहेका नेपाली कामदार

विश्व कोरोना महामारीको संकटमा छ। यो महामारी अब रोकिएन भने जीवन–जगतको अस्तित्व संकटमा आउने सम्भावना प्रबल छ। कोरोनाका कारण अहिले सबैभन्दा धेरै पीडित बेसहारा र बेरोजगार नेपाली युवावर्ग छन्।

कोरोनाको संकटका कारण भारतलगायत विश्वका धेरै देशमा नेपाली युवाहरु रोजगारीका लागि आवतजावत गर्ने सम्भावना छैन। त्यसैले अहिले नेपाल सरकार, राज्य सरकार र स्थानीय सरकारका लागि ती युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु सबैभन्दा ठूलो चुनौति बनेको छ।

केही समयअघि नेपालमा आएको बाढीपहिरोका कारण धेरैले परिवारको सदस्य गुमाएका छन् भने जनधनको उत्तिकै क्षति भएको छ। आर्थिक रुपले अहिलेको कठिन र संवेदनशील परिस्थितिमा सरकारका लागि थुप्रै जटिल अवस्था देखिन्छ किनभने गरिब र भोकमरीका कारण पहिले नै देश थलिएको छ।

नेपालमा कोरोना भाइरसका साथै बाढीपहिरोले गरिबी र बेरोजगारी बढ्ने निश्चित छ। त्यसको पहिलो सिकार गरिब मजदुर र दलित समुदाय बन्ने पक्का छ। यसले आर्थिक मात्र हैन सामाजिक रूपान्तरणमा पनि दीर्घकालीन असर पार्नेछ।

हिमाल, पहाड र तराईका बहादुर नेपाली नागरिक देशका विभिन्न ठाउँबाट भारतको मुम्बई, पूणे, गुजरात बेंग्लोर, दिल्ली, पन्जाब र हैदराबादलगायत अन्य ठाउँमा आएर श्रम बेचिरहेका छन्। ती गरिब श्रमिक घरेलु कामदेखि सबै काम गर्छन्। तर, कोरोनाबाट बच्न भारत सरकारले सीमा बन्द गरेपछि एकातिर कोरोनाको डर, अर्कोतिर रोजगारी गुमेका मजदूरलाई दैनिक जीविका चलाउन गाह्रो परिरहेको देखिन्छ।

भारतको पूणे, मुम्बई र दिल्लीलगायत विभिन्न सहरमा नेपाली मजदूरहरु सीमा खुल्ला गरे लगतै नेपाल फर्के पनि केहि नेपाली भाडा तिर्न नसकेर भारतमै थुनिएका छन्। हजारौको संख्यामा सर्वसाधारण नागरिक र अध्यनका लागि भारत आएका नेपाली विद्यार्थी अलपत्र अवस्थामा छन्।

महामारीको यस संकटमा भारत सरकारले कोरोना संक्रमण नरोकिएपछि अझै केहि राज्य र शहरमा लकडाउन गर्ने क्रम जारी छ। भारतमा महाराष्ट्र राज्य कोरोना संक्रमितको सूचिमा पहिलो नम्बरमा पर्छ। महाराष्ट्रमा नेपाली मजदुरलाई कोरोना संक्रमणका कारण काम गर्न धेरै कठिन परेको छ। त्यसैले यो संकटको बेला भारतमा अलपत्र परेका नेपाली मजदुरलाई नेपाल सरकार र नेपाली दूतावासले गम्भीरतापूर्वक नलिनु भनेको आफ्ना जनताको अपमान गर्नु हो। अहिले नेपाली जनता मात्र भोटको राजनीतिका लागि उपयोग भएको देखिएका छन्।

भारतको दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका प्रवासी नेपाली मजदुरको समस्या समाधानका लागि न कुनै विज्ञप्ति निकालेको छ, न कुनै सूचना नै। सर्वसाधारण जनतालाई दूतावासले चासो नदेखाको कारण नेपाली दूतावास छ की छैन भन्ने स्थितिमा पुगेका छन् यहाँ काम गर्ने नेपालीहरु। केहि महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संवेदनशील मुद्धामा आफ्नो दावी प्रस्तुत गरेपछि भारतमा बसोबास गर्ने तथा यहाँ बसेर काम गरिरहेका लाखौ नेपालीहरु तनाबमा छन् र खतरा पनि बढेको छ। नेपाल–भारतबीच बेला–बेलामा हुने खटपटले पनि नबिग्रिएको सम्बन्ध अब भगवानको मुद्धाले बिग्रिने देखिन्छ।

भगवान रामको जन्मभूमि बारे प्रधानमन्त्री ओलीको बयानले भारत चिढिएको छ। धेरै ठाउँमा पहिलेको जस्तो सजिलै नोकरी पाउन गाह्रो छ र नोकरी गरिरहेको ठाउँमा पनि नेपाली मजदुरको मुल्यांकन घढ्दो क्रममा छ। अहिले नेपाली मजदुरसँग बोल्ने तरिका र गर्ने व्यवहारमा पनि फरक देखिन थालेको  छ। तसर्थ भारतमा नेपाली नागरिकले सुरक्षित र सतर्क भएर बस्नुपर्ने वतावरण सिर्जना भएको छ।

नेपाल र भारत दुई देशबीचको विशेष मैत्री सम्बन्धको भावनालाई मध्यनजर गर्दै ऐतिहासिक सन्धि, तथ्य र नक्शामा आधारित सीमा मुद्दाको कूटनीतिक समाधान वार्ताबाट मात्र सम्भव छ। त्यसैले यी मुद्दामा भारत र नेपाल सरकारले पारस्परिक वार्तामा बसेर यसको समाधान खोज्नु पर्छ। वास्तवमा यो चिन्ताको विषय हो। भारत–नेपालबीचको विशेष सम्बन्ध र सीमा विवादको अन्त्य वार्ताबाट मात्र हुने विश्वास गर्छन् भारतमा कार्यरत नेपाली मजदुरहरु।

भारत र नेपालबीचको सम्बन्ध परम्परादेखिको हो। सामान्य समयमा, दुबै पक्षका हजारौं व्यक्तिहरू रोजगारी, चिकित्सा उपचार, शिक्षा, तीर्थयात्रा र पर्यटनलगायत विभिन्न कार्यको लागि प्रत्येक दिन अन्तर्राष्ट्रिय सीमा पार गर्छन। त्यसकारण भारतमा बसोबास गर्ने नेपाली नागरिक भारतसँगको सुमधुर सम्बन्ध सुधारको अपिल गर्दछन्।

यो २१ औं शताब्दीमा नेपाल–भारत सम्बन्धलाई सार्वभौम समानता, पारस्परिक सम्मान सिद्धान्तको आधारमा अगाडि बढाउनु बाहेक अर्को उपाय छैन। दुवै राष्ट्रको धार्मिक, साँस्कृतिक, भाषिक र ऐतिहासिक स्थितिमा धेरै समानता छन्।

अब देशको भाग्य युवाको हातमा छ। युवाले देशको नेतृत्व गर्नुपर्छ र राष्ट्रमा रहेको कुनै पनि प्रकारको विभेद अन्त्य गर्दै राष्ट्र निर्माणमा आत्मनिर्भर बन्न आफ्नो देशको माटोको लागि विशेष योगदान हुनेछ। नेपालका सबै युवावर्गले कुनै जाति धर्म र भेषभूषासँग सम्बन्ध नराखेर नैतिकताको आधारमा समानताका साथ एकजुट भएर आफ्नो बहादुरी, कला–सीप र मिहिनेत आफ्नै मातृभूमिमै सिर्जना गर्ने हो भने हाम्रो देशलाई विश्वको शक्तिशाली देश बन्न कसैले रोक्न सक्दैन।

प्रकाशित मिति: : 2020-08-28 14:59:53

प्रतिकृया दिनुहोस्