खेल्दा खेल्दै नेदरल्याण्डका डिफेन्डर मैदानमा ढले

बिएल संवाददाता

नेदरल्याण्ड

आयाक्सका डिफेन्डर डेली ब्लाइन्डको मुटुभित्र राखिएको पेसमेकर बन्द हुँदा मैदानमा ढल्न पुगेका छन्। नेदरल्याण्डका यी अन्तर्राष्ट्रिय खेलाडी मंगलबार हर्था बर्लिनविरूद्ध मैत्रीपूर्ण खेलमा मैदानमा उत्रिएका थिए। 

खेलिरहेकै अवस्थामा उनी अचानक मैदानमा ढलेपछि अस्पताल लगिएको थियो। ३० वर्षीय यी डिफेन्डरको मुटुमा अर्को पेसमेकर राखिएपछि उनको होस् खुलेको थियो। 

यो घटना भएपनि आयाक्सले खेल १–० ले जितेको थियो। गत वर्ष च्याम्पियन्स लिगको एउटा खेलमा रिङ्टा लागेपछि उनी मैदानमा ढलेका थिए। यसपछि अस्पताल भर्ना भएका ब्लाइन्डको मांसपेशीमा समस्या देखिएको थियो। चिकित्सकले उनको ढुकढुकीलाई नियन्त्रण गर्न कार्डियोवर्टर डिफिब्रिलेटर इम्प्लान्ट -आइसीडी_ गरेका थिए। 

ब्लाइन्ड यसै वर्ष फेब्रुअरीमा मैदानमा फर्किएका थिए। उनको मुटुमा राखेको डिभाइसले असामान्य ढुकढुकीलाई नियन्त्रणमा राख्छ र मुटुमा इलेक्ट्रिकल सिग्नल पठाउने गर्छ। टिम व्यवस्थापक टेन ह्यागका अनुसार ब्लाइन्डको अवस्था अहिले राम्रो छ। ‘खेलको बेला उनको आइसीडी बन्द भएको थियो। अहिले उनको पूर्ण स्वास्थ्य जाँच भइरहेको छ। क्लबले पछि कुनै निर्णय गर्नेछ,’ उनले भने। 

आउदो महिना सुरु हुने नेसन्स लिग कपका लागि नेदरल्याण्डले छनोट गरेको ३२ सदस्यीय टिममा उनको पनि नाम छ। नेदरल्याण्डले पोल्याण्ड र इटालीविरूद्ध खेल्ने छ। उनले नेदरल्याण्डबाट ६८ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: : 2020-08-27 15:36:01

प्रतिकृया दिनुहोस्