राष्ट्रकवि माधव घिमिरे काव्यिक चेतनाका एक धरोहर हुनुहुन्थ्यो। उहाँमा काव्यको अथाह र अपार चेत थियो। त्यसैले त मेरा गुरु प्राडा. माधवप्रसाद पोखरेलले उहाँलाई विश्वकविको उपाधि दिन उपयुक्त हुने धारणा राख्नुभएको थियो। हुन पनि उहाँको स्तर विश्वकविका भन्दा कुनै पनि अर्थमा कम छैनन्। गत हप्ता नेपाली काव्य साधक घिमिरेको एक शताव्दी लामो जीवनले विश्राम लिएसँगसँगै सँधैँ गुल्जार रहने लैनचौरको कविकुञ्ज अलकावस्ती अब एकाएक सुनसान हुन पुगेको छ। पुरानो पुस्ताका तर हाम्रो युगसम्म नै सक्रिय साहित्यिक जीवन बाँच्नुभएका घिमिरे समकालीन साहित्य आकाशका एक नक्षत्र हुनुहुन्थ्यो।
पहिले कविवर भनेर चिनिने घिमिरे २०६० सालमा राष्ट्रकविको उपाधिबाट विभूषित भएपछि उहाँलाई राष्ट्रकविका रुपमा हेर्ने, चिन्ने गर्दै आइएको छ। मेरो कविसँग लामो समय सान्निध्य रहेको थियो। म २०३६ सालताका पहिलोपटक काठमाडौँ आउँदा कवि घिमिरेको निवास भनेर चिनेको थिएँ। मेरी माइली दिदी मधुको विवाह राचन्यौ अर्थात् रामचन्द्र न्यौपानेसँग भएको थियो। उहाँको निवासस्थानबाट दुइ तीन घर मात्र दक्षिणमा कविकुञ्ज रहेको हुँदा मैले पहिलोपटक नै कविको कुञ्ज देख्ने मौका पाएर आफूलाई गौरवान्वित अनुभव गरेको थिएँ।
त्यसको केही वर्षपछि म काठमाडौँ बस्न थालेपछि दिदीको घर जाँदा आउँदा उहाँसँग भेटघाट भइरह्यो। दुवै जना लम्जुंगका भएका कारण हो कि किन हो, भिनाजु राचन्यौसँग उहाँको हिमचिम र दोस्ती थियो र उहाँ राचन्यौकहाँ बरोबर आइरहनुहुन्थ्यो। मसँग पनि त्यसैबेला परिचय भएको थियो। पछि म गोरखापत्रमा संलग्न भएपछि त उहाँको अन्तरवार्ता र काव्यरचना प्रकाशनका लागि जाने आउने प्रक्रिया चलिरह्यो। त्यस अलावा अन्य साहित्यिक कार्यक्रममा साक्षात्कार भइनै रह्यो। मलाई टाढैबाट चिन्नुहुन्थ्यो र क्षमकुशल सोध्नुहुन्थ्यो। मीठो हाँस्नुहुन्थ्यो। उहाँलाई भेट्दा एक दिव्य पुरुषलाई भेटेजस्तो अनुभव हुन्थ्यो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति स्वर्गीय घिमिरे नेपाली जनजीवनका कवि, छहरा, भन्ज्यांग र हिमालका कवि हुनुहुन्थ्यो। उहाँको कवित्व चेत तीव्र थियो भन्ने कुराको पुष्टि उहाँका हरेक रचना वा सिर्जनाले गरेका छन्। उहाँको २०५४ सालमा अस्वत्थामा नामक गीतिनाटक प्रकाशन भएपनि त्यसको खासै चर्चा भएको थिएन। यो कृतिलाई त्यसबेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नोवेल साहित्य पुरस्कारका लागि सिफारिस गरेर स्वीडिस एकेडेमीमा पठाएको रहेछ।
सायद कृति पठाएको दुइ तीन दिन भएको हुनुपर्छ मसँग दिदीको घरमा उहाँको भेट भयो। प्रसंगवस उहाँले यो कुरा मसँग उल्लेख गर्नुभयो। मैले त्यसलाई समाचार बनाएँ। गोरखापत्रमा यो समाचार प्रकाशित भयो। वास्तवमा यो नितान्त समाचारयोग्य विषय पनि थियो। हालसम्म त आधिकारिक रुपमा कुनै पनि नेपालीको प्रकाशन नोबेल साहित्य पुरस्कारका लागि पठाइएको छैन भने करिब २५ वर्ष अघिको यो घटना सबै नेपालीका लागि खुसी र साहित्यकारका लागि गर्वको क्षण त थियो नै नेपाली साहित्य पनि अब अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने हैसियत राख्छ भन्ने सन्देश पनि थियो। समाचार प्रकाशन भएको भोलिपल्ट बिहानै कान्तिपुर एफएमले घिमिरेको यो समाचारलाई बडो प्राथमिकताका साथ प्रसारण गरेको थियो। यसले पनि आम मानिसमा यो शुभ सन्देश पुगेको थियो। यसले मलाई पनि निकै खुसी बनाएको थियो।
यो कृतिमा मूलतः विश्वमा मानवता र भ्रातृत्व हराउँदै गएको कारण विश्ववन्धुत्व, मानवता र विश्वशान्ति अहिलेको आवश्यकता हो भन्ने कुरालाई जोडदारसँग कविले आव्हान गर्नुभएको थियो। अहिले विश्वमा शान्ति, सहिष्णुता, भ्रातृत्व र मानवताको खाँचो टड्कारो देखिएको छ। उहाँको त्यो कृतिले पुरस्कार पाएन तथापि यसले नेपाली जनमानसमा एकप्रकारको अमिट छाप भने छोडेर गएको छ। उहाँको कवित्व शक्तिको गहनता तलको यो अंशले स्पष्ट पार्दैन र ?
क्यै काम नौलो नगरी नजाउँ
अकालमै हे, म मरी नजाउँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ।
(धर्तीमाताको ११ औँ सर्गबाट)