स्वास्थ्यकर्मीलाई दुर्व्यवहार होइन प्रोत्साहन गरौं 

म एक स्वास्थ्य व्यवस्थापन विषय अध्ययनरत विद्यार्थी हुँ। पछिल्लो समय सञ्चारमाध्यममा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका समाचार आउँदा मेरो मन खिन्न हुन्छ। विभिन्न प्रकारका प्रश्नहरु उठ्ने गर्छन्। 

के सबै स्वास्थ्य समस्याका जिम्मेवार स्वस्थ्यकर्मी नै हुन्? यदि अरू ही कारणले बिरामीको मृत्यु भयो भने स्वास्थ्यकर्मीले नै कुटपिट सहनुपर्ने हो? के स्वास्थ्यकर्मीले जानी जानी कसैको ज्यान जोखिममा पार्छन्? 

शनिबार मात्रै एउटा तस्बिर ईन्टरनेटमा भाइरल भयो। जसमा स्थानीयले स्वास्थ्यकर्मीहरू बसोबास गरेको छात्रबासलाई घेराउ गरिरहेको देख्न सकिन्थ्यो। बुझ्दै जाँदा स्वास्थ्यकर्मीबाट कोरोना सर्छ भन्ने भ्रम हुनाले स्थानीयले उनीहरुलाई त्यस क्षेत्रमा बस्न नदिन त्यसो गरेको थाहा भयो। आजभोलि यस्तै प्रकारका समाचारहरू सुन्न र देख्न पाइन्छ।

मेरो परिवारका चार जना सदस्य मध्ये तीन जना स्वास्थ्य विषयसँग सम्बन्धित छौं। बुबा आमा दुबै जना स्वास्थ्यकर्मी हुनुहुन्छ। उहाँहरू यस महामारीको समयमा पनि दिन रात नभनी खटिरहनुभएको छ। सायद इन्टरनेटमा भाइरल भएको तस्बिरमा देखाइएका स्वास्थ्यकर्मीहरू पनि दिन रात नभनी खटिनुभएकै थियो होला। त्यसैको फलस्वरुप समाजले उहाँहरूलाई दुर्व्यवहार गर्‍यो। 

म झस्किए र मेरो परिवारलाई सम्झिए। मेरो सानो परिवारको चिन्ता लाग्न थाल्यो। मनमा एउटा कु-विचार पलायो। गएर बुबा आमालाई हजुरहरूले गर्ने काम छोड्दिनुस् भनेर अनुरोध गर्छु। तर फेरि आम मानिसको नजारबाट सोचे यदि मेरो आमा बुबाले काम गर्नु भएन भने कुनै एक सामान्ने मानिसको मृत्यु हुनसक्छ। त्यसैले आफ्नो मनको कु-विचार मस्तिष्कदेखि बाहिर निस्कन नदिइ आफ्नै मनमा दबाइदिएँ।  

समाजमा कोरोना र स्वास्थ्यकर्मीलाई लिएर भिभिन्न प्रकारका भ्रमहरु छन्। कोभिड-१९ को महामारी अघि मेरो परिवारलाई भगवानको स्वरुप मान्ने समाज आजभोलि शंका र हेयको नजरले हेरिरहेको छ र अलग व्यवहार गरिरहेको छ। 

कोरोना भाइरसबाट संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु अमानवीय र अपारधिक कार्य हो। हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ। त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई बिरामीहरुको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट सामाजिक विभेद र दुर्व्यवहार भइरहेको छ।

कतिपय ठाउँमा अस्पतालमा कार्यरत कर्मचारीहरूमा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखिन थालेका छन्। कोरोनाविरूद्धको युद्वमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन्।

विज्ञहरुका अनुसार क्वारेनटाइनमा दुर्व्यवहार, संक्रमितको उपचारमा व्यवस्था, अन्य रोगका मानिसले उपचार गर्न विभिन्न अस्पताल धाउँदा पनि उपचार नपाउने अवस्थाका कारण धेरै समस्या भइरहेको र स्वास्थ्यकर्मी नै यस्ता समस्याको दोहोरो मार परिरहेका छन्।

हालसम्मका  खोज अनुसार  कोरोना भाइरस खोक्दा, छिउँ गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, राम्रोसँग नपकाएर खाँदा आदि तरिकाबाट सर्छ। स्वास्थ्यकर्मीको सम्पर्कमा आउने बितिकै यो रोग सर्छ भन्ने भ्रमलाई सबैको मनमस्तिस्कबाट हटाई स्वास्थ्यकर्मीको कामलाई सम्मान गरौं। साथै यस्तो महामारीको समयमा उनीहरुको हौसला बढाउँ। 

फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई कुटपिट अर्थात दुर्व्यवहार गरेर होइन सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वास्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वास्थ्य जीवनशैली अपनाएमा कोरोना भाइरसलाई जित्न सकिन्छ।

समाजमा कोरोनाबाट निको नहुने भ्रम छ। तर कोरोना लागे पनि मान्छे निको हुन्छ। सकेसम्म कोरोना लाग्नबाट बचौं। यदि कोरोना लागि हालेमा पनि सामान्य रुपमा लिउँ। कोरोना लागिहाल्यो भने पनि आत्तिनु भएन। आत्मबल कमजोर बनाउनु भएन। धैर्य गर्नु पर्‍यो। कोरोना अरू सामान्य रोग जस्तै भएकाले यसलाई जित्न सकिन्छ भन्ने विश्वास जगाइराख्नु पर्‍यो।

अरू बेलाजस्तै नियमित दिनचर्या व्यतीत गर्नु राम्रो हुन्छ। आफूलाई जे गर्दा मनमा आनन्द हुन्छ त्यही गर्नु राम्रो। बारम्बार कोरोनाको बारेमा सोचिरहने, संक्रमण हुन्छ कि भन्ने लाग्ने र संक्रमण भयो भने उपचार छैन, मरिन्छ होला भनेर कहिलै पनि सोचिदिनु भएन। यति हो कोरोना जोकोहीलाई पनि लाग्न सक्छ। त्यसैले सजग भइराख्नु पर्‍यो।

हामीले भुलेर पनि संक्रमित र उसको परिवारलाई छिः छिः दुरदुर नगरी प्रेम, स्नेह, माया, ममता, हिम्मत, आँट र हौसला प्रदान गरौं। हेयको दृष्टिले हेरी अमानवीय व्यवहार नगरौं। २१ औं शताब्दीको शिक्षित, सभ्य र चेतनशील समाजको परिचय दिउँ। निकृष्ट र अमानवीय व्यवहार नगरौं। समाजमा सबै जिम्मेवार बनौं। संक्रमितको मनोवल उच्च राख्न सहयोग गरौं।

अन्त्यमा, स्वास्थ्यकर्मीलाई यस्तो समयमा दुर्व्यवहार होइन प्रोत्साहन गरौं। स्वास्थ्यकर्मी बिना यस  महामारीसँग लड्न अशम्भब जस्तै छ। कुनै एक स्वास्थ्यकर्मीले दुर्व्यवहार सहन नसकेर आफूले गर्ने कार्य नगरेमा कुनै एक मानिसको ज्यान जोखिम्मा पर्न सक्छ।

प्रकाशित मिति: : 2020-08-25 12:57:10

प्रतिकृया दिनुहोस्