सावधान! यसरी नेपाललाई रूवान्डा बनाइँदैछ  

झण्डा जलाइएको दृश्य राखेर बनाइएको म्युजिक भिडियोले यो साता सामाजिक सञ्जाल ततायो।

चौतर्फी विरोधपछि प्रहरीले म्युजिक भिडियो निर्माणमा संलग्न ९ जनालाई पक्राउ गर्‍यो।

उक्त भिडियोमा नियोजित रूपमा जातीय एवं साम्प्रदायीक सद्भाव विथोल्न खोजिएको छ।

जातीय एवं साम्प्रदायिक द्वन्द्व एकै पटकमा हुँदैन। त्यस पछाडि चरणबद्ध घटना हुन्छन्। पानी तात्दै गरेको देखिँदैन। पीँधबाट एक एक गरी स-साना पानीका फोका सतहमा आएर पानी तात्दै गरेको संकेत दिन्छ। अवस्था यथावत रहेमा त्यसको केही बेरमा सतहमा उथलपुथल हुन्छ। जसले पानी तातेको स्पष्ट प्रमाण दिन्छ।  निरन्तर उथलपुथल हुँदै गर्दा  पानी बाफ बनेर उड्छ। भाँडा रित्तो हुन्छ।

जातीय द्वन्द्वको कुरा आउँदा रुवाण्डाको जातीय द्वन्द्वलाई उदाहरण दिने गरिन्छ। जातीय द्वन्द्वको निकृष्टतम् उदाहरण हो रुवाण्डा। सन् १९९४ अप्रिल ६ मा हवाईजहाजमा मिसाईल प्रहार गरेर हुतु जातिका राष्ट्रपति जुभेनिल हबियारीमानको हत्यापछि तुत्सी जातिले हत्या गरेको हल्ला फैलाइयो। यो घटना लगत्तै एक सय दिनसम्म जातीय द्वन्द्व मच्चियो। एक सय दिनमा ८-१० लाख तुत्सी र नरमपन्थी हुतु जातिका मानिसहरु मारिए। अर्थात कुल जनसंख्याको २० प्रतिशत मानिस मारिए। वासिंटन पोस्टका अनुसार एक सय दिनमा २ लाख पचास हजार महिला बलात्कारको शिकार भए। हुतु राष्ट्रपतिको हत्या रूवाण्डाको जातीय द्वन्द्वको तत्कालिन कारण देखिएता पनि यसपछाडि श्रृंखलाबद्ध घटनाले द्वन्द्वको वातावरण बनाएको थियो।

नेपालको राष्ट्रिय झण्डा जलाउने र कुनै जाति विशेषलाई 'शरणार्थी' को दर्जा दिएर घृणा फैलाउन खोज्ने दुष्प्रयास रूवाण्डाको जातीय द्वन्द्व अगाडि भएका शृंखलाबद्ध घटनासँग समानता राख्छ।

रूवान्डामा भएको जातीय द्वन्द्वका प्रमुख दुई कारणहरु नेपालसँग ठ्याक्कै समानता राख्छन् ।

अर्गनाईज्ड आइडेण्टिटि इञ्जिनियरिङ:

रूवाण्डामा मुख्यत: हुतु, तुत्सी र त्व गरी तीन जातिका मानिसहरु थिए। हुतु र तुत्सी बीच कुनै आनुवांशिक (जेनेटिकल) भिन्नता छ कि छैन भनेर अझै पनि यस क्षेत्रका विज्ञहरु बीच मतैक्यता छैन। ६ सय वर्षभन्दा लामो समय यी जातिहरू रूवान्डामा मिलेर बसेका थिए। एउटै शारीरिक बनावट, एउटै भाषा, समान धार्मिक आस्था, एउटै संस्कृति, एकै किसिमको रहनसहन भएका हुतु र तुत्सी बीच गहिरो विभाजनको रेखा कोरियो। जब सन् १८५९ मा एक बेलायती खोजकर्ता जोहान हानिन स्पेक पुगे। बाईबलमा उल्लेखित नोहले श्राप दिएको आफ्नो छोराको वंशज भनेर एउटा काल्पनिक जातीय समूह तयार गरिएको थियो जसलाई ह्यामाईट भनिन्थ्यो। उक्त ह्यामाईट समूहका सन्तान नै तुत्सी जाति हो, त्यो जाति इथियोपियाबाट बसाई सरेर रुवाण्डा गएको हो भनेर भाष्य निर्माण गरे।

सुरूवाती चरणमा कसले वास्ता गर्ने र यस्तो कुरोमा तर रुवाण्डाको शासन सत्ता विदेशीको हातमा पर्दै गएपछि महत्व पाउन थाल्यो। नाकको उचाईको आधारमा दिमागी क्षमता पत्ता लगाउने छद्म विज्ञान क्रानियोमेट्रि प्रयोग भयो। वैज्ञानिकताको लेपन गर्न तुत्सी जातिको नाक हुतुभन्दा अलि चुच्चो र छाला हुतुको भन्दा अलि गोरो हुन्छ  भन्दै स्वेत वर्णको निकट भएको हुँदा अन्य जातिका मानिसलाई सभ्यता सिकाउने जिम्मेवारीको तुत्सीको काँधमा रहेको कुरा मूलधारमा ल्याए।

पहिलो विश्वयुद्धको समाप्तिसँगै रूवान्डा बेल्जियमको शासन अन्तर्गत रहन पुग्यो। त्यसपछि त झन् इसाई अतिवादीले निर्माण गरेको भाष्य अनुसारको हुतु र तुत्सीको विभाजनले संस्थानिकृत मान्यता पायो। हुतु र तुत्सी जातिका साझा पहिचानको रुपमा रहेको १८ वटा क्लान (नेपालको तुलनामा कुल / गुठी) लाई असान्दर्भिक बनाएर केवल नश्लको आधारमा कित्ताकाट गरियो त्यो पनि विधर्मीको ग्रन्थमा आधारित कथाको आधारमा जसले रुवान्डाको साझा सांस्कृतिक विरासत, साझा धार्मिक आस्था र पारस्पारिक अर्थव्यवस्थामा खलल पुर्‍यायो। यो अर्गनाईजड आईडेण्टिटि इञ्जिनियरिङ्ग थियो । केही समय अगाडिसम्म गाईवस्तु पालन गरे तुत्सी र खेतीपाती गरे हुतु बनिने समाज विधर्मीको ग्रन्थमा आधारित कथाका दुई पृथक पात्रका सन्तानका हैसियतमा खुम्चिन पुगे।  

ठिक यसै गरी सन् १८६६ मा रोयल एसियाटिक सोसाईटीका पादरीहरुले वैदिक ग्रन्थमा उल्लेखित 'आर्य' शब्दलाई जातिवाचक शब्द बनाए। अंग्रेजीमा 'जेण्टलम्यान' भने जस्तै गुणवाचक शब्दलाई 'नाक लामो, विस्फारित आँखा भएको गहुँ गोरो वर्णको मानिस 'भनेर बनाएका थिए।

बेल्जियनले रुवान्डामा शासन गर्न अल्पसंख्यक तुत्सीलाई काखी च्यापे। दोस्रो विश्वयुद्धपछि विश्व परिस्थितिमा परिवर्तन आयो। स्वतन्त्रताको माग अवश्यम्भावी थियो। तर जोहन हानिन स्पेकले लादेको भाष्यले जरो गाडिसकेको थियो। बहुसंख्यक हुतुहरुमा ‘तुत्सीहरू ७ सय वर्ष अगाडि इथियोपियाबाट रुवान्डामा बसाई सरेर आएका 'साङ्ग्लाहरुले' बेल्जियनसँग मिलेर हामी माथि दमन गरे’ भन्ने मानसिकता बनाइसकेको थियो। हुतुहरूमा आफू रूवान्डाको मूलवासी र तुत्सीहरु इथियोपियाबाट पछि आएका हुन् भन्ने मानसिकता बनिसकेको थियो।

आर्य भनेका चुच्चो नाक भएको बाहुन-क्षेत्री हुन्। यिनीहरु युरोपको ककेसियाबाट ईरानहुँदै भारतीय उपमहाद्वीपमा छिरेर अन्य जातिमाथि दमन गरेर बसेका हुन् भन्ने भाष्य एता निर्माण गरियो।

घृणावादी कित्ताकाट गर्न कार्यरत संगठनले गरेको कतिपय सार्वजनिक कार्यक्रममै बाहुन क्षेत्री भनेको यस क्षेत्रको होइन भन्दै गरिएको भाषण र अन्तरवार्ता सामाजिक सञ्जालमा देख्न सकिन्छ।   

रुवाण्डामा बाईबलमा आधारित ह्यामिटिक कथाको आधारमा विभाजनको रेखा कोरियो, यता आफूले बोल्ने भाषाको वंशज अर्थात ल्याटिन, ग्रीक भाषासँग संस्कृतको समानताको आधारमा आर्य भनेको नाक चुच्चो भएको बाहुन क्षेत्री हुन् जो ३५ सयदेखि ४ हजार वर्ष अगाडि युरोपको ककेसियाबाट आक्रमण गरेर यहाँ बसेका हुन् भन्ने भाष्य स्थापित गरियो। उता नश्लवादी जोहन हानिन स्पेक  र एता विलियम जोन्स हावी भए।

को हुतु, को तुत्सी फरक छुट्ट्याउनै नसकिने समाजलाई हुतु र तुत्सीको स्थायी विभाजन गर्दै बेल्जियनले सन् १९३३ मा राष्ट्रिय परिचयपत्रमा हुतु, तुत्सी र त्व भनेर व्यवस्था गरे र अनिवार्य परिचयपत्र बोक्नै पर्ने कानुन बनाए।

खेतीपाती गरे हुतु बनिने, पशुपालन गरे तुत्सी बनिने सांस्कृतिक पहिचान बाईबलको कथामा आधारित रहेर स्थायी नश्लीय विभाजनको रुपमा स्थापित भयो। कुरै नबुझी रोयल एसियाटिक सोसाईटीका पादरीहरुले निर्माण गरेको 'आर्य' को परिभाषालाई नेपालको संविधान २०७२ मा प्रवेश गराइयो। गुणवाचक शब्दलाई जातीवाचक शब्द बनाएर कानुनी मान्यता प्रदान गरियो ।

धर्म परिवर्तन :

अधिकांश रूवान्डाका मानिसहरू एनिमिज्म (प्रकृति पुजक) मान्थे जसलाई र्‍यानगोम्बे भनिन्थ्यो। र्‍यानगोम्बे साझा विश्वास पद्धति थियो। पितृलाई खुसी पार्न सके दु:ख कष्ट आइलाग्दैन भनेर हुतु, तुत्सी र त्व जातिका मानिसहरु संयुक्त रूपमा विभिन्न संस्कारमा सहभागी हुन्थे।

सन् १९०० मा पहिलो पटक क्याथोलिक क्रिश्चियनको प्रवेश भयो। जर्मन साम्राज्यवाद र क्रिश्चियन मिसिनारी एक अर्काका सहयोगी बन्न पुगे। ह्वाईट फादर भनिने मिसिनारीहरु रुवान्डाको राजतन्त्रलाई विश्वासमा लिनसके रुवान्डामा व्यापक धर्म परिवर्तन गराउन सकिन्छ भन्ने हेतुले राजतन्त्रको सहयोगीको रुपमा रहन थाले। पहिलो विश्वयुद्वमा जर्मनी पराजित भएर रुवान्डाको शासन बेल्जियमको हातमा पर्न गयो।

बेल्जियनहरुले काखी च्यापेका स्वेत पादरीहरुले उच्च वर्गका तुत्सीको धर्म परिवर्तन गराउन थाले। सन् १९१७ मा रुवान्डाका राजालाई दवाव दिएर क्रिश्चियानिटीलाई कानुनी मान्यता दिन लगाइयो। सन् १९३१ मा क्रिश्चियानिटीलाई समर्थन गर्ने राजकुमार रूडाहिग्वालाई गद्दीमा राखियो। (क्रिश्चियानिटी एण्ड जिनोसाईड इन रुवान्डा, २०१०) राजतन्त्रलाई प्रभावमा पारेर देशव्यापी धर्म परिवर्तन गराउने स्वेत पादरीहरुको योजना सफल भयो।

परम्परादेखि चलिआएको आफ्नो मौलिक धर्म संस्कृति त्यागेर धर्म परिवर्तन गरेपछि हुतु, तुत्सी र त्वलाई बाँध्ने साझा संस्कृतिको डोरो चुँडियो। सन् १९९९ रुवान्डा सरकारद्वारा प्रकाशित 'रूवाण्डाको एकता' सम्बन्धमा प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार कुल/गुठी परम्पराले रुवान्डाको समाजलाई यसरी एकीकृत गरेको थियो कि यदि कुनै उमुसिंगा कुलको मान्छे बसिंगा कुलमा पुग्यो भने आफ्नै परिवारको सदस्य जस्तो व्यवहार गरिन्थ्यो चाहे त्यो हुतु जातिको होस् वा तुत्सी जाति।

धर्म परिवर्तन गरेपछि हुतु, तुत्सी र त्व जातिको साझा १८ वटा कुल/गुठी असान्दर्भिक बन्न पुग्यो। सन् १९०० पहिलो पटक क्रिश्चियानिटि प्रवेश गरेको थियो। अहिले रुवान्डामा ४९.५  प्रतिशत प्रोटेस्टेण्ट क्रिश्चियन, ४३.७ क्याथोलिक क्रिश्चियन, २ प्रतिशत मुस्लिम छन्। परम्परादेखि चलिआएको मौलिक धर्म र्‍यानगोम्बे ०.९ प्रतिशतमा सिमित भएको छ।

नेपालमा पछिल्लो समय भइरहेको धर्म परिवर्तन कसैबाट लुकेको विषय रहेन। सन् १९५१ अघि नेपालमा क्रिश्चियनको संख्या नगन्य थियो। सन् १९६१ मा ५०० जना र सन् २०११ मा आईपुग्दा ३ लाख ७५ हजार जना रहेको कुरा गत वर्ष काठमाडौँ पोस्टमा प्रकाशित एक लेखमा उल्लेख छ।  सन् २०२० मा आइपुग्दा ३० लाख क्रिश्चियन नेपालमा भएको दावी भेटिन थालेको छ। सुदूरपश्चिम प्रदेशमा बौद्ध धर्मभन्दा बढी क्रिश्चियन धर्म मान्नेको संख्या भइसकेको छ।

अबको सम्भावना :    

लामो नाक र विस्फारित आँखा भएका गहुँगोरो वर्णका मानिसलाई आर्य भनेर संविधानमै लिपिबद्ध गरिसकेपछि वैदिक ग्रन्थ र बौद्ध ग्रन्थमा प्रयुक्त आर्य शब्द देखाएर थेप्चो नाक र मसिनो आँखा भएका मानिसलाई यो तिम्रो धर्म होइन भनेर एकातिर चलिआएको मौलिक धर्मबाट च्यूत गराएर धर्म परिवर्तन गर्न सकियो भने वैदिक ग्रन्थमा आर्य अर्थात नाक लामो, विस्फारित आँखा मानिस भएको असल, थेप्चो नाक र मसिनो आँखा भएको मानिस खराब भन्दै एक अर्काको विपरित देखाएर द्वन्द्वको अवस्था सिर्जना गर्न सकियो। एक विरुद्ध अर्को लडाएर दोष वैदिक ग्रन्थलाई लाउन सकियो।

झण्डा जलाइएको भिडियोमा नेपालका राई, लिम्बु, मगर, गुरूङ, तामाङ, शेर्पालाई एउटा समूह बनाएर मंगोल भन्दै नेपालको मूलवासी भनिएको छ। बाहुन क्षेत्रीलाई पछि आएका शरणार्थी भनिएको छ। रूवान्डाका हुतु अतिवादीले एउटा समूह निर्माण गरेका थिए जसलाई इण्ट्राहाम्वे भनिन्थ्यो। इण्ट्राहम्वेको अर्थ हुन्छ - जसले सँगै मिलेर आक्रमण गर्छ।

इण्ट्राहाम्वेले हुतु र तुत्सीबीचको साझा सांस्कृतिक विरासत बिर्सेर हुतु जाति रुवान्डाको मूलवासी भएको र तुत्सी इथियोपियाबाट पछि प्रवेश गरेको भनेर दैनिक जसो रेडियोबाट फुक्ने गरेका थिए। ठिक त्यसै गरी राई, लिम्बु, मगर, गुरूङ सबैको आ-आफ्नै भाषा, संस्कृति र परम्परा छ। तर घृणावादी कित्ताकाट गर्नेले यी विषयलाई चटक्क छोडेर नाक थेप्चो र मसिनो आँखा हुनेलाई मंगोल नामको समूहमा राखेर यो समूह नेपालको मूलवासी हो बाहुन-क्षेत्री पछि आएको भनिएको हो भन्दै सामाजिक संजालमा व्यापक प्रचार गर्ने गरेको छ।

त्यसमा ‘अहिन्दु मूलवासी मंगोल’ भन्दै नाक चुच्चो र थेप्चो भएका बीचको साझा धार्मिक सम्प्रदायबाट एउटा समूहलाई अलग गराउने प्रयास देखिन्छ।

उक्त गीतका गायकले एक अन्तर्वार्तामा संविधानमा खस-आर्य राख्न हुने मंगोल किन राख्न नहुने भनेर प्रश्न गरेका छन्। आर्य शब्दलाई नाक चुच्चो र विस्फारित आँखा भएका मानिस भनेर जातिवाचक शब्द बनाएर संविधानमा राखेपछि नाक थेप्चो र मसिनो आँखा भएको ‘मंगोल’ पनि राख्नुपर्छ भन्ने माग स्वत: उठ्छ भन्ने कुरा संविधान बनाउने बेला हाम्रा नेताहरुले बुझ्न सकेनन्।

बेल्जियनले हुतु, तुत्सी र त्व भनेर परिचयपत्र लेखेर कानुनी मान्यता दिएजस्तै आर्य र मंगोल भनेर विपरीतार्थक शब्द बनाएर संविधानमै राख्ने माग अबका दिनमा बढ्दै जानेछ र अबको एक दशक भित्र नेपाल घृणा र  विभाजन  गहिरो खाडलमा गाड्ने निश्चित छ। जसले नेपालमा रुवान्डा भन्दा डरलाग्दो जातीय द्वन्द्व मच्चाउने निश्चित छ।

समाधान

विदेशी विधर्मीको एजेण्डा नबुझेर तिनीहरुले निर्माण गरेको अर्गनाईज्ड आईडेण्टिटि इञ्जिनियरिङ्गमा बहकिनु नै रुवान्डाको नरसंहारको प्रमुख कारण थियो।

बाईबलमा उल्लेखित हामिटिक कथाका पात्रका सन्तानको रुपमा तुत्सी जातिलाई बुझ्नु विभाजनको पहिलो कारक थियो। त्यस्तै हुतु, तुत्सी र त्व जातिलाई एकत्रित गर्ने र्‍यानगोम्बे त्यागेर धर्म परिवर्तन गर्नाले यी जातिहरुलाई जोड्ने साझा सांस्कृतिक पहिचान समाप्त गरेपछि द्वन्द्व अवश्यम्भावी बनेको थियो ।

रोयल एसियाटिक सोसाईटीका पादरीहरुले निर्माण गरेको आर्य शब्दको परिभाषालाई नेपालको संविधानमा प्रवेश गराईएको छ। त्यो गल्ति सच्याउनुपर्छ। आर्यको अर्थ नाक चुच्चो भएको, विस्फारित आँखा भएको गहुँ गोरो मानिस होइन-असल चाल चलन भएको मानिस हो।

असल बानि व्यवहार भएको मानिस नाक थेप्चो भए पनि आर्य हो, चुच्चो भए पनि आर्य हो, गहुँ गोरो भए पनि आर्य हो, अस्वेत भए पनि आर्य हो। देशको मूल कानुनमै यस्तो संवेदनशील विषय विदेशी विधर्मीको जालझेल नबुझी राख्नु सम्भावित द्वन्द्वको मूल कारण हो।

नेपालमा रहेका मौलिक धार्मिक सम्प्रदायहरु हिन्दु, बौद्ध, बोन, जैन, किरात लगायतका धार्मिक सम्प्रदायहरुको संरक्षण नै नेपालमा सम्भावित द्वन्द्व निवारणको उत्तम उपाय हो।

नेपालका विविध जात जातिका मानिसहरुलाई नेपालको धर्मसंस्कृतिले जोड्ने गरेको छ । रुवाण्डाको घटनाबाट पाठ सिकेर  मुलुकी अपराध संहिता २०७४ को दफा १५८ को उपदफा ३ कडाईका साथ लागू गर्दै नेपालमा भइरहेको धर्म परिवर्तनलाई रोकेर रूवाण्डामा भएको गल्ती दोहोरिनबाट रोक्नुपर्छ।

नियोजित रुपमा नेपालको मौलिक धार्मिक संस्कृति मास्ने उद्देश्य लादिएको एजेण्ड नबुझी सामाजिक संजालमा एउटा समूहले राई, लिम्बु, गुरूङ, मगरलाई नेपालमा नबस, मंगोलिया जाउ भनेर गाली गर्ने र अर्को समूहले बाहुन क्षेत्री शरणार्थी हो ककेसियातिर जाउ भनेर गालि गरेको छरपस्ट देखिन थालेको छ। नेपालमा यस किसिमको द्वन्द्व मच्चाउन खोज्दैछ भनेर युगद्रष्टा गुरू डा. निर्मलमणि अधिकारीले वि. सं. २०६५ सालमा 'ब्राम्हणवाद विरुद्ध घृणावाद' नामको पुस्तकमा लेखिसक्नुभएको थियो। यो सम्भावना देखेर नेपालको लागि मात्रै होइन विश्वको लागि अब आवश्यक पर्ने सहृदयता दर्शनको अभिनिर्माण गरेर सहृदयताको सम्बन्ध स्थापनामा जोड दिदैं आउनुभएको छ।

कुरै नबुझी सामाजिक सञ्जालमा घृणा ओकल्ने होइन, सहृदयताको सम्बन्ध निर्माणमा सबैजना स्वक्रियात्मक भएर लाग्यौं भने अवश्य पनि यस किसिमको जातीय द्वन्द्व टार्न सकिन्छ।

पानी तात्दै गरेको संकेत समयमै बुझौँ । नत्र उम्लिएर उथलपुथल हुन र रित्तिन धेरै समय लाग्दैन।   

प्रकाशित मिति: : 2020-08-24 22:48:56

प्रतिकृया दिनुहोस्