भावनासँग जोडौं आन्तरिक पर्यटनलाई

सूर्य थपलिया

प्रबन्धक, नेपाल पर्यटन बोर्ड

आन्तरिक पर्यटकलाई गन्तब्यसँग भावनात्मक रुपमा जोडन आवश्यक छ। नेपाली पर्यटक पैसाको हिसाबकिताब शुरुमैं गरिहाल्न रुचाउदैनन्। हिसाब पछि, शुरूमा सेवा। यो नेपाली कायदा हो। भावुक छन् नेपाली। त्यसैले गन्तब्यसँग अब भावनात्मक जोड मिलाउनुपर्छ।

२०७२ सालको महाभूकम्पपछि नेपाली पर्यटनमाथि अनिश्चितताको बादल मडारियो। पर्यटन क्षेत्रले आन्तरिक पर्यटकमाथिको भरोसाको बलमा थेग्ने प्रयास गर्‍यो। त्यो वर्ष आशा र निराशाको मिश्रण रह्यो।

२०७३ लाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा ‘घुमफिर वर्ष’ को रूपमा प्रवर्धन गरियो। पर्यटन क्षेत्रको पुनरूत्थानका लागि यो अभियान सान्दर्भिकसँगै चुनौतिपूर्ण थियो। भूकम्पले निम्त्याएको विनाश, त्रास र आर्थिक क्षतिबाट गुज्रिरहेका नेपाली नागरिकबाट पर्यटनको उत्थानमा भूमिका खेल्न अनुरोध गरिएको थियो।

सो अभियान वर्षमा करीब ४० लाख नेपाली आन्तरिक पर्यटकको रूपमा देश घुम्न निस्किए भन्ने अनौपचारिक तथ्यांक छ। आन्तरिक पर्यटकलाई बिना तयारी निस्कने भनि लेबल लगाइन्छ। यदि सबै नेपाली तयारी गरेर निस्कने स्वभावका हुने भए न घुमफिर वर्ष २०७३ अभूतपूर्व रुपमा सफल हुन्थ्यो न अहिलेको कोरोना त्रासका बिचमा पुनः एक पटक पर्यटनको सास जोगाउन आन्तरिक पर्यटनको मुख ताक्न साहस गर्ने सोच नैं आउँथ्यो।

अझ ब्यापक हिसाबमा द्वन्द्वकालको अवधिमा हाम्रो पर्यटन क्षेत्रले आन्तरिक पर्यटनको साथ पायो। २०५२ फागुन १ गते मंगलबार १० वर्षे जनयुद्वको शुरुवात भयो। अघिल्लो वर्ष सन् १९९५ मा बाह्य पर्यटक आगमन ३,६३,३९५ थियो। द्वन्द्व शुरू भएको वर्ष सन् १९९६ मा यो संख्या सामान्य वृद्धि भइ ३,९३,६१३ पुग्यो। २००६ मा शान्ति सम्झौंता सम्पन्न भएको वर्ष ३,८३,९२६ थियो।

दश वर्षमा आँकडा अधिकतम सन् १९९९ मा ४,९१,५०४ पुग्यो। आठौं योजना (२०४८–२०५३) समग्र पर्यटन क्षेत्रको विकासका लागि अपेक्षित रूपमा सफल रह्यो। आठौं योजनाको कार्यान्वयन र यसको उपलब्धिको मूल्याकंन जनताको नजरमा खरो उत्रनु चुनौतिपूर्ण थियो।

लामो निरकुंश पन्चायती ब्यवस्थाको अवसान पछिको जनताको बहुदलीय ब्यवस्थामा जनताको स्वभाविक अपेक्षा उच्च थियो। २०५१ को मध्यावधि निर्वाचन पछिको अस्थिर राजनीति अर्को चुनौति थियो।

पर्यटन क्षेत्रमा केही आशलाग्दो काम भए। पोखरा–सराङ्गकोट सडक स्तरोन्नति, पोखरा संरक्षण क्षेत्र सुधार, घलेगाँउ–सिकलेस पर्यापर्यटन विकास, पोखरा विमानस्थल रनवे र टर्मिनल भवनको निर्माणलगायतका कार्यले आन्तरिक पर्यटनका लागि पूर्वाधार र पर्यटन गन्तब्यको विकासका लागि सहज हुँदै गयो।

गोरखा दरबार संरक्षण र पोखरामा पर्वतीय संग्रहालय निर्माणको थालनीले गन्तब्यको विस्तारमा सहयोग पुर्‍याउने निश्चित थियो। विशेषगरि नागरिक उड्डयनको क्षेत्रमा निजी हवाई कम्पनीको प्रवेश शुरू भयो। योजनाको अन्त्य सम्ममा देशभरि विमानस्थलको संख्या ४४ पुग्यो। मुगु, डोल्पा, कालीकोट, खोटाङमा विमानस्थल निर्माणले गति लियो।

बहुदलीय ब्यवस्थाको स्थापना पश्चात आर्थिक विकासका लागि खुल्लाबजार र उदार आर्थिक नीति अंगाली आधुनिक अर्थतन्त्र तर्फको यात्रामा राज्य अघि बढ्ने संकेत गरिसकेको थियो।

आन्तरिक पर्यटनको विकासका लागि आठौं योजनाले आशिंक रुपमा भए पनि संस्थागत आधार तयार गर्ने दिशामा पहलकदमी शुरू गर्‍यो। नयाँ राजनीतिक ब्यवस्थामा आम नागरिक र निजी लगानीकर्तामा स्वभाविक उत्साह र आशाको सञ्चार हुनु स्वभाविक थियो। कालान्तरमा नेपालको आन्तरिक पर्यटनमा महत्वपूर्ण योगदान गर्ने केही परियोजना शुरु भए।

विस २०४८ मा अन्नपूर्ण संरक्षण क्षेत्र विकास समिति आयोजनाको रुपमा राजपत्रमा प्रकाशित भएपछि आन्तरिक पर्यटनका लागि बृहत सम्पदा माथिको पहुँच सहज भयो। यसै पनि लोकप्रिय गन्तब्य पोखरा, अब अन्नपूर्ण  संरक्षण क्षेत्रको सञ्चालन पछि त पोखरा र अन्नपूर्ण संरक्षण अन्तर्गतका तल्लो भेगका गुरूङ, थकाली र मगर समूदायको बाहुल्य गाँउहरू आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा परिचित हुन थाले।

वि.सं २०३० मा चितवन राष्ट्रिय निकुन्जको स्थापनाले आन्तरिक पर्यटनको विकास विस्तारमा उल्लेखनीय सहयोग पुर्‍याउने निश्चित थियो। आन्तरिक पर्यटनका लागि गन्तब्यको ख्यातीलाई आर्थिक सबलीकरणमा जोडेको उत्कृष्ट उदाहरण थियो, मनकामना केबल कार। यो योजना वास्तवमा निजी क्षेत्रको लगानीले कसरी आर्थिक रुपान्तरणमा परिवर्तन ल्याउँछ भन्ने बेजोड दृष्टान्त पनि हो।

देश द्धन्दमा होमिएको बेला पनि साहस र प्रतिबद्धताको उदाहरण पनि भयो। तर यहाँ भुल्न नहुने यस योजनाको सफलताको मुख्य कारक चाहिँ मनकामना देवीको प्रसिद्धि नै हो। गन्तब्यको आकर्षणलाई निजी लगानीको ब्यवसायिकताले थप उचाई दिन सक्यो। यो एउटा प्रतिनिधि प्रसङ्ग मात्र हो। 

आर्थिक वर्ष २०५२/५३ चालु थियो। यहिँ वर्ष सशस्त्र द्वन्द्व शुरू भयो। त्यसताका आन्तरिक पर्यटन सिमित थियो। यसको बृहत्तर अवधारणा र पर्यटनको उपक्षेत्रको रुपमा महत्व दिइएको पनि थिएन। राज्य द्वन्द्वमा भएको समयमा नेपालको पर्यटनलाई अघि बढाउनका लागि नीतिगत सुधारका प्रयास पनि भयो। नेपाल पर्यटन बोर्ड ऐन २०५३ को ब्यवस्थाबाट सार्वजनिक निजी साझेदारीको सिद्धान्तमा पर्यटन बोर्ड गठन भयो। चुनौतिपूर्ण समयमा नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्धनमा अर्को दश वर्ष देशभरिका गन्तब्यलाई प्रचार प्रसारमा ल्याई आन्तरिक पर्यटन प्रवर्धनमा सकेको कार्य गरेकै हो। २०६३ मा बृहत्त शान्ति सम्झौंता पश्चात देशमा शान्ति र स्थायित्वका लागि बाटो खुलेसँगैं आन्तरिक पर्यटनको अधिकतम उपयोगका लागि आधार तय भयो।

जनवरी २०२० मा भारतको उडिसामा २ दिने राष्ट्रिय पर्यटन कन्फ्रेन्समा भारतका केन्द्रीय पर्यटन मन्त्री प्रल्हाद सिंह पटेलले आन्तरिक पर्यटन प्रवर्धनका लागि गज्जबको योजना घोषणा गरे। सरकारले देशभरिबाट सूचीकृत गरेका गन्तब्य मध्येबाट एक वर्षमा १५ वटा गन्तब्यको भ्रमण गर्नेलाई आर्थिक सुविधा दिने सरकारको योजना। सन् २०२२ सम्म चालु रहने यो योजनामा आन्तरिक पर्यटकले आफ्नो गृह राज्यभन्दा बाहिर घुम्नुपर्ने हुन्छ।

यस कार्यक्रममा आफ्ना नागरिकको रजिष्ट्रेशनका लागि सरकारले अलग्गै वेवसाइट बनाएको छ। आफ्नो विवरण राखेपछि प्रतिबद्धताको प्रमाणपत्र प्राप्त गर्छन् सहभागिले। आफ्नो भ्रमणको पुष्टि हुने तस्वीरसहित विवरण बुझाएपछि आधिकारिकता जाँची सरकारले आर्थिक प्रोत्साहन उपलब्ध गराउँछ। आन्तरिक भ्रमणको प्रबर्धनको लागि यो योजना प्रभावकारी हुने आँकलन गरिएको छ।

चर्चित समालोचक तारानाथ शर्मा लेख्छन्, ‘म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकैं स्नेहसित मुटुमा सँगाल्छु। म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङ्गमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँशेघारीमा झ्याउरे गाउन चाहन्छु। मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ, उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ। सतबाँझको लेक होस वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो हो्स वा चन्द्रागिरि हो्स, जहाँ पनि उस्तैं पाराको आफनोपनले मेरो मुटु ढुक्ढक्याउँछ।’

बीसको दशकमा आफ्नो सुदूरपश्चिमको यात्राको वर्णन शर्माले अदभूत लेखन क्षमताले जिवन्त बनाइदिए। घनघस्याको उकाली काट्दा नियात्रा पढेर धेरै पुस्ता यात्राका लागि प्रेरित भएका थिए। यात्रा साहित्यमा एउटा मास्टरपिस नै थियो यो नियात्रा। साहित्यका कालजयी स्रष्टाका इतिहास र रचनालाई आन्तरिक पर्यटनसँग जोड्न सफल भयौं भन्न सक्ने अवस्थामा हामी छैनौं। महान साहित्यकारको जन्मथलो, कर्मक्षेत्र र दैनिकीसँग जोडिएका स्थान पर्यटनका लागि पुस्ता दर पुस्ता आकर्षण हुन्छ। पर्यटन त नाफामा पाइन्छ, बिशेषतः साहित्य ज्यूँछ। यूगकवि सिद्धिचरण श्रेष्ठको अमर कृति मेरो प्यारो ओखलढुङ्गा स्वर सम्राट नारायण गोपालको स्वरमा करोडौं नेपालीको मन मस्तिस्कमा छायो। ओखलढुङ्गा पनि अमर भयो। फाइदा गन्तब्यलाई भयो।

कविशिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले वर्षोदेखि चोकमा ठडिएर सिस्टमलाई प्रश्न गर्छ, मैले यो भन्दा उत्तम ब्यवहार पाउन योग्य हैन र? गौथलीको चिरबिरमा उनी भाव पोख्छन्,

तिमीले भन्छौं यो घर मेरो,

म पनि कहन्छु यहिँ घर मेरो

वास्तवमा तिम्रो हो वा मेरो

खुव लगाउ मनमा फेरो

शायद! शायद धेरै नै फेरो लगायौं। अमूल्य धरोहर भोलि इतिहासमैं हराउन सक्लान्।

मुग्लिङ-पोखरा राजमार्गमा प्रसिद्ध स्थान छ, घाँसीकुवाँ। आदिकवि भानुभक्त आचार्यलाई आदिकवि बन्न प्रेरित गर्ने एउटा सामान्य तर असाधारण सोचको श्रमिकको कथा जोडिएको स्थान। प्रत्येक नेपालीका लागि यो स्थान पवित्र तीर्थस्थल भन्दा कम छैन तर हेर्दे उदेकलाग्दो बनाइएको छ।

केही थान चिया पसलले भद्दा स्वागत गर्दे असरल्ल बाटो छेकेका छन्। केही तल शौचालय सम्म पुग्लान् यात्रीहरु तर पाँच मिनेट यो इतिहासलाई आत्मसाथ गर्न प्ररित गर्ने आकर्षण समेत दिन सक्ने रूपरङ्ग छैन। घाँसी दरिद्र थिए धनको तर हामी त सोचका समेत महादरिद्र नैं रहने हो?

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। यो वाक्य आधुनिक नेपाली समाजमा दर्शनको रुपमा स्थापित छ। मन्दिर र भगवानको शहर काठमाडौमा जन्मिएका महाकवि लक्ष्मीप्रसा देवकोटा पोखिन्छन्।

कालो बादलबाट खसेको

अन्धकारमा भित्र पसेको

ईश्वर हो कि भिखारी?

प्रश्न आज पनि उत्तिनैं टाइमलेस छ, आउने कैयौं पुस्ताका लागि यो माटोको सुगन्धमा रमाउन प्रेरणा दिनेछ महाकवि देवकोटाको यात्री कविताले। तर त्यो भन्दा पनि टड्कारो आवश्यकता हो महाकविलाई हरेक पुस्तामा पुर्‍याउनु।

अंग्रेजी मोहमा टुप्पीभन्दा माथि नैं डुब्न परे हुन्थ्यो झैं गरि लठ्ठ हुनैं लागेको हाम्रो समाज स्रष्टालाई कतिको बुझ्न चाहन्छ या सक्छ भन्ने क्षमता राज्यले साहित्य र कलाको आखिँझ्याल आफ्ना नागरिकका लागि कसरी खुल्ला राख्छ भन्ने हो। इतिहास समय हो। रोकिदैंन तर अभिलेख गरिराख्नुपर्छ।

महान स्रष्टालाई विगतबाट वर्तमानहुदैं भविश्यसम्मको यात्रा गराइएका केही उदाहरण पेश गर्न खोजेको छु। नोवेल पुरस्कार विजेता अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्गवेले प्रख्यात कृत्ति ओल्ड म्यान एण्ड द सी क्यूवामा बसेर लेखे। उनले हवाना भन्दा केही बाहिर घर किनेका थिए। हाल क्युबा सरकारको संरक्षणमा रहेको सो घर पर्यटकका लागि हवानाको प्रख्यात मध्येको एउटा ठेगाना हो।

अर्का अमेरिकी लेखक मार्क ट्वेनको कनेक्टिकट राज्यमा रहेको घर राष्ट्रिय महत्वको सम्पदा घोषणा गरि संग्रहालय बनाएको छ सरकारले। पर्यटकले ट्वेनको जीवनीसँग सम्बन्धित सम्पूर्ण गतिविधि अनुभव गर्न सक्छन्। विलियम शेक्सपियरको जन्मस्थान समग्र बेलायतको पर्यटन उद्योगमा अतुलनीय गन्तब्य हो। वार्षिक २५ लाख भन्दा धेरै पर्यटक उनको जन्मथलो स्टार्टफोर्ड पुग्ने गर्छन्। स्थानीय अर्थतन्त्रको बलियो स्तम्भ बनेको छ शेक्सपियरको जन्मघर। नोवेल विजेता रविन्द्रनाथ टेगौरको कलकत्तास्थित निवास कलकत्ताका प्राय सबै टुर कम्पनीको टुर प्याकेजमा छुट्दैन।

काठमाडौं, पोखरा, चितवन, इलाम र लुम्बिनी लामो समयसम्म आन्तरिक पर्यटकको पहिलो रोजाइका गन्तब्य रहे। पहुँच, सुविधा र आकर्षणका कारणले यो स्वभाविक थियो। ६० को दशकमा आन्तरिक पर्यटन समग्र पर्यटनका लागि भरपर्दो बजारको रुपमा स्थापित हुने तहमा पुग्यो। देश भित्रिएको रेमिट्यान्स पर्यटनमा लगानी हुने क्रम बढ्यो। यो दशकले नेपालमा हाइवे यात्रालाई लक्षित गरि रोड यात्रालाई पर्यटनमा प्रयोग र अनुभव दुवैको रुपमा स्थापित गर्‍यो। मध्यम र लघु लगानीको रुपमा देखिएको नव लगानीमा युवाका लागि स्वरोजगारको अवसर पनि बढ्यो। विदेशबाट फर्किएका नेपाली जानी नजानी रहरले भए पनि पर्यटनमा लगानी गरि स्वरोजगारमा लागे। खोलाको बगर, फाँट, टार, डाडाँ सबैतिर बस्न योग्य खालका मध्यमस्तरका रिसोर्ट होटल खुले। नेपाली पर्यटकलाई नै शतप्रतिशत लक्षित गरि धेरैं ब्यवसाय सञ्चालनमा आए। यो दशकले आन्तरिक पर्यटकलाई खानपिनमा रमाउने मात्र नभएर समग्र पर्यटनको भविश्यका लागि संजीवनीको रुपमा स्थापित गरायो। ट्रेकिङ्ग रुट नेपाली पर्यटकले भरिए। नेपाली पर्यटकलाई कोठा भाडामा दिन हानाथाप गरेको देखिन थाल्यो। विदेशीका लागि भनेर शुरु गरिएका सेवामा नेपाली पर्यटक मुख्य उपभोक्ताको रूपमा लाइनमा अगाडि देखिए। समय फेरियो। आन्तरिक पर्यटक पोष्टर ब्याइको रुपमा उदाए। यो क्रम ७० को दशकको मध्यसम्मनैं चल्यो।

कोभिड १९ को महामारीले थलिएको पर्यटन लयमा फर्किन परे पुनः आन्तरिक पर्यटकको बाटो हेर्नुपर्ने छ। परीक्षणमा पास भइसकेको निर्विवाद तथ्य हो यो। सबै मुलुकले प्रथमतः आन्तरिक पर्यटककैं भरमा पर्यटन क्षेत्र उकास्ने रणनीति लिनेछन्।

आन्तरिक पर्यटकलाई गन्तब्यसँग भावनात्मक रुपमा जोडन आवश्यक छ। नेपाली पर्यटक पैसाको हिसाबकिताब शुरुमैं गरिहाल्न रुचाउदैनन्। हिसाब पछि, शुरूमा सेवा। यो नेपाली कायदा हो। भावुक छन् नेपाली। त्यसैले गन्तब्यसँग अब भावनात्मक जोड मिलाउनुपर्छ।

केही नयाँ सोचको थालनी गर्न सकिन्छ। पोखराको यात्रा गर्ने लाखौं आन्तरिक पाहुँनालाई आदिकविको जन्मघर र उनीसँग जोडिएका स्थानहरुको भ्रमण गराउने योजना बनाऔं। किताब पढेर हुर्केको पुस्तालाई कविशिरोमणि लेखनाथ पौडेलको जन्मघर हेरेर महान हुन सामान्य घरमा जन्मे पनि कर्म गरे सकिन्छ भन्ने जीवन दर्शनको अनुभव गराऔं।

काठमाडौंको यात्रामा आउने आन्तरिक पर्यटकलाई महाकविको सामिप्यमा एक दिन बिताउन सक्ने वातावरण श्रृजना गरौं। भाषा, साहित्य र कला प्रतिको प्रेम आवश्यक छ आन्तरिक पर्यटनलाई विस्तार गर्न। आउने पुस्ता डिजिटल एडिक्शनको खतरामा छ। हाम्रो चुनौति थपिने निश्चित छ। जादाजादैं भूपि शेरचनका भावना सापटी लिन्छु,

जब नेपाल खुम्चिएर काठमाडौं

काठमाडौं डल्लिएर नयाँ सडक

र नयाँ सडक असंख्य मानिसका पाउमुनि कुल्चिएर,

टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ....।

 

लेखक नेपाल पर्यटन बोर्डका प्रबन्धक हुन्।

प्रकाशित मिति: : 2020-08-24 22:25:00

प्रतिकृया दिनुहोस्