हरियो रङको भित्ता, मुल ढोकाको अगाडि बसेर हँसियामा धार निकाल्दैछन्। भित्तामै टाँगिएको प्लगमा तार कोचेर मेसिन दुबै हाँतले च्याप्प समातेका छन्। हँसिया र मेसिनको घर्षण हुँदा झिल्को निस्किन्छ। तर चस्मा भने लगाएका छैनन्। आवाज निस्किन्छ, क्यार, क्यार। काम फलामका औजार निर्माण गर्ने र धार निकाल्ने, धारिलो बनाउने उनी हुन्, सार्के नेपाली।
विगत ३० वर्षदेखि आरन पेसा गर्दै आएका सार्केको बिहान घामको झुल्कासँगै साँझ घाम अस्ताउँदासम्म यसरी नै दिन बित्छ। बाँकेको कोहलपुर–१२ नयाँबस्तीमा रहेको एक झुपडिमा उनको दिनचर्चा यसरी बितिरहेको छ।
भारतका विभिन्न क्षेत्रमा गएर समेत यस्तै काम गरेका नेपाली आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै कामलाई निरन्तरता दिएको बताउँछन्। यो पेसा गर्ने उनी तेस्रो पुस्ताका हुन्।
बाजे र बुवाको पालादेखिको पुर्ख्यौली पेसा भएका कारण सानैदेखि यसैमा लागेको उनले बताए। चरम गरिबीका कारण स्कूल जान नपाएपछि किशोरावस्थादेखि सिक्न थालेको उनको भनाइ छ। उनी भन्छन्, ‘जिजुबाजेले यहिँ पेसा गरे। अहिले हामीले पनि गरिरहेका छौं। मेरो छोराले समेत आरन लाउने पेसा नै गर्दै आएको छ। बाँचुञ्जेल आरन पेसा नै गर्छु।’
उनी कुटो, कोदालो, बन्चरो, आँसीलगायत कृषि कर्म र घरायसी काममा आउने सामग्रीहरू बनाउँछन्। उनको प्रमुख जिविकोपार्जनको स्रोत नै आरन हो। पछिल्लो समय भने यसैबाट घर चलाउन मुस्किल छ। ‘धेरैले छोडेर अन्य पेसा अंगालेका छन्, रोजगारीको भरपर्दो माध्यम छैन। यो छोड्यो भने अलिअलि आउने खर्च पनि नआउने डर छ।’ बिएल नेपाली सेवासँग कुराकानीमा भने।
पुर्ख्यौली घर जाजरकोट भएका उनको परिवार ८ वर्ष अघि कोहलपुरमा बसाइँसराइ गरेर आएको थियो। जाजरकोटमा हुँदा पनि आरन काम गर्ने गरेका थिए।
प्राविधिक विकासको चपेटामा परि यो पेसा संकटमा पर्दै गएको प्रति उनको चिन्ता छ। ‘नयाँ पुस्ताले यसको चटक्कै माया मार्यो। अरूको काम गर्न राजी हुन्छन्। आफ्नै पुर्ख्यौली पेसालाई छोड्दै गएका छन्। मैले सकि नसकि निरन्तरता दिएको छु,’ उनले भने।
सार्के आफूले मात्रै आरन पेसा गरिरहेका छैनन्। आफ्नो छोरालाई समेत यो पेसामा लगाएका छन्। कोहलपुरका १५ दलित समुदायका नागरिकको आम्दानीको स्रोत नै आरन हो। विशेष गरी कृषि कर्म गर्नको लागि आवश्यक पर्ने सामग्री निर्माण गर्छन् बाबुछोरा। सार्के बृद्ध हुँदै गएकोले परम्परागत आरनमा बस्न सक्दैनन्। लामो समय धुँलो धुँवामा बस्दा गाह्रो हुन्छ। फलाम पिट्न पनि सक्दैनन्। त्यसैले उनले पछिल्लो समय फलाम पिटेर बनाएको औजारको धार निकाल्ने काम गरिरहेका छन्।
एक हिसाबले प्रविधिको विकासले उनलाई फाइदा गरेको छ। उनका छोराले भने परम्परागत आरनमा खलाती र कोइलामा फलाम तताएर औजारहरु निर्माण गर्छन्। सार्केले पहाडमा हुँदा काम गरे बापत आफूले अन्न पाउने गरेको पनि बताए।
‘पहिले काम गरेको अन्न दिन्थे। हामीलाई अरू काम गर्न पर्दैन थियो। अहिले भने समय फेरिएको छ। पैसामा काम गर्छौं। अन्न र पैसामा धेरै फरक पर्दोरहेछ,’ उनले भने।
अहिले यहिँ पेसाबाट मात्रै बाँच्न मुस्किल छ। खर्च धेरै आम्दानी कम भएका कारण धेरै जसो दलित समुदायका नागरिकले अन्य पेसा समेत रोज्न थालेका छन्। सार्के भने आफ्नो पुर्ख्यौली पेसा भएकोले बाँचुञ्जेल यही पेसा गर्ने बताउँछन्।
उनका छोरा धनलाल नेपालीले यहिँ पेसाले सात जनाको परिवार पाल्न पुगिरहेको बताए। मासिक १५ देखि २० हजारसम्म आम्दानी भइरहेको छ। यस पेसालाई व्यवसायिकरण गर्न गाउँका युवाहरु मिलेर समूह बनाउने कार्य अघि बढिरहेको छ। अहिले पनि आफूले काम गरे बापत कसैबाट अन्न र कसैबाट रुपैयाँ ल्याउने गरेको धनलालको भनाइ छ।
न्यूनतम ३ सय देखि ८ सय सम्मका औजार निर्माण हुन्छन्। ‘आधुनिक सामग्रीको अभावमा हामीलाई दुःख छ। किन्नको लागि पैसा हुँदैन। त्यसैले हामीले पुरानै प्रविधि अनुसार काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीय सरकारले विभिन्न आधुनिक औजारहरू सहयोग गरेको भए हामीलाई निकै फाइदा हुने थियो।’
सार्केलाई ६ दशक लामो यात्रासम्म आइपुग्दा दलित समुदाय सिमान्तकृत रूपमा जिउनु परेकोमा दुःख छ। ‘पहाडका दुःख सकाउन तराईमा आए। यता पनि दुःख सकिएन,’ उनले दुखेसो पोखे।
पेट पाल्नको लागि आरन पेसा अनिवार्य बन्यो। सार्केका बाबु बाजेबाट सिकेको पेसा छोरालाई पनि सिकाए। उनको लागि आरन जीवन जिउने पेसा मात्रै होइन, पुर्खासँग जोडिएको एक अजम्बरी साइनो समेत हो।