क्यालिफोर्नियाको जंगलमा लागेकाे डढेलो दाेब्बर फैलियाे, ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

बिएल संवाददाता

क्यालिफोर्निया

क्यालिफोर्नियाको जंगलमा बुधबार अचानक लागेको आगोमा परी ज्यान गुमाउने संख्या ६ पुगेको छ।

क्यालिफोर्नियाका गर्भनर ग्याबिन न्युसमले ३ सय ६७ स्थानमा आगो लागेको र यसको सबैभन्दा ठूलो प्रभाव २३ ठाउँमा देखिएको बताएका छन्। डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको उनले बताएका छन्।

अग्नी नियन्त्रण विभागका १० हजार भन्दा बढी कर्मचारी अहिले पनि आगो निभाउन सक्रिय छन्। यो शहरमा आपतकालको घोषणा गरिएको छ। आगो निभाउन सक्रिय रहेको एउटा हेलिकोप्टर दूर्घटनाग्रस्त हुँदा पाइलटसहित ६ जनाको ज्यान गएको छ।

उत्तरी क्यालिफोर्नियास्थित वेकाविल क्षेत्र आगोबाट सबैभन्दा बढी प्रभावित छ। यहाँ डेढ सय घर जलेर नस्ट भएका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन्। यसका साथै आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ। 

शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा केही डढेलोको आधार दोब्बर भएको आपतकालीन सेवाका अधिकारीले बताएका छन्। डढेलोबाट जोगिनका लागि एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन्।

क्यालिफोर्नियामा प्रायः गर्मीको मौसममा आगो लाग्ने गरेको छ। अमेरिकाको अन्य शहरको तुलनामा क्यालिफोर्निया अधिक गर्मी हुने गरेको छ। 

यसै कारण गर्मीको मौसममा यहाँको जंगलमा प्रायः आगो लागेको हुन्छ। यो अवस्था बर्षाको समय नआउँदासम्म निरन्तर रहने गर्छ। 

मौसम परिवर्तन लगायत अन्य कारणले गर्दा विगत केही वर्षमा आगलागीको घटना बढ्दै गएको छ। 

क्यालिफोर्नियाको जंगली क्षेत्रको वरिपरि मानववस्ती बढ्दै गएका कारण मानवीय दुर्घटना अधिक हुने गरेको छ। 

गत वर्ष क्यालिफोर्नियाको जंगलमा ८५ वर्षयता कै सबैभन्दा भीषण आगो लागेको थियो। यतिबेला ३१ जनाको निधन भएको थियो भने सयौं मानिस बेपत्ता भएका थिए। 

सन् १९३३ मा लस एजल्सको ग्रिफिथ पार्कमा लागेको आगोपछि यो दोस्रो ठूलो घटना थियो। यतिबेला ८३ हजार एकड क्षेत्रमा फैलिएको ठाउँमा आगो लागेको थियो। करिब ३ लाख मानिस विस्थापित भएका थिए।

प्रकाशित मिति: : 2020-08-22 06:38:13

प्रतिकृया दिनुहोस्