‘गुञ्जन सक्सेना’ का कारण करण जौहरको समस्या बढ्दै

करण जौहरले निर्माण गरेको ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ फिल्मको विवाद झन् बढ्दै गएको छ। 

नेटफ्लिक्समा रिलिज भएको यो फिल्मको कथालाई लिएर भारतीय वायुसेनाका अधिकारीहरूले आपत्ति जनाएका छन्। उनीहरूले वायुसेनाको इज्जतमा दाग लगाउने काम भएको भन्दै करणको आलोचना गरेका छन्। 

करण जौहर पछिल्लो समय बलिउडमा नातावादलाई प्रशय दिएको भन्दै आलोचित बन्दै आइरहेका छन्। कंगना रनोटलगायत सेलिब्रिटीले उनीमाथि आरोप लगाउँदै आएका छन्। 

हालै दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको आत्मविश्वास तोड्न उनले तयार भइसकेको फिल्म रिलिज नगरेको आरोप लागेको छ। 

यसबीच गुञ्जन सक्सेनाको विवादले करणको समस्या अझैं बढाएको छ। करणको यस फिल्मलाई लिएर कोहराम, क्रान्तिवीर र तिरंगा जस्ता फिल्म बनाइसकेका मेहुल कुमारले पनि असन्तुष्टी जाहेर गरेका छन्। 

मेहुल देशभक्तिको फिल्म बनाउन उस्ताद मानिन्छन्। उनले फिल्म बनाउन स्विकृति आवश्यक नभएपनि सुटिङको बेला तथ्य नबिग्रियोस् भनेर आफूले आर्मीको मान्छे राख्ने गरेको बताए। 

उनले करणले आफ्नो फिल्ममा यो तथ्यलाई नबुझेको भन्दै आलोचना गरे। ‘आर्मीको सहयोगले फिल्म सुटिङ गर्यो भने गल्ती हुने सम्भावना नै रहँदैन,’ मेहुलले भने, ‘अहिले हाम्रा निर्माताहरू कुनै कुराको विचार नगरि फिल्म बनाउँछन्। यसले सेना र पुलिसको छवी खराब हुन्छ।’

उनले राष्ट्रिय अस्मितासँग जोडिएको विषयलाई हल्का रूपमा हेर्न नहुने बताएका छन्।

प्रकाशित मिति: : 2020-08-20 08:50:24

प्रतिकृया दिनुहोस्