नेपाली सङ्गीत आकाशमा पञ्चैबाजा प्राचीन कालदेखिनै बज्दै आएको छ। वैदिक कालभन्दा अघिदेखि पञ्चैबाजाको अस्तित्व रहेको पाइन्छ। जसलाई प्रागैतिहासिक काल भनिन्छ। नौमतीबाजाको पुरानो नाम पञ्चैबाजा हो। पञ्चैबाजा पञ्चतत्व र पञ्चधातुको प्रतिक हो। अर्को सन्दर्भमा पाञ्चायन देवताको अंश पनि हो। पाञ्चायनमा–शिव, गणेश, देवी, सूर्य र विष्णु रहन्छन्।
शिव पाञ्चायनको शैव उपासनाको प्रतिनिधित्व गर्दछ भने विष्णु पाञ्चायनले वैष्णव उपासनाको प्रतिनिधित्व गर्दछ। पञ्चतत्वमा पृथ्वी, जल, तेज, वायु र आकाश तत्व रहन्छ भने पञ्चलौहमा सुन, चाँदी, तामा, रङ र सिसा रहन्छ। दुबैले पञ्चैबाजामा आ–आफ्नो अंश अन्र्तनिहित रहेका छन्। दुबै प्रकृतिका प्रतीक पनि हुन्। यसरी पाँच देवता, पाँच तत्व र पाँच धातु मिलेर पञ्चबाद्य (पञ्चैबाजा) को स्वरुप लिएको हुनुपर्छ।
हुन त वौदिककाल अघिदेखिनै पञ्चमुखवाद्यम्को प्रचलन रहेको देखिन्छ। परम्परागत रुपमा प्राचीन समयदेखि बज्दै आएका मङ्गल र शुभको प्रतीक पञ्चैबाजामा पाँचवटा बाजा रहन्छन्। जसमा–सहनै, ढोलकी, भूर्मा (झ्याली), दमाहा र ट्याम्को। सगुनी (सगुणी) जातका रुपमा चिनिने दमाई जातिले पञ्चैबाजा हरेक शुभकार्यहरुमा बजाउँदै आएका छन्।
यी दुबै बाद्यसमूहले धार्मिक कार्यदेखि साङ्गीतिक र सांस्कृतिक क्षेत्रमा ठूलो योगदान दिँदै आएका छन्। जातिसूचकको रुपमा यसलाई मङ्गले वा दमैबाजा पनि भन्ने गरिएको पाइन्छ। विगतमा पञ्चैबाजा बजाउँदा जातीय रुपमा दमाईहरुलाई होच्याउने र विभेद गर्ने गरिन्थ्यो। यो बाजाले पछिल्लो कालमा व्यवसायिक रुपमा फड्को मार्न थालेसँगै सबै जातिको प्रिय बन्दै आएको पाइन्छ। सगुणी दमाईलाई देखेमा साइत पर्ने परम्पराले सो कुरालाई पुष्टि गर्छन्।
पञ्चैबाजामा सहनै मुख्य स्वरबाजा हो। यसले विभिन्न राग (धुन) बजाउने गर्छ। ढोलकी मुख्य ताल बाजा हो। यसले ताल दिने र ताल मार्ने काम गर्छ। पञ्चैबाजामा दमाहा र ट्याम्को सहायक तालबाजा हुन्। यिनले तालको निरन्तरतालाई कायम गर्छन्। झ्याली (भूर्मा) काँस्य (काँस) तालबाजा हो। यसले सहायक तालबाजाका रुपमा ताललाई सघाएको हुन्छ। सङ्गीत शास्त्रीय वर्गीकरण अनुसार स्वरबाजा सहनै सुषिर बाद्य हो।
यसलाई औला चाली फुकेर बजाईन्छ। ढोलकी, दमाहा र ट्याम्को छालाले मोहोरिएको (मोहोर्नु) आनद्धबाद्य हुन। जसलाई गजाले ठोकेर बजाइन्छ। झ्याली चाहिँ धनवाद्य अन्तर्गत राखिएको छ। पञ्चैबाजा नेपाली परम्परागत मौलिक सङ्गीतको विशिष्ट बाजा हो। जीवनमा कहिल्यै नहाँसेको र कहिल्यै नरोएकोलाई समेत छिन भरमै हँसाउने र रुवाउँन सक्ने अलौकिक जादूमय शक्ति रहेको हुन्छ, पञ्चैबाजामा।
विश्वको कुनै पनि बाजामा यस्तो अद्भूत शक्ति बिरलै पाइन्छ। मानव जीवनमा आईपर्ने दुःख, रोगव्याधी, तनाव, चिन्ता आदिलाई शान्त गराउँछ। निराशामा बाँचेकाहरुलाई जीवनप्रति, भविष्यप्रति आशा, उमंग, सजिवता जागृत गराउँछ। अभौतिक सांस्कृतिक संङ्गीत सम्पदाको रुपमा रहेको पञ्चैबाजाले निडरता, निर्भयता, आत्मशक्तिको विकाश गराउँछ। हरेक संस्कार, संस्कृति, चाडपर्व, उत्सव, अवसर र शुभकार्य पञ्चैबाजाबिना अधुरो रहन्छ।
वसन्त ऋतुदेखि शिसिर ऋृतुसम्म, जन्मदेखि मृत्युसम्म, झिसमिसे बिहानीदेखि सन्धयाकालिन साँझसम्म फरक–फरक राग धुन, भावभंगी र रसमा पञ्चैबाजा बज्ने गर्दछ। सहनैका ध्वनिबाट निर्झरता हुने शब्दभाव करुणारस बहुल मानिन्छ। यद्यपि, ऋतु, पर्व, संस्कार सँस्कृतिको सन्दर्भ हेरी शब्दभाव सुन्दर, हाँस्य, वीभत्स र विरह रसमा पनि शब्दोद्बोधन हुने गर्छ।
अझ वाद्यवादकका कलानिपूर्णताले जस्तो भाव पनि जन्माउन सक्दछन् भन्न सकिन्छ। जब सिपालु वादकको हातबाट औंला चालिन्छन्, त्यो बेला सहनैले नाना प्रकारका बिलौना गरेर श्रोतादर्शकलाई आँसुका बर्षामा निथ्रुक्क हुन विवश तुल्याउँछ। शान्त, विभत्स, सुन्दर, हाँस्य, करुण, विरह तथा श्रृंङ्गार रसमा परिप्लपीत बनाउँछ। त्यो बेला जतिसुकै कठोर मन भएकालाई पनि चंचल र विचलित तुल्याइदिन्छ। जस्तो विवाहमा बजाएको सहनै बेहुलाको घरबाट प्रस्थान गर्नु अघि एक पल्ट वीभत्स रस अलापेर सारा श्रोताजनको मनमा कौतुहुल मच्चाइदिन्छ। त्यसपछि श्रोताजनको विप्लाबित मनस्थिति यथास्थानमा ल्याउन शान्तरसको शुरु गर्दछ। अनि मात्र बाटो लाग्दछ।
बाटोभरि शान्त र सुन्दर रस अलापेर जन्तीको, श्रोताजनको मन फुर्रफुर्र नचाउन सफल हुन्छ। त्यसपछि बेहुलाको घर पुग्ने बेलादेखि विवाह विधि सम्पन्न हुन्जेलसम्म हाँस्यरस अलापेर सबैको मन आपूmतिर तान्न कोशिस गर्दछ। चिन्ता, पीडा, व्यग्रता, विरह व्यथा आदि सम्पूर्ण कठिनाइलाई बिर्सेर श्रोताहरु त्यसतर्फ आकृष्ट हुन्छन्। सबैको मन, मुहार उज्यालो भइरहन्छ। बेहुली अन्माउने समयदेखि आधा बाटोसम्म करुणारस अलापिन्छ।
यो बेलामा बजाएको धुनले सबैका आँखा मात्रै रसाउँदैन, आँसुनै बर्बर बर्षा हुन्छन्। बेहुली विदा गर्नेको होसै हराइदिन्छ, दिलै रुवाइ दिन्छ। बेहुलाका घर आइपुग्न लाग्दादेखि आपूm विदा नहुँदासम्म फेरि शान्त र हाँस्यरसमा आलोपालो अलापेर सबैका मन, मुहारलाई प्रपूmल्लित तुल्याई दिन्छन्। विश्वमै अद्भुत र विचित्र छ पञ्चैबाजामा सहनैको अलाप! रोपाइँयात्रामा, लाखे यात्रामा, अन्य विभिन्न मौसमी मेला उत्सव तथा चाडपर्वहरु तथा समारोहको उद्देश्य र उपलक्ष्य हेरी सहनै वादन गरिन्छ।
रोपाइँयात्रामा, बेठीमा बजाइने सहनैको राग वीर–रसप्रधान हुने भएकोले सबैलाई हौसला जाँगरको उर्जा भरिदिन्छ। समग्रमा नेपाली सङ्गीत आकाशमा सहनैलाई नेपाली वाद्यसमूहको वसन्तराज, नागियार वा ढुकढुकीनै भन्न सकिन्छ। अर्को अर्थमा पञ्चैबाजालाई पदार्थको रचना भएको पञ्चतत्वको प्रतीकको रुपमा पनि मानिएको पाइन्छ।
माटोबाट बनेका ढोलकी, दमाहा र ट्याम्को अनि काठबाट बनेको सह्नै र पञ्च धातुबाट निर्मित झ्याली (भूmर्मा, झ्याम्टा) ले ती कुरालाई थप प्रष्ट पार्दछन्। विशेष गरी नेपाली समाजको सबै सांस्कृतिक, धार्मिक क्रियाकलापमा पञ्चैबाजालाई अनिवार्य जस्तै मानिएको छ। पञ्चैबाजामा मङ्गलधुन (आरती), बढाइँ (सलामी) देखि लिएर स्तूती, बेला राग र लोकसङ्गीतमा लोकप्रिय, झ्याउरे ख्याली, चुड्का, असारे, उठस्वामी आदि धुन बज्ने गर्छन्। पञ्चै बाजामा बेहुली माग्ने धुन मौलिक धुनको रुपमा रहेको पाइन्छ। यसैगरी भोटेसेलोको राग बजाउँदा देवता चढ्ने डरले यो धुन त्यति नबजाइनुले यसको महत्वलाई बुझ्न सकिन्छ।
भोटेशेलो र चौतल राग पञ्चैबाजाको लोपोन्मुख राग हो। जसलाई लमजुङ्गका श्याम परियार (७०) ले बजाउनु सक्नुहुन्छ। पञ्चैबाजा समूहको अलि ठूलो रुप ‘नौमतीबाजा’ हो। यसमा थप सहनै र दमाहा एक–एक वटा रहन्छन्। नरसिङ्गा र कर्नाल दुई सुषिरबाद्य (फुकेर बजाइने) पनि सम्मिलित गराइन्छ। विशेष गरी नौमतीबाजा नौवटा मात्र रहेपनि कतै–कतै १३ वटा भन्दा बढी बजाइएको पाइन्छ।
मुख्यतयाः पञ्चैबाजा चाहिँ नेपाल अधिराज्यका सबै क्षेत्रमा बज्दै आएका छन्। अहिले नेपाली संस्कृतिको रुपमा यो बाजाले देश बाहिर समेत प्राथमिकता पाउँदै आएको पाइन्छ। स्वदेश र विदेशमा समेत पञ्चैबाजा नेपाली संस्कृतिको स्पन्दनको रुपमा रहन सफल भएको छ (दर्नाल, २०६४ः२१६–२२०)
देशभरमा दमाईहरुको जनसंख्यालाई हेर्दा १९९१ सालको जनगणना अनुसार ३,६७,९८९ (१.९९%), सन् २००१ (विंसं.०५८) मा ३९०,३०५ (१.७२%) र सन् २०११ (वि.सं.२०६८) मा ४,७२,८६२ (१.७८%) जनसंख्या रहेको देखाइएको छ। यो प्रतिशत देशको कुल जनसंख्याको आधारमा आधारित छ।
सञ्चारको विकास नभएको ढुङ्गे युगबाट खेतीपाती युगको आदिम सञ्चारकर्मीको रुपमा दमाई जाति र पञ्चैबाजाको देन महत्वपूर्ण रहेको थियो। एक ठाउँबाट अर्को ठाँउमा सूचना सम्प्रेषण गर्न खूट हान्ने गरिन्थ्यो। नेपाल एकीकरणमा विभिन्न कोट र गढीहरुमा युद्ध सैनिकको कमाण्ड दमाई जातिलेनै नेतृत्व गरेको पाइन्छ।
हजारौं वर्षदेखि जन्मजात दमाई जातिको रगतमा पञ्चैबाजाको सम्बन्ध अभिन्न रुपमा गाँसिएको छ। विश्वव्यापिकरणको प्रभावमा पञ्चैबाजाको गौरव र पुस्ता हस्तान्तरण हाम्रो चुनौतीको विषय बनेको छ। दमाई जाति सीप–कला, प्रविधि, सँस्कृति र सभ्यतामा अब्बल रहेका छन्। तर नेपालको तहगत जातीय संरचना, अज्ञानता, आफ्नो कला, संस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, संस्कृतिको संरक्षणमा राज्यको उदासिनताले गर्दा उनीहरुको मौलिक लोकसंस्कृति लोप हुने अवस्थामा पुगेको छ। अहिलेसम्म अपेक्षाकृत उनीहरुको विशिष्ट कलासँस्कृतिको खोज, अनुसन्धान हुन सकेको छैन।
यसर्थ विस्तृत खोजविन गर्नुपर्ने खाँचो यस तथ्यले पुष्टि गरेको छ। जातीय विभेदकै कारणले गर्दा नै मौलिक जातीय कलासँस्कृति लोप भैरहेको अवस्था छ। दमाई जातिमा रहेको लोपोन्मुख मौलिक श्रुतिलोककाव्य सम्पदा तथा परम्परागत गीत, नाच, (दमु)भाषा, संस्कृति, नाटक र वाद्यवादनको अभिलेखीकरण, संरक्षण, सम्वद्र्धन र विकास हुन सकेको छैन। नयाँ पुस्तामा समेत आफ्नो जातीय लोक संस्कृतिप्रति विकर्षण बढ्दै गएको पाइन्छ।
अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासिनता देखिन्छ। यी समुदाय सभ्यता र कला संस्कृतिमा योग्य भएर पनि आर्थिक अभाव, जातीय भेदभाव, विश्वव्यापिकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षा र चेतनाको कमि, दमाई कला संस्कृतिलाई सम्बन्धित समुदायमा राज्यले जिविकोपार्जनसँग नजोडिदिँदा जाति र संस्कृतिनै लोप हुने अवस्था देखिन्छ।
दमाईमा मात्रै प्रचलनमा रहेको दर्जन भन्दा बढी नाचहरु, दमुभाषा, लोककाब्य श्रुति गाथा (हुड्के)गायन, पञ्चैबाजाको विभिन्न लोपोन्मुख राग÷धुनको अनुसन्धानका साथै श्रब्य, दृष्य छायांकन तथा प्रकाशन गरी अभिलेखीकरण गरिनुपर्दछ। यसले उनीहरुको बौद्धिक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक विकास गरिने संभावना रहेको छ।
यसबाट मौलिक सीप–कला, प्रविधि तथा सङ्गीत संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा समेत पर्याप्त योगदान पुग्न सक्छ। साथै परम्परागत अमूर्त सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ पुस्तको सहभागिता बढ्ने छ। सरकारले स्थापना गरेको विभिन्न एकेडेमीहरुमा अक्सर राजीतिक झुकाव राख्नेहरुकै नियुक्ति हुनाले यी समुदायले आजसम्म उचित आजसम्म पाउन सकेका छैनन्। संङ्गीत संस्कृतिको हिसाबले नेपाल मात्रै नभएर विश्वकै लागि अमूल्य रहेको पञ्चैबाजालाई विश्वसम्पदा सूचीमा सूचीकरण गरिनुपर्दछ। साथै संकटापन्न सम्पदाको सूचिमा समेत सूचिकरण गरिनुपर्दछ। राज्यले छुट्टै प्रतिष्ठान स्थापना गरी नेपालको सांङ्गीतिक जाति दमाईलाई संस्कृतिको मुलप्रवाहमा ल्याउनै पर्दछ।
आधुनिक आर्केष्टाको निर्माण गरी गीत–संङ्गीतलाई आधुनिकीकरण गरिनुपर्दछ। संङ्गीत सहचारीको रुपमा विभिन्न देशको राजदूतावासहरुमा उनीहरुलाई नियुक्तिको व्यवस्था गरिनु पर्दछ। कस्मेटिक प्रकारको वर्तमान गीत–संङ्गीतको बाढीमा दमाईहरुलाई उनीहरुको मौलिकपन बचाउन निकै हम्मे परिरहेको छ। भीडहरुको बीचमा उनीहरुको विशेष स्थान रहेको छ।
तर यसबाट जीविकोपार्जन हुन नसकेकोले अरु कामबाट आम्दानी हुने, बाजा बजाएर, कपडा सिलाएर गुजारा नहुने र सामाजिक प्रतिष्ठामा समेत जातीय भेद्भावको शिकार बन्नु परिरहेको छ। पुरातन सामन्ती व्यवस्थाको राप र तापले बाजा बजाएर मनोरञ्जन गराउने। यी लोकप्रिय सांङ्गीतिक जाति दमाई र पञ्चैबाजा लोप हुने अवस्थामा पुगेका छन्।
उनीहरुको सांस्कृतिक सम्पदा संरक्षणको लागि राज्यले विशेष साँस्कृतिक नीति बनाई लागू गर्नुपर्दछ। बिडम्बना राज्यले सांस्कृतिक नीति निर्माणको चरणमा छलफलमा सहभागिता समेत गराउन चाँहदैन। सर्वव्यापी, प्रभाव, प्रभुत्व, वर्चस्व र शक्तिशाली जातीय प्रथाले मूलतः राज्य अहिलसम्म एकात्मक जातिवादी मानसिकताबाट बाहिर आउन सकेको छैन।
पूँजीवादीे युगसम्म आईपुग्दा शिल्पी समुदायले गर्दै आएका विज्ञान, प्रविधि, सीप–कला र संस्कृतिको कामको महत्व अन्य समुदायले पनि बुझ्न थाले। ती कामहरु व्यवसायिक र अर्थोपार्जनका महत्वपूर्ण माध्यम बन्दै गए। त्यसपछि ती कामका क्षेत्र अन्य समुदायले विभिन्न नाममा कब्जा गरिरहेका छन्। शिल्पी समुदाय पुरै विस्थापित वा ती क्षेत्रमा केवल ज्यालादारी मजदुर बन्दैछ। बाध्यतावस पेशा परिवर्तन वा विदेशिनु परिरहेको छ। इतिहासको विभिन्न कालखण्डमा हजारौ हण्डर खाएर पनि ‘पञ्चैबाजा’ लगायतका सीप–कला, प्रविधि लगायतका गौरवपूर्ण पूख्र्यौली नासोलाई जोगाउँदै आए। यसर्थ यी समुदायका आजका सन्ततीले कुनै मानसम्मान वा स्याबासी किन नपाउने? यो सबैका लागि विचारणीय प्रश्न हो।
पहिला पंण्डित्याँइ गर्नेहरुको आज पनि त्यो कामको शान र दाम बढ्दैनै गएको छ। तर नेपाली संस्कृतिका धरोहरहरु आज झन्झन् वञ्चितीकरणमा परिरहेका छन्। यो अदृष्यकरणको दुष्चक्रलाई बदल्ने की नबदल्ने? ‘पञ्चैबाजा’ लगायत कला संस्कृतिको विषयलाई संरक्षणमा लाग्नु आवश्यक छ। तर हजारौं वर्षदेखि आजसम्म बचाएर ल्याउने समुदायको अग्राधिकारलाई कायम गर्ने की नगर्ने? जसका लागि राज्यले यसो गर्न सक्दछः-