परदेशले दिएकोे ‘पुर्नजीवन’

 कथा व्यथा–४ 

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’, एक प्रसिद्ध संस्कृत श्लोक हो। साथै आदर्श वाक्य पनि। नेपालको निशान छापमा यस शब्दको प्रयोग गरिएको छ। यसको नेपाली अनुवाद हुन्छ, ‘आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।’

यो श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा भेटिन्छ। र दुई रूपहरूमा भेटिन्छन्।
पहिलो रूप: यसमा रामलाई सम्बोधन गर्दै भनिन्छ। 

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी।।

नेपाली अनुवाद, ‘मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।’

अर्को रूप– यसमा रामले लक्ष्मणलाई भन्छन्,

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।

अनुवादः लक्ष्मण ! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन्।

जन्मभूमिकै सन्दर्भमा भानु जयन्तीको दिन  प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएका हुन् भन्ने विवादित अभिव्यक्ति दिए। उनको दाबी  छ, ‘भारतको अयोध्या नक्कली हो। माडीको अयोध्यापुरी नै रामको जन्मभूमि हो।’ जुन नेपालको चितवनस्थित माडी नगरपालिकामा पर्छ। उनले त्यहाँका जनप्रतिनिधिलाई भव्य राम मन्दिर बनाउन समेत निर्देशन दिइसकेका छन्। माडी नगरको नामै परिवर्तन गरी अयोध्यापुरी राख्न सुझाएका छन्।
  
उता गत हप्ता अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर बनाउने कार्यको शुरुवात गरे। जुन पाँच सय वर्ष पुरानो ऐतिहासिक बाबरी मस्जिद भत्काइएको स्थान समेत हो। मोदीले त्यहाँ भूमि पूजा पनि गरेका थिए। राम जन्मभूमिको विवादले पछिल्लो नेपाल–भारत सम्बन्धमा  नयाँ तरंग ल्याएको छ।

यहाँ न रामायणका दाजुभाइ राम र लक्ष्मणको गरिँदैछ।  न  त ओली र मोदीको  नै। एक वर्ष यता निल सागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्रमा आश्रित जीवन बिताइरहेका एक भारतीय नागरिकको नेपालप्रेमबारे चर्चा गर्दैछौं।  
  
आनन्द शुक्ला हो उनको नाम। भारतीय नागरिक हुन्। उत्तर प्रदेशको कानपुर उनको घर। उमेर अन्दाजी ४० वर्ष। मानसिक अवस्था पूर्ण रुपमा सन्तुलनमा नरहेका उनी २ वर्ष अघि नेपालगञ्ज आएका थिए। नेपालगञ्जका गल्लीमा बेवारिसे अवस्थामा घुम्ने गर्थे। करीव १ वर्ष निकै कष्टकर रुपमा जीवनयापन गरे। यहाँका चोक र गल्लीका सिंढीहरुमा सुते। कति दिनरात भोकभोकै गुजारे। खुल्ला आकाश छाना थियो। धर्ति औछ्यान थियो। बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले आफ्नो विगत बताएका थिए। 

उनको अवस्था थियो नै त्यस्तै। घर छोडेर हिँडेका थिए, आमा, बुबा र आफन्तीको माया मारेर। यता आफ्नो भन्ने कोही थिएन। पराईको भूमिमा। भोको पेट पाल्नको हरेक पसल चहार्थे। कोही दयालु स्वाभावका मान्छे खानेकुरा दिन्थे। कोही दिदैनथे। यस्ता कैयौ दुःख र पीडासँग सिगौरी खेले। 

उनलाई एक वर्ष अघि निल सागरले सडकबाट उद्धार गरे। कोही नहुनेको साथमा भगवान हुन्छन् भने झैं शुक्लालाई उसले साहारा दिने भयो। निल सागरले समाजमा रहेका विपन्न, बेसाहाराहरुलाई आश्रय दिदै आएको छ। उद्धारपछि ५ महिला नेपालगञ्ज बसे।

नेपालगञ्जको आश्रममा महिलाहरुको बाहुल्य छ। त्यहाँ अप्ठ्यारो हुने देखिएपछि उनलाई कोहलपुर ल्याएको हो। जहाँ १७ जना पुरुष मात्रै बस्छन्। निल सागरका विभिन्न जिल्लामा रहेका आश्रित मध्ये एकमात्र भारतीय नागरिक हुन् उनी। 
 
उनी नेपाली भाषा बोल्न जान्दैनन्। बोली पनि खास्सै स्पष्ट छैन। उनी आफ्नै भाषामा भन्छन्, ‘ए त हामरा घर हे, यहाँ के लोग बहुती अच्छे है, अर हामे बहुत प्यार कर्ते हे।’ 

उनका यी शब्दमा नेपाल र नेपालीप्रतिको माया र प्रेम झल्किन्छ। अहिले उनको जीवनमा धेरै परिवर्तन आएको छ। विस्तारै पूर्वबत अवस्थामा फर्किदैछन्। सबैसँग बोल्छन्, हाँस्छन्, खेल्छन्, रमाउँछन्। अर्काको देशमा पाएको अथाह प्रेमले सामान्य अवस्थामा फर्किन उनलाई लामो समय लागेन। एक आश्रम उनको लागि घर जस्तो भएको छ। यति सम्मकी उनका आमा बुबा लिन आउँदा समेत जान मानेनन्। उनी आश्रममा बस्न थालेपछि उनको ठेगाना र पारिवारिक अवस्थाको खोजि भएको थियो। पछि भारतबाट उनका आमा बुबा समेत आए। उनको हालखबर बुझे। शुक्लालाई आफूसँगै लैजाने आश्रम प्रशासनसँग अनुरोध गरे। तर उनी आफैंले जान मानेनन्। 

छोरा लिन आएका आमाबुबा छोरा बिना भारत फर्किए। आफ्नो घर किन नजानु भएको हो नि?, उनी भन्छन्, ‘नाई नजाने, यही बस्ने। सबैले माया गर्छन्। सबै राम्रा छन्।’

अचेल आश्रमका इन्चार्जलाई आमाबाबा फोन गरेर आनन्दको अवस्थामाबारे जानकारी लिइरहन्छन्। पहिला उनी कसैसँग पनि खुल्दैन थिए। एक्लै बस्थे, बर्बराउँथे। औषधोपचारका कारण अहिले फोनमा कुराकानी समेत गर्छन्। 

अचेल कहिले काँही उनले आमाबाबासँग कुराकानी समेत गर्ने गरेको इन्चार्ज रामचन्द्र पराजुली बताउँछन्। सायद अर्काको देशमा पाएको अथाह प्रेमले होला। उनी आफ्नो घर समेत जान नमानेको। उनी एक प्रतिनिधि पात्र मात्र हुन्। कोही, परिवारबाट विछोडिएका बेसाहारा। बेवारिसे अवस्थामा सडकमा भेटिएकाहरु। घर परिवारबाटै जबरजस्ती पुर्‍याइएका सम्मका व्यक्ति निल सागरमा छन्। ‘मानवता भन्दा ठूलो धर्म केही होइन’ भनेको यहिँ होला।  

प्रकाशित मिति: : 2020-08-17 14:58:00

प्रतिकृया दिनुहोस्