सन् २०१३ को अन्त्यतिर अमेरिकाको फ्लोरिडास्थित पत्रपत्रिकामा एउटा समाचारले निकै महत्व पायो। त्यो समाचार थियो, डेढ वर्षभन्दा बढी साइबर उत्पीडनको सिकार बनेकी फ्लोरिडाकी १२ वर्षीय एक किशोरी रेबेकाको आत्महत्या।
यो समाचारले १३ वर्षकी त्रिशा प्रमुको मनमा यति ठूलो डेरा जमायो। उनले कसम नै खाइन्, साइबर उत्पीडन अर्थात ‘साइबर बुलिङ’ लाई जुन सुकै हालतमा परास्त गरेरै छोड्ने।
उनी आफै पनि ‘साइबर बुलिङ’ को शिकार बनिसकेकी थिइन्। आफूभन्दा कम उमेरकी किशोरीले यसै कारण आत्महत्या गर्नुपरेको खबरले उनको ह्दयलाई नै विचलित तुल्यायो। उनले भर्चुअल संसारबाट अरुलाई गरिने ‘हेला तथा घृणा’ लाई न्युनिकरण गर्न एउटा नयाँ सोचलाई अगाडि सारिन्। जसको नाम हो, ‘रिथिङ्क’ अर्थात पुनर्विचार।
नयाँ पुस्ताका मानिसहरूका लागि साइबर धम्की अर्थात साइबर अपराधको बारेमा जानकारी नहुने कुरै भएन। अनलाइन वा इलेक्ट्रोनिक सञ्चार माध्यम, खास गरेर सामाजिक सञ्जालमार्फत अरूलाई धाकधम्की दिनु, विभिन्न पोस्ट गरेर सताउनु, उत्पीडन गर्नु, अनावश्यक हल्ला फैलाउनु, यौनजन्य टिप्पणी गर्नु, पीडितको व्यक्तिगत जानकारी प्राप्त गरेर घृणायुक्त शब्द पोस्ट गर्नुलाई नै ‘साइबर बुलिङ’ भनिन्छ।
पछिल्लो समय डिजिटल क्षेत्रमा भएको विकास र विस्तारसँगै किशोर–किशोरीमाझ यसको प्रयोग अत्याधिक भइरहेको छ। डिजिटल प्लेटफर्म प्रयोग गर्दा यसको कानुनको विषयमा जानकारी नहुनु नै सबैभन्दा ठूलो समस्या बन्दै गइरहेको छ। अपराधीले जबसम्म आफूले के गर्देछु भन्ने बुझ्दैन, तबसम्म यस्तो घटना भइरहन्छ।
यही कुरालाई किशोर अवस्थामै बुझेकी त्रिशाले ‘रिथिङ्क’ नामक ब्राउजर विस्तार गरेकी थिइन। जसले साइबर प्रयोगकर्तालाई कुनै कुरा पोस्ट गर्नुअघि सम्भावित हानिको विषयमा जानकारी दिने गर्दछ र यसले विभिन्न सन्देश दिँदै पुनर्विचार गर्न प्रश्न गर्छ।
उनको यो प्रयासको निकै सह्राना भएको छ। उनको अनुभव छ, ‘साइबर अपराधका पिडितहरूमा डर, निरासा, क्रोध, आत्मघाती विचारधारा बढ्ने गर्छ र उनीहरू आफ्नो आत्मसम्मान गुमेको अनुभव गर्न थाल्छन्। यसले नकारात्मक भावनाको विजारोपण गर्ने काम गर्छ। जसको नतिजा समाजमा जस्तो सुकै घटना घट्न सक्छ।’
त्रिशाले ‘पेटेन्ट’ गरेको प्रविधिले घृणा पत्ता लगाउनुका साथै अपराध हुनुअघि वा क्षति हुनुअघि यसलाई रोक्ने काम गर्छ।
उनको यो अनुसन्धानले किशोरावस्थाका व्यक्तिहरूको दिमाग ९३ प्रतिशतले परिवर्तन भएको र आपत्तिजनक सन्देश पोस्ट नगर्ने निर्णयमा पुगेको पुष्टी भएको छ। त्यसैले अहिले उनको कामको वाहवाही भइरहेको छ।
त्रिशा आफैं पनि एउटा सामाजिक कार्यकर्ता हुन्। उनले ‘अनलाइन घृणा’ विरूद्ध आवाज उठाउँदै आइरहेकी छिन। उनले यसका लागि विभिन्न र्यालीको आयोजना पनि गरेकी छिन्।
हालसम्म उनले २४ शहरमा ३८ वटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गरिसकेकी छिन्। उनले ‘रिथिङ्क’ को बारेमा विभिन्न संघसंस्था, विश्वविधालय र पारिवारिक अनलाइनमा समेत प्रस्तुती दिइसकेकी छिन्।
त्रिशा हालै २० वर्षमा पाइला टेकेकी छिन्। तर, उनी १० वर्षको उमेरदेखि नै ‘कोडिङ’ गर्न सुरु गरिसकेकी थिइन। यसले पनि प्रविधिप्रति उनको लगाव र ज्ञानको पुष्टी गर्छ। उनी प्राविधिक दक्षता मात्र भएकी युवती होइनन्, उनमा ठूलो र विश्वलाई नयाँ ज्ञान दिने चेत पनि छ।
त्यसैले त उनको प्रसंसा विश्वव्यापि हुन थालेको छ। त्रिशा ‘रिथिङ्क’ को कार्यकारी प्रमुख हुनुको साथै सामाजिक उद्यमी पनि हुन्। सन् २०१६ मा तत्कालिन राष्ट्रपति बाराक ओबामा र अमेरिकाको केन्द्र सरकारले उनको कामको प्रसंसा गरेको थियो। उनले यस अवसरमा आफ्नो कथा थुप्रै उद्यमीसँग बाँड्ने अवसर प्राप्त गरेकी थिइन्।
उनको सोचबाट प्रभावित एबिसी मिडियाले आफ्नो चर्चित टिभी कार्यक्रम ‘सार्क ट्याङ्क’ मा ‘रिथिङ्क’ लाई प्रदर्शन गरेको थियो। सन् २०१९ मा ‘रिथिङ्क’ लाई विश्व चर्चित विश्वविधालय हार्वर्डले सम्मानसमेत गरेको थियो। त्रिशा हार्वर्ड विश्वविधालयको ‘प्रेसिडेन्सल इनोभेसन ग्राण्ड’ पुरस्कार जित्ने युवा किशोरी हुन्।
उनको अनुसन्धानलाई सन् २०१४ मै गुगलले आफ्नो कार्यक्रम ‘गुगल साइन्स फेयर’ मा ग्लोबल फाइनलिस्टको उपमा दिएको थियो। उनले २०१६ मा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) बाट इन्सपायर एरिसटोटल पुरस्कार जितकी थिइन। उनलाई त्यही वर्ष इलिनोइस विश्वविधालयले युरबाना–चेम्पिभेसन इलिनोइस हाइस्कुल इनोभेटरको पुरस्कारबाट सम्मानित गरेको थियो।
‘साइबर बुलिङ’ विरूद्ध वकालत गर्दै आएकी त्रिशालाई २०१५ मा ग्लोबल टिन लिडरको रूपमा समेत सम्मान गरिएको थियो। उनी बेलायतकी पूर्व राजकुमारी डायनाको नाममा राखिएको अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भइसकेकी छिन्।
त्रिशा भन्ने गर्छिन्, ‘साइबर अपराधीहरू गलत दिसामा छन् भनेर छोड्न हुँदैन। दुष्टता जतात्यतै छ। दुष्ट विचारहरूलाई बढ्न दिएकै कारण उनीहरूको मनोबल बढेको हो।’
उनी ‘रिथिङ्क’ ले यस्ता अपराधीलाई अरुको विषयमा कुनै कुरा पोस्ट गर्नुअघि एक पल्ट सोच्न मौका दिने र अपराध कार्यमा लाग्ने कि नलाग्ने भनेर सोच्न बाध्य पार्ने बताउँछिन्।
त्रिशाले भने जस्तै हाम्रो समाजमा पनि थुप्रै साइबर अपराधी छन्। के उनीहरूलाई पुनर्विचार गर्न नदिएर हामीले त्यति कै छोड्ने? अन्य देशमा मात्र होइन, नेपालमा पनि पछिल्लो समय साइबर अपराधको घटना बढ्दो छ। त्यसैले यसका लागि त्रिशाले भने जस्तै हामीमा पनि जागरुकताको आवश्यकता छ।
एजेन्सीको सहयोगमा