नेपालका विभिन्न खोला तथा नदीमा अवैध रुपमा जलयात्रा सञ्चालन गर्दा व्यवसायी मारमा परेका छन् । नेपालका नदीहरुमा साहसिक जलयात्राको प्रचुर सम्भावना भएपनि विभिन्न व्यक्ति र स्थानीय तहले आफूखुशी जलयात्रा सञ्चालन गर्दा दर्ता भएर सञ्चालित व्यवसायीहरु मारमा परेका हुन् ।
जलयात्रा नियमावली २०६३ को परिच्छेद २ को दफा ३ मा व्यवस्था भएअनुसार जलयात्रा व्यवसाय सञ्चालन गर्न अनिवार्य रुपमा पर्यटन विभागबाट इजाजतपत्र लिनुपर्ने हुन्छ । मुलुक सङ्घीयतामा गएसँगै हरेक स्थानीय तहले आफू नजिक रहेका नदीमा जलयात्रा सञ्चालन गर्दै आएका छन् ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनाल अवैध रुपमा दर्ता नगरी आफूखुशी जलयात्रा व्यवसाय सञ्चालन गर्दा पर्यटकहरु असुरक्षित हुने बताउँछन् । अवैध रुपमा जलयात्रा सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ । “हिमनदीको प्रकृतिअनुसार बाहिरबाट हेर्दा साधारण बहाव रहेको स्थानमा पनि जोखिमयुक्त रहने भएकाले अनिवार्य रुपमा इजाजत प्राप्त दक्ष रिभर गाइडको साथमा मात्र जलयात्रा गर्न अनुरोध गर्दछु”, महासचिव खनाल भन्छन् ।
स्थानीय तहले जलयात्रा सञ्चालन गर्दा तालीम प्राप्त गाइड नहुँदा जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुनसक्ने भएकाले समयमै सचेत रहनुपर्ने खनाल बताउँछन् । नाराले अवैध रुपमा सञ्चालनमा रहेका जलयात्रा व्यवसायलाई तत्काल नियन्त्रणमा लिई दण्ड जरिवाना गर्नुपर्ने बताएको छ । सरकारले नेपालका १६ नदीलाई जलयात्रा व्यवसायका लागि अनुमति दिएको छ । जसमध्ये भोटेकोशी, सुनकोशी र कर्णाली विश्वप्रसिद्ध नदीहरु हुन् । उक्त नदीमा विदेशी पर्यटक जलयात्राका लागि बढी आउने गर्दछन् ।
यस्तै, त्रिशूली, सेती र मस्र्याङ्दीलगायत नदीमा पनि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । नेपालमा हाल ८५ कम्पनीले मात्र पर्यटन विभागमा सम्बन्धन लिएर जलयात्रा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । जलयात्रा व्यवसाय सञ्चालनका लागि दुई सेट डुङ्गा, दुईजना रिभर गाइड र एकजना कायक अनिवार्य रुपमा राख्नुपर्छ । डुङ्गाको सेट, गाइड र कायकका लागि एउटा व्यवसायले झण्डै रु ५० लाख खर्च गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त उक्त व्यवसाय सञ्चालका लागि पर्यटन विभागमा रु ५० हजार धरौती राख्नुपर्ने हुन्छ ।
नाराले जलयात्रामार्फत आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनका लागि हरेक वर्ष ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता गराउँदै आएको छ । सन् २००२ बाट कायक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएकामा पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल बताउँछन् ।
नेपालमा सन् १९७२ देखि जलयात्राको शुरुआत भएको हो । शुरुमा बेलायती नागरिकले जलयात्रा शुरु गरे पनि व्यावसायिक रुपमा भने सन् १९७५ देखि शुरु भएको थियो । नेपालका नदीहरुमा एकपछि अर्को जलविद्युत् कम्पनी निर्माण गर्दा र अवैध रुपमा बालुवा निकाल्दा जलयात्रा व्यवसाय धरापमा परेको व्यवसायीहरु बताउँछन् । यस्तै, नदीको किनारमा पोशाक फेर्ने ठाउँ र शौचालयको अभाव हुँदा जलयात्रा व्यवसायलाई समस्या थपिएको छ । सरकारले जलयात्रा क्षेत्रलाई विशेष प्राथमिकता दिएर विदेशी पर्यटक भित्र्याउन लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।