सरकारी तथ्यांक अनुसार २० जना एसिड आक्रमणबाट पीडित मध्ये १८ महिला र दुई पुरुष छन्। महिलामध्ये धेरै किशारी छन्। पीडितहरुले एसिड आक्रमण गर्नेलाई जन्मकैद वा आजीवन कैदजस्ता कडा सजाय हुनुपर्ने माग गरेका छन्।
आँखा मात्रै देखिने गरी बाँधिएको स्काफ। टाउकोदेखि निधारसम्म र घाँटीदेखि नाकसम्मको भाग छोपिएको। एसिड आक्रमण पीडित वीरगन्जकी मुस्कान खातुन सोमबार सिंहदरबारस्थित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकका लागि यसैगरी आएकी थिइन्।
समितिले एसिड आक्रमणबाट पीडित भएकाहरुको अवस्था र विद्यमान कानुनी अवस्थाबारे छलफल गर्न मुस्कान जस्तै अन्य पीडित र मन्त्रालयका प्रतिनिधिहरुलाई बोलाएको थियो। बिहान ११ः१५ बजेतिर आफ्नो आमाबाबुसहित आएकी मुस्कान बैठक कक्षको ढोकामा पुगेलगत्तै गर्मी भए जसरी स्काफ निकालिन्। तीनै जना एकैछिन उभिए । उनीहरुलाई मर्यादापालकले स्यानिटाइजर लगाएर भित्र जान संकेत गरे।
भित्र पस्नै लाग्दा मुस्कानलाई एक मर्यादापालकले मास्क लगाएर जान भने। उनले आफ्नो दायाँ भाग गालातिर हात लग्दै, थोरै फर्किएर एसिडले जलेको भाग देखाउँदै भनिन्, “मेरो यो साइड ड्यामेज छ, मास्क लगाउन मिल्दैन।”
उनी तिनै १४ वर्षीया किशोरी हुन्, जसलाई ११ महिनाअघि पढ्न जाँदै गर्दा दुई जनाले बाटो ढुकेर एसिड हानेका थिए। उनको अनुहारको दायाँ कान, गालासहितका भाग जलेर खाटा बसेको छ। त्यहाँ मास्क अड्काउन मिल्दैन।
समितिका सदस्यलाई २० भदौ २०७५ को घटना सुनाउँदै गर्दा मुस्कान भक्कानिएकी थिइन्। उनलाई एकजना दाइले गरेको रु.५ लाख सहयोगले कीर्तिपुरमा पहिलो अपरेशन भएको थियो। त्यसपछि उज्जवल विक्रम थापाले सहयोग गरे। विभिन्न व्यक्तिले गर्ने आर्थिक सहयोगमा नै उनको उपचार भइरहेको छ।
उनले सांसदहरुसँग भनिन्, “अहिले मलाई दिनको पाँच पटकसम्म औषधि लगाउन डाक्टरले भन्नुभएको छ। तर, पैसा नभएर दिनको एकचोटी मात्रै लगाउने गरेको छु। अझै मेरो नौ वर्षसम्म निरन्तर उपचार गर्नुपर्छ भनिएको छ, कसरी उपचार गर्ने? बाबाममीको पनि केही काम छैन, मसँगै काठमाडौं बस्नु परेको छ।”
उनको तिघ्रा, पेट लगायत भागको मासु काटेर पोलेको ठाउँमा राखिन्छ। बारम्बार अस्पताल धाउनुपर्ने कारण बाबाआमाले धान्न सक्ने अवस्था नभएको उनले दुखेसो गरिन्।