‘२२ पाटनको बुकि हाम्रो,
सुनको किरा यार्सा राम्रो।
चट्ट टिमुर पाखा भरि,
डाँफे चरी वरिपरि।
भित्री मधेस हरित वन,
कर्णालीको पहिलो धन।
चौंरी चर्ने खर्क धेरै,
राज्यले चिन्ने कहिले बरै?’
क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो हाम्रो कर्णाली, अनि सबैभन्दा ठूलो कर्णालीको वन क्षेत्र पनि। समुद्री सतहको ७०० मिटर देखि ५००० मिटर माथिसम्मको उचाईमा विभिन्न भौगोलिक क्षेत्र ओगटेको छ, कर्णालीले।
कर्णालीको वनले भित्री मधेसका समथर फाँटमा रहेका वन जंगलदेखि तिब्बत छुने हिउँचुली पारिका पाटन (खर्क) सम्म कर्णालीको वन क्षेत्र फैलिएको छ। जहाँ विभिन्न वन्यजन्तुको बसोबास रहँदै आएको छ।
सामान्यतया, वन भन्नाले हरिया रूखले ढाकेको क्षेत्र बुझ्दछौं। वन भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइनुका साथै घासे मैदान, ठूला-ठूला झाडीहरुलाई पनि बुझिन्छ र वन्यजन्तुको बासस्थान रहन्छ।
वनको भू-भाग भित्र पाइने सबै सामग्रीलाई वन पैदावार भनिन्छ। वन पैदावार भन्नाले वन क्षेत्रबाट प्राप्त हुने काठ, दाउरा, जिवित वा मृत वन्यजन्तुका आखेटोपहार वा पुरै वन्यजन्तु नै त्यहाँ भित्र रहेका सम्पूर्ण प्राकृतिक सम्पदा आदि इत्यादिलाई बुझिन्छ।
कुनै पनि ठाउँको प्राकृतिक भू-बनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिन्छ। कर्णाली भित्रको भौगोलिक बनोटको आधारमा वन क्षेत्रलाई पनि विभिन्न प्रकारमा विभाजन गरिएको छ। 'समशितोष्ण वन' देखि 'अल्पाइन क्षेत्र' सम्म रहेको कर्णालीको वनको भू-भाग आफैंमा कर्णालीलाई आर्थिक रुपान्तरण तर्फ लैजाने बहुआयामिक श्रोत हो। जसको सही सदुपयोगले कर्णालीले आफ्नो मुहार आफैं फेर्न सक्नेछ। प्राकृतिक सम्पदाको सधै धनी कर्णाली क्षेत्र आफ्नै अचुक सम्पत्ति प्रयोग बिना नै सन्तुलित विकासको संघर्षमा अगाडि बढ्दैछ।
कुनै पनि विकासको पहिलो आधार भनेको त्यो क्षेत्रको प्राकृतिक सम्पदा रहन्छ। कर्णालीको विकासको मध्य बिन्दुमा कर्णालीको वन रहनुपर्छ। जलवायु परिवर्तनका दृष्टिकोणले र जैविक पर्यावरण सन्तुलनका हिसाबले आज पनि सबैभन्दा उत्कृष्ट स्थानमा छ, कर्णालीको वन जंगल।
वन क्षेत्रको उचित व्यवस्थापन र दिगो विकासका निम्ति कर्णालीबासी स्वयमले र सरकारी निकायले बुद्धिमत्तापूर्वक चालेका हरेक कदमले कर्णालीको प्रगतिको बाटो कोर्नेछ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रले कर्णालीको वनजंगल र वन्यजन्तु संरक्षणलाई ठूलो टेवा पुर्याउने र पर्यटन आगमनमा पनि मद्दत हुने भएकाले कर्णालीका ‘समशितोष्ण र शितोष्ण वनदेखि अल्पाइन जोन’ लाई ओगटेर अझै धेरै यस्ता संरक्षण क्षेत्र, कनेक्टिभिटी र ल्यान्डइक्स्केपको विकास हुन जरूरी छ।
IUCN र CITES जस्ता वन्यजन्तु संरक्षण संस्थाले रेड लिस्ट गरेका ‘रेड पान्डा (हाब्रे), हिउँ चितुवा, कस्तुरी, ब्लु सीप, जंगली चौरी गाई, आदिको संरक्षणका निम्ति पनि कर्णालीमा संरक्षण क्षेत्रको स्थापना हुन जरूरी छ। यसले कर्णालीका वन क्षेत्रको संरक्षण मात्रै नभएर जैविक पर्यावरणमा पार्न सक्ने फाइदाहरुले समेत कर्णालीलाई स्वच्छ वातावरण दिनेछ। प्रदुषण मुखी आजको यो विश्वमा जैविक विविधताको सन्तुलनका निम्ति पनि वन क्षेत्रको संरक्षण हुन जरूरी छ। त्यो आफैंमा सर्वप्रथम हुने विकासको पहेली हो।
जडिबुटी संकलनको दीर्घकालीन व्यवस्थापन हुनसके कर्णालीको ठूलो आर्थिक सुदृढीकरण हुनेछ। कर्णालीको आर्थिक श्रोतको आधार पनि जडिबुटी नै हुनुपर्छ। नेपालभर पाइने जडिबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमै पाइन्छन्। IUCN रेड्लिस्टेड यार्सागुम्बादेखि गुच्ची च्याउ, पाँचऔले, सुतुवा, टिमुर, आदिको भण्डार हो, कर्णाली।
उचित व्यवस्थापनका साथ जडिबुटी संकलन र प्रसोधन केन्द्रको स्थापना कर्णालीमै हुने हो भने कर्णालीबासीले रोजगारी र मध्यम वर्गीय जीवनस्तर जिउन कालापहाड (भारतसँगै अन्य विदेशी मुलुक) गइराख्नुपर्ने छैन।
अबको कर्णालीको विकास दीर्घकालीन हुन र जैविक पर्यावरणलाई मध्यनजर गर्दै कर्णाली भित्रैको वन क्षेत्रलाई विकासको मुलमन्त्र बनाउन सके भावी पुस्ताका लागि कर्णाली एउटा ड्रीम प्यालेस हुनेछ। हरेक विकासको मुख्य कण आफूमा पाउन सके मात्रै राज्यले अग्रगामी दिशा निर्धारण गर्छ।
त्यसैले अबको विकास वन क्षेत्र केन्द्रीकृत भए, कर्णाली प्रदेशलाई आत्मनिर्भर हुनबाट कसैले रोक्न सक्नेछैन। अब आफू भित्रै आफ्नो आउने दिनको मूल्याकंन हामी आफैले पनि गर्ने कि?