ऐंठन जिउने पुत्लाहरु

मुक मुक, भरेका बन्दुक,

तँ र म- दुई पुत्ला !

घडीपला मैलिए पनि, तीन-तला फैलिए पनि

तरुलभै खुम्चेका, बिरूपभै गुम्सेका

गल्छी, गह्रा र गल्छेडाहरुमा

माथिका मालिक र तलका शालिकसामु मृत-मृत ज्यूँदा  

खुट्टा लगाएर उभ्याईएका कुभिण्डा !

तँ र म इतिहासका रहलपहल भुत्ला, खोक्रा बोक्राका पराले पुत्ला !

***

कसैले उज्याईदिएको धार, कसैले उभ्याईदिएको आकार!

मालिकले मुट्ठीभर पराल बटारेर,

त्यसैमा माटो घसारेर

हाम्रो आकृति कोर्छ ।

रंग पोखेर पहिचानको नाममा अस्तित्व चोर्छ ।

माथिबाट बुट्टा मोहोर्छ, तलबाट सुन सोहोर्छ ।

न घर, न ठहर, न ठेगाना, न सपना,

बोक्रो र खोक्रोपनमै मखलेल तँ र म,

बन्छौं तर्साउने मुर्कट्टा

या फुल बर्साउने सप्ताहपूजाका मुर्ति ।

कमाराजस्तै मालिकद्वारा मालिकलाई बेचिइने

हप्तौं स्थुल पर्खालनेर ओसिँदै थेचिइने,

‘साङ्गता’ को दिन उत्सव-काँधमा केहीबेर खेलाइने

पलभरमा नदि-तीरमा सेलाइने

हामी मूर्ति त हौँ !

पानीले पगाल्दिने परिचयको रंग, छालले उखेल्दिने उधारो उमंग !

तँ र म सिर्फ कंकाल-करङ्ग, भिजेका पराले मुठाका अंग !

बस् क्षतविक्षत अस्तित्वका भुत्ला, रङ्ग उडेका पराले पुत्ला !

***

जलाइदिए जल्ने, गलाइदिए गल्ने, ढलाईदिए ढल्ने

कुहुन्छौँ बरु ! अहँ, चुँ बोल्दैनौं। 

डहन्छ सहन्छौँ, तर घाउ खोल्दैनौं ।

नदीछालले होस् या नदीबाहिरको जालले

हरेक दिन चोक्ट्याउंछन् तेरा मेरा तन, मन

कान, हात, गिंड, वदन

टुक्रा-टुक्रा पुग्छौँ नवमालिकका कारखाना

नुन र कानुनमाथिका सुन सजिने हातहरुले

हाम्रा घाँटी निमोठ्छन्, हाम्रा छाती चिमोट्छन्

बनाईन्छौँ पुतली बिरूप बिरूप

अनि ठड्याईनेरैछौं हामी भोलिपल्ट

खुम्चिएका खुल्लामन्चमा !

जहाँ दिनहुँ नौटंकी मन्चन हुँदोरहेछ

खोइ कसको मन छुँदोरहेछ

हजार हत्याले उल्टो कोहीको दाग धुँदोरहेछ

तब त यहाँ पलपल घन्टाघर रुँदोरहेछ !

शिरिष, ज्याकाराण्डा त्यसै मुर्झाए ।

हिमाल पग्लेर अवाक् अडिए ।

यता कसैले भांच भने भाँच्ने, कोइले धागोले नचाए नाँच्ने

तेरो मेरो कमर

भूइंचालोले ढल्छ, बाढीले गल्छ,

गोलीले जल्छ, बलात्कार र बिमारले बल्छ

बोल्दैन हाम्रो ज्ञानी मन

न बोल्छ शालिक, बोल्छन् त सिर्फ उही मालिक !

हाम्रा पाउ सरेझैं देखिए’नि अघि बढेका हुन्नन्

हाम्रा ओठ बोलेझैं देखिए’नि बोली फुटेका हुन्नन् !

मालिक उत्तर- दक्खिन ढल्किदा, खोक्रोपनमा घाउ बल्किंदा

भीडबीच तँ र म अनाथ पसारिन्छौँ

थुप्रै पैतालामुनि निश्वास घसारिन्छौँ ।

उठ्छौं कुनै दिन मालिकलाई माला भिराउन

या कुनै लाल-मोहर बाकसमा पत्र छिराउन !

धिक्कार तँ र म !

कहाँ पाउँछ तेरो मेरो भक्कानिएको मनले सगरमाथा छुन,

शायद हामी त बन्छौं नै विसर्जित हुन,

नदीकिनारमा फेकिएर रुन,

या खोक्रोपनले अस्तित्व धुन,

पुन: पुन:

पुस्तौं-पुस्ता खुट्टा लगाइदिएका कुभिण्डा !

सप्ताहका मुर्ति

या जीर्ण-शीर्ण भुत्ला

तँ, म सब, पराले पुत्ला !

प्रकाशित मिति: : 2020-07-29 15:24:26

प्रतिकृया दिनुहोस्