डोटीको केआई सिंह गाउँपालिकास्थित वायलमा रोपाईको बेला बजाइने बाजा र त्यहाँका दमाईहरुले गाउने गीतको चर्चा चल्छ धेरैजसो ठाउँमा। सुमधुर लयमा खेतका गरामा हिलो सम्म्याउँदा मिजुरा झ्याली दमाहा र ढोलकको तालमा गाइन्छ रोपाई गीत। यसपल्ट कोरोना संक्रमणको त्रास छदाछदै अषाढको अन्तिम सातातिर पुगेको थिएँ वाइलसम्म।
डोटीका पत्रकार मोहन शाहीको प्रेमपूर्ण निम्तो र भाइ राम भट्टको कुशल ड्राइभिङ, तेजबिक्रम शाही, गोविन्द कठायत र कवि लोकराज भट्टको प्रेम यादगार बन्यो। त्यस्तै यादगार बन्यो के आइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीसँगको वर्षौ पछिको भेट र उनले देखाएको प्रेमपूर्ण अतित्थ्य। अनि यादगार बन्यो जसको नामबाट गाउँपालिकाको नाम जुराइयो ती महान व्यत्तित्व डा. के.आईसिंहको जन्मभूमि, उनले वाल्यकाल बिताएको गाउँको भ्रमण। सबैभन्दा यादगार बन्यो गणेश नेपालीसँगको भेट र ढोलीविद्या अर्थात दमाई विद्याको दस्तावेज देख्न पाएको त्यो क्षण।
मेरो मनमा रहेको कोरोनाको डरलाई ओझेलमा पारिरहेको थियो मनभरी पलाएको वायलको रोपाई हेर्ने रहरले। तर, त्यो रहर पूरा हुन पाएन। त्यतिखेर त्यहाँ हरिया धानका बोटले सुन्दरता बढाइरहेका खेतका गरामा धान गोडिरहेका देखिन्थे महिलाहरु। जेठमै रोपाई भैसक्दो रहेछ त्यहाँ। ती रोपाइमा बाजा बजाउँदै गीत गाएर मनोरञ्जन प्रदान गर्ने कलाकारहरुको बस्तीमा पुग्दा घरको भित्तामा ढोका माथि झुण्डिएकै देखिन्थे रोपाईमा बजाइएका ढोलक। गणेश नेपालीकी जहान गुनगुनाइरहेकी थिइन् धान रोप्दा गाइने गीतका पंक्ती।
बाहिरबाट हेर्दा सामान्य देखिने दमाहा र ढोलक लगायतका बाजाहरु बजाउदा समय परिस्थिति र स्थान अनुसार फरकफरक निस्कने धुनको बारेमा चर्चा गर्न थाले गणेशले। उनका अनुसार उकाली, ओराली, खोला, भावर, समतल भूभाग अनि नदी तर्दा बजाइने बाजाको ताल र धुन छुट्टै हुन्थ्यो। अनि लाश लगेर मसानतिर जादा बजाइने बाजाको ताल छुट्टै हुन्थ्यो। उहिलेका मान्छेहरु थाहा पाउँथे र छुट्ट्याउन सक्थे ती तालहरु। अहिले सबैगाउँमा न ती बाजामा विगतकाझैं सबै प्रकारका तालमा बाजा बजाउन जान्नेहरु रहे न समाजमा ती त्यस्ता ताल सुनेर पहिचान गर्न सक्नेहरु नै रहे। सुदूरपश्चिममा बजाइने बाजा र तालको अझैं हुन सकेको छै अध्ययन।
संगीतको दुनियामा निकै कर्णप्रिय र महत्त्वपूर्ण धूनहरुका साथै संगीतको लय पस्किरहेका छन् यहाँका दमाइहरुले परापूर्व कालदेखि नै। कतिपय धुनहरु लोप भैसके भने कतिपय लोपन्मुख छन्। नयाँ पुस्ताको खासै चासो देखिदैन बाउबाजेको कामप्रति। पछिल्लो पिडिमा गाउन बजाउन कसैलाई चासो छैन। ‘तम्रो यो चाँचरी गाएर, दमाहा ढोलक बजाएर टामनटुमन गरेर के हुन्छ? मान्छे काँबाट काँ पुगिसके तमी अझ उस्तै छौ भनिदिदा छन् छोराहरु’ –गणेशले सुनाए यथार्थता। रोपाई गरा गाउदा बजाउँदा पेशागत बनाउन पाए जोगिन्थ्यो कि पुरानो चालचलन ठान्छन् उनी। दिनभरी बाजा बजाएर साँझ मात्र एक माना चामल पाइन्छ भने नयाँपुस्ताको यसप्रतिको आकर्षण पनि कसरी बढोस्। त्यसैले त विगतमा जसरी गाउने बजाउने काम कम हुँदै गइरहेछ।
खेतमा कोदाली चलाउँदै बाजाको तालमा खन्दै नाच्दै अनि ठुल्ठुला गरामा बाजाको तालमा गाउँदै खुट्टाले हिलो सम्म्याउँदै गर्दा थकाइ लागेको पत्तै पाइँदैन थियो। विगतमा रोपाई सकेर पनि बेलुकी रोपाई वालाको आँगनमा दुई तीन घन्टासम्म गाना बजाना चल्थ्यो। एक प्रकारको आनन्द र उमङ्ग छाउँथ्यो मनमा। ती दिनहरु फर्किने वाला छैनन् अब। केही वर्ष पछि भेटिने छैनन् रोपाई गरामा चाँचरी धमारी गाउँनेहरु, बाजा बजाउनेहरु। यो सबै हुनुको पछाडि समाजले दमाईहरुको पेशालाई पेशागतरुपले महत्त्व दिन नसक्नु नै हो। यदि दुई पैसा आर्जन गर्न सक्ने माहोल बन्दो हो उनीहरुको अस्तित्व स्विकारीदो हो त सिक्थे होलान् उनका सन्ततिले पनि। केही सीप नचलेपछि भारततिर यात्रारत बनिदिन्छन् पछिल्लो पुस्ताका पाइलाहरु।
शुभ कार्यदेखि मान्छे मर्दा घाटसम्म पुग्नु पर्ने क्रममा बजाइरहे दमाइहरुले बाजा। गाइरहे गीत। तर पुगेन पेटभरी खान कहिल्यै पनि। त्यसैले त गणेशले सुनाए एउटा कहावत – ‘चरो लोटी (लडेर) नमरोस् मान्छे भोको नमरोस्।’ तर, विगतमा झेलेको भोक सम्झिदा रसाउँछन् उनका आँखा अहिले पनि। बढी भोकमरी हुने महिनामा पर्थे श्रावण भाद्र र आश्विन। श्रावण १५ पछाडि मात्रै दैमाछो ( माथिल्लो जातका भनिएकाहरुका दैलोमा माग्न जादा भनिने शब्द ) भन्यौ, छकालो (बिहान) माग्यौं, टामनटुमन गर्यौं,भारी बोक्यौं गुजरा चलायौं। विगत निकै कष्टकर थियो भावुक बनेर सुनाए पुराना दिनका कुरा।
गणेशभन्दा अगाडिकाहरुको दुःख र भोकको कथा अझैं दर्दनाक थियो। तथापि कम्ता छैनन् गणेशले झेलेका दिनहरु पनि। भोककै कुरा गर्दा एक पल्ट ११ कपिलाले आधि माडो(चामलको बाक्लो रोटी ) खाएर रात बिताएको सम्झिदै सुनाए – ‘एउटाले असकोट सिलाइदिन भनेको थियो। घरमा खानलाई अन्नको दाना थिएन। केही देलान् र साँझ खाउला भन्ने आशैआशमा दिनभरी उनको असकोट सिलाएर बेलुकी पुर्याउन गएँ। उनको घरमा पुगेपछि थाहा भयो त्यहाँ पनि भोगमरी नै रहेछ। संयोगले त्यसैदिन केही समय अगाडि मात्रै उनकी श्रीमती माइतबाट आएकी रहिछन्। माइतिबाट ल्याएको आधी माडो दिइन् र घरमा ल्याई ११ टुक्रा बनाई बाँड्यौ।
भागमा परेको त्यही सानो एक टुक्रा रोटीसँगै एक एक अम्खरा पानी पिएर पल्टियौं। आफ्नै निधारमा हत्केला बजारेर सोचमग्न भएर रात बिताएँ। त्यो रात जिन्दगीकै अविष्मरणिए रात थियो। धेरै दिनसम्म अन्न भएकाहरुसँग निकै अनुरोध गरेर मागेको गहुँ जौंको पिठो एक मुठी र अलिकति नुन पानीमा राखेर उमाल्यौं र त्यही पानी पिएर छाक टार्यौं।
गणेशको विगत निकै नै दुखद छ। विगतका सुनिएका र देखिए भोगिएका घटना सम्झी कहिलेकाही भक्कानिन्छन् उनी। ‘तीन वर्षको छदा आमा बितिन्। मणे दूध चुसे छु। पछि अरुले छुटाएछन्’– त्यो घटना कल्पेर एकछिन मौन बने उनी। डोटेली भाषामा मृतकको शरीरलाई मुर्दा, लाशका साथै मण पनि भनिन्छ। आँगनमा राखिएको लाशको छातीमा चढेर दूध चुसेछन् उनले। आमा बितेको केही समयपछि उनका बाबुले अर्को बिहे गरे। एघार वर्षको उमेरमा उनका बुवा पनि गए कहिल्यै नफर्किने गरी। गणेशले भित्र राखिएको ढोली विद्या अध्ययन गरे। चाँचरी, चैत,धमारी जस्ता प्राय सबै गीत सिके, कण्ठ पारे। १५ वर्षको उमेररमा बिहे भयो। बिहे भएको दुई वर्ष नबित्दै श्रीमतीको दुबै आँखाको ज्योति गुम्यो। अनि दृष्टिबिहीन बनेकी श्रीमतीले कर गरिन् गणेशलाई दोश्रो बिहे गर्न। त्यसपछि उनले दोस्रो बिहे गरे। अहिले दुइटी श्रीमती र छोराछोरी सँगै बसिरहेका छन्।
पहाडी कागजका दुई पाना एउटैमा टासेर त्यसमाथि रुखका पात पकाएर बनाइएको मसीले लेखिएको पुरानो दस्तावेज जतनले राखेका छन् उनले। त्यसमा लेखिएका सबै कुरा थाहा पाउँदैनन् उनी पनि। अलिअलि अर्थ लगाउँछन्। डोटेली भाषामा दमाईलाई ढोली पनि भन्ने भरिन्छ। तिनीहरुले अध्ययन गर्ने विद्यालाई ढोली विद्या भनिन्छ जुन अरुलाई देखाइदैन थियो। गोप्य राख्ने चलन थियो। त्यो ढोली विद्या उनका बाले लेखेका थिए वा पूर्वजकै पालाको थियो थाहा छैन उनलाई। उनका पुर्खा जुम्लाबाट डोटीको जोरागाउँ आई बसेछन्। त्यहाँबाट एक भाइ वायल आई बसेछन्। कार्कीहरु आएको एकदुई वर्ष पछाडि आएका हुन् रे उनका पुर्खा त्यो ठाउँमा। अहिले उनीहरुको सात पुस्ता चलिरहेको छ त्यही ठाउँमा। कार्कीहरुले बि.स. १६५५ मा आफ्नो पुस्ता आएको कुरा पुष्टि गरिसकेका छन्। यस हिसावले हेर्दा गणेशको पुर्खा त्यहाँ आएको पनि ४ सय ३४ वर्ष भैसक्यो।
लामो समयसम्म बालीघरे प्रथा अनुसार सिलाउने र बाजा बजाउने काम गरेका गणेशले अहिले लुगा सिलाएको र बिहेमा बाजा बजाएको पैसा लिन थालेका छन्। थोरै भए पनि पेशागत बिकासको थालनी भएको छ। १६ वर्षकै उमेरमा भारतको पञ्जावमा दरवानी गर्न पुगेका उनले जिन्दगीका केही वर्षहरु उतै विताए। इच्छा हुँदाहुँदै पनि गरिबिका कारण कान्छो छोरा बाहेक सकेनन् सबै छोराछोरी पढाउन। कान्छो छोरो घर नजिकैको विद्यालयमा ६ कक्षामा पढ्छ। करिव दश वर्ष भयो उनी धामी बनेको। घटाल देवता काप्छ रे उनको जीउमा। उनका हातभरी चाँदीका बाला छन् कानभरी सुनका मुद्रा छन्। कतिपयले भाकल गर्छन्, वाचा चिताएको कुरा पुगेमा चाँदीका बाला, सुनका मुद्रा दिउला भनेर।
त्यो पुरा हुँदा देउता काँपेको बेला उनका हातमा र कानमा लगाई दिन्छन्। आपतविपद पर्दा गाउँलेले देउता सोध्न बोलाउछन् उनलाई। यसरी देउता सोध्दा थालमा चामल र भेटी वापत पैसा राख्छन् चामलको थालमाथि दीयो जलाउछन्, धूप सल्काउछन्। अरु ठाउँमा त्यो चामल र पैसा धामीले लैजान्छन्। गणेशले अहिलेसम्म लिएका छैनन्। उनी भन्छन् –‘त्यो भनेको देवता बेच्नु हो। घुष खानु हो।’ उनका कुरा सुनेर म एकछिन टोलाउछु। यता देशमा घुष खान पल्केका घुष्याहाहरुको जमात बढिरहेकै छ। देश खोक्रो बनाइरहेका महारथीहरु एकातिर छन्। समाजले उपलब्ध गराउँदै आएको, धामी झाक्रीको अधिकारको रुपमा ठानिएको चामलको माना र भेटी नलिने बरु भोकै रात बिताइ दिने गणेशहरु अर्कातिर छन्। विगतदेखि वर्तमानसम्मको गरिवगुरुवा र साहाराबिहिनहरुको रोग, भोक, असमानता र छुवाछुतको कथा उस्तै छ। तर पनि भन्नु परेको छ देशमा गणतन्त्र छ।